• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट ★   सहकारीसम्बन्धी संसदीय समितिको बैठक शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने ★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ ★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल ★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’ ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने ★   नेता/कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ: सचिव श्रेष्ठ

एशियाली खेलकुद महाकुम्भ चीनको हाङ्चाओमा आजदेखि



काठमाडौँ । चीनका हाङ्चाओ सहरमा आज शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदैछ ।

समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । एशियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चीनफिङले गर्नेछन् ।

खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुनेछन् । प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरियालगायत कयौँ मुलुकका राष्ट्रपति र सरकार प्रमुख र नेताहरू हाङ्चाओ सहर पुगिसकेका छन् ।

प्रतियोगितामा एशियाली मुलुकका कीर्तिमानधारी खेलाडीको ठूलो सङ्ख्यामा सहभागिता हुनेछ । भविष्यमा हृदयदेखि हृदयसम्म (हर्ट टु हर्ट एट फ्युचर)मूल नारा रहेको उक्त प्रतियोगिताका लागि हाङ्चाओ सहर हरेक तयारीका हिसाबले चुस्त, व्यवस्थित, सुन्दर, मनमोहक र झकिझकाउ तुल्याइएको छ । हाङ्चाओ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट शोसमेतको व्यवस्थापन गरिएको छ ।

एशियाली मुलुकका लागि प्रतियोगिता एक आकर्षक र प्रतिष्ठाको विषय बनेको छ । प्रतियोगिता हाङ्चाओका साथै नजिकका छिमेकी सहरमा समेत आयोजना हुनेछ । विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ जना पुरुष गरी दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोइमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र ई–स्पोर्टस्मा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

करातेमा आठ, गल्फमा छ, कुस्तीमा चार, ह्यान्डबलमा १६, जुडोमा आठ, कपर्दीमा १२, रग्बीमा १२, सुटिङमा दुई, स्क्वासमा छ, पौडीमा चार, फेन्सिङमा छ, टेबल टेनिसमा छ, टेनिसमा छ, ट्रायथलनमा चार, भलिबलमा २४, भारत्तोलनमा पाँच तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।

एसियाडमा ठूलो सङ्ख्यामा नेपाली खेलाडी सहभागीता हुन लागेको पहिलो घटना हो । नेपालले कराँते र तेक्वान्दालगायत मार्सल आर्ट खेल विधामा विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दैआएको छ ।

प्रतियोगीतामा मुलुकका तीन सुरक्षा निकायका विभागीय टोलीबाट एक सय ६२ जना खेलाडी सहभागिता रहनेछ । नेपाली सेनाका ६३, सशस्त्र प्रहरी बलका ५३ र नेपाल प्रहरीका ४६ खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगीतामा भाग लिन केही खेलाडी प्रतियोगिता स्थल पुगिसकेका छन् भने केही जाने क्रममा छन् । क्रिकेट होस् वा अरु कुनै पनि खेल विधामा पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । एसियाडमा पदक लक्षित गरी नेपालले डेढ महिनादेखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो ।

खेलकुद मात्र एउटा यस्तो विधा हो, शक्तिशाली राष्ट्रका अत्याधुनिक सुविधा सम्पन्न रङ्गशालामा आफनो देशको झण्डा फहर्‍याउने र राष्ट्रिय धुन घन्काउने अवसर प्रदान गर्छ । खेल कुटनीतिमार्फत आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा हुने भएकाले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार बनेको छ ।