• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

आईपीएलः १४ मध्ये १० पटक टिमलाई फाइनल पुर्याएका अनुभवी कप्तान धोनी



एजेन्सी । झण्डै दुई महिना चलेको १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को आज समापन हुँदैछ । उपाधिका लागि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

लिग इतिहासमा पहिलो पटक दुवै टोली फाइनलमा भिड्दैछन् । गुजरातको यो दोस्रो सिजन मात्र हो, गत वर्ष टोली च्याम्पियन बनेको थियो तर चेन्नई भने समूह चरणबाटै बाहिरिएको थियो ।

चेन्नई सुपर किंग्सका लागि सबैभन्दा ठूलो एक्स–फ्याक्टर कप्तान महेन्द्र सिंह धोनी आफै हुन् । उनीसँग जति अनुभव छ, दुवै टोलीका कुनै खेलाडीसँग त्यति अनुभव छैन । धोनी २००८ देखि आईपीएल खेल्दै आएका छन् र आफ्नो टोलीलाई १४ मध्ये १० सिजनको फाइनलमा पुर्‍याएका छन् । चेन्नईलाई सन् २०१६ र २०१७ मा प्रतिबन्ध लगाइएको थियो । धोनीसँग १० वटा आईपीएल फाइनल खेलेको अनुभव छ । आफ्ना खेलाडीहरूलाई कसरी प्रदर्शन गर्ने भन्नेमा उनी माहिर छन् । यी १० फाइनलमध्ये चेन्नईको टोली चार पटक च्याम्पियन बनेको छ ।

धोनीको टोली यसअघि पछिल्लो पाँच सिजन (२०१८ देखि २०२२ सम्म) तीन पटक फाइनलमा पुगेको छ र दुई पटक च्याम्पियन बनेको छ । २०१८ र २०२१ मा चेन्नईले धोनीको नेतृत्वमा उपाधि कब्जा गर्यो । जारी सिजनमै चेन्नईले क्वालिफायर–१ मा गुजरातलाई हराएको थियो । यस्तो अवस्थामा टोली र खेलाडीको मनोबल उच्च हुनु स्वभाविक हो  । चेन्नई फेरि एकपटक गुजरातलाई उसको घरेलु मैदानमा र हजारौं दर्शकको अगाडि विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियममा हराएर पाँचौं पटक च्याम्पियन बन्न चाहन्छ ।

आईपीएलमा प्लेअफ ढाँचा २०११ मा पेश गरिएको थियो । यसअघि शीर्ष चार टोलीबीच सेमिफाइनल खेलहरू भएका थिए । प्लेअफ ढाँचापछि, चेन्नई टोलीले तीन पटक उपाधि जित्यो । संयोगवश, उ हरेक पटक अंक तालिकामा दोस्रो स्थानमा रह्यो । यस्तो अवस्थामा यसपटक पनि चेन्नईले यो अनौठो कीर्तिमान कायम राख्न चाहन्छ भन्ने आशा फ्यानहरुले गरेका छन् ।

चेन्नई टोली क्वालिफायर–१ जितेर फाइनलमा पुग्दा एउटा मात्र फाइनलमा हार बेहोरेको छ । सन् २०१३ मा चेन्नई र मुम्बईबीच क्वालिफायर–१ खेलिएको थियो, जसमा चेन्नईले जितेको थियो । तर फाइनलमा मुम्बईले चेन्नईलाई हराएर उपाधि कब्जा गर्यो । यसबाहेक चेन्नई २०११, २०१८ र २०२१ मा क्वालिफायर–१ जितेर फाइनलमा पुगेको थियो र च्याम्पियन बनेको थियो । यसपटक पनि चेन्नईको टोलीले पाँचौं पटक उपाधि जित्नेमा फ्यानहरू आशावादी छन् ।