काठमाडौं । साढे आठ महिनासम्म कामु प्रधानन्यायाधीशको जिम्मेवारीपछि असार १ गतेबाट प्रधानन्यायाधीश बन्नुभएका हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा रिक्त ६ न्यायाधीश नियुक्तिका लागि परामर्श सुरु गर्नुभएको छ ।
यसअघि नै रिक्त भएका ५ र न्यायाधीश टंक मोक्तान उमेर हदले सेवानिवृत्त हुनुभएका कारण ६ ओटा सिटमा नियुक्तिका लागि प्रधानन्यायाधीश कार्कीले पहल गर्नुभएको हो ।
छोटो समयका लागि प्रधानन्यायाधीश बन्नुभएका कार्कीले आफ्नो कार्यकाल भित्र नै न्यायपरिषद्बाट न्यायाधीश नियुक्तिका लागि सक्रियता देखाएसँगै न्यायाधीश बन्न खोज्नेहरुको पनि सक्रियता बढेको छ ।
यसअघि राजनीतिक पृष्ठभूमिबाट न्यायाधीश नियुक्ति भयो भन्दै चर्को विरोध भए पनि यस पटक पनि पुन उही अवस्था आउने सर्वोच्च अदालतका एक न्यायाधीशले जानकारी दिनुभयो ।
यस पटक ६ सिट मध्ये चार ओटा कानून व्यवसायी बाट र दुई ओटा उच्च अदालतबाट न्यायाधीश नियुक्ति गर्ने चर्चा सुरु भएको उहाँले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका तर्फबाट वर्तमान बार अध्यक्ष गोपालकृष्ण घिमिरे, बारका पूर्व महासचिवद्वय सुनिल पोखरेल , विजयप्रसाद मिश्र ,पूर्व महान्यायाधीवक्ता खम्बबहादुर खाती र नेकपा (एमाले) बाट पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, नेकपा (माओवादी केन्द्र) बाट महान्यायाधिवक्ता दीनमणि पोखरेल र उच्च अदालतबाट दुई न्यायाधीशका लागि सिफारिस हुने आकलन गरिएको छ ।
यसैगरी उच्च अदालतमा पनि हाल ४२ जना न्यायाधीश रिक्त रहेको छ । प्रधानन्याधीश कार्कीले सर्वोच्च र उच्च अदालतका रिक्त न्यायाधीश नियुक्तिका लागि बैठक बोलाउन न्याय परिषद्का सचिवलाई निर्देशन दिइसक्नु भएको छ ।
परिषदमा प्रधानन्यायाधीश कार्कीसहित कानूनमन्त्री धनराज गुरुङ, वरिष्ठ अधिवक्ताहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी ‘सम्भव’ रहनुभएको छ ।