१५ भाद्र २०८३, सोमबार
,
Latest
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ता भएका व्यक्तिको संख्या अझै यकिन हुन नसकेको जनाएको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले सोमबार बिहान ९ बजेसम्म विभिन्न आधिकारिक निकायबाट प्राप्त विवरणलाई एकीकृत गर्दा ४ हजार २०२ जना बेपत्ता रहेको तथ्यांक प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार खोज तथा उद्धार कार्य जारी रहेकाले बेपत्ताको संख्या घटबढ हुन सक्नेछ।

बेपत्ताको विवरण स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत् आयोजनाबाट संकलन भइरहेको महतले बताउनुभयो।

उहाँले बेपत्ताको संख्या यकिन गर्न कठिन भइरहेको बताउँदै भन्नुभयो, “मिसिङको संख्या अझै हामीलाई एक्ज्याक्ट थाहा छैन। आधिकारिक निकायबाट प्राप्त भएका तथ्यांकलाई एकीकृत गरेर अहिले ४ हजार २०२ पुगेको हो। खोजी भइरहेकाले यो संख्या घट्ने वा बढ्ने क्रम जारी रहन्छ।”

प्राधिकरणका अनुसार विभिन्न जलविद्युत् आयोजना तथा सुरुङबाट मात्रै हालसम्म २८९ जनाको उद्धार गरिएको छ। आइतबार चिनियाँ १५ र भारतीय ७ गरी थप २२ जनाको जलविद्युत् आयोजना क्षेत्रबाट उद्धार गरिएको थियो। सोमबार पनि विभिन्न क्षेत्रमा खोज तथा उद्धार जारी रहेको महतले जानकारी दिनुभयो।

यस्तै, रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको शव फेला परेको र १० हजारभन्दा बढीको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। बाढीबाट घाइते भएका २६७ जना उपचारपछि घर फर्किएका छन्। सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्राधिकरणका अनुसार बाढीबाट अवरुद्ध सडक तथा सञ्चार सेवा अधिकांश क्षेत्रमा पुनः सञ्चालनमा आएका छन्। वैकल्पिक मार्ग पहिचान गरी सडक आवागमन सहज बनाइएको महतले बताउनुभयो।

बाढीका कारण १० हजारभन्दा बढी पुलमा क्षति पुगेको जनाउँदै उहाँले आवागमन सहज बनाउन नेपाल सरकार र नेपाली सेनासँग उपलब्ध बेलीब्रिज प्रयोग गर्ने तथा चीन र भारतबाट थप बेलीब्रिज ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

क्षतिग्रस्त नेपाल टेलिकम र एनसेलका अधिकांश टावरसमेत पुनः सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ। भविष्यमा पुनः बाढी आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै गल्छी र रसुवाको टिमुरेमा हाइड्रोलोजिकल स्टेसन स्थापना गरिएको छ। ती स्टेसनबाट बाढीको वास्तविक समयको तथ्यांक प्राप्त गर्न सकिने र थप स्थानमा समेत यस्ता स्टेसन जडान गर्ने तयारी भइरहेको महतले बताउनुभयो।

विपद् व्यवस्थापनका लागि प्राधिकरणले करिब १४ वटा छुट्टाछुट्टै कार्यदल गठन गरी परिचालन गरेको छ। उद्धार, राहत, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वयका लागि छुट्टाछुट्टै कार्यदल बनाएर बिहीबारदेखि नै काम अघि बढाइएको महतले जानकारी दिनुभयो।

विशेषज्ञसहितको शव व्यवस्थापन टोली विभिन्न क्षेत्रमा परिचालन गरिएको र शव व्यवस्थापनसँगै संक्रमणको जोखिम न्यूनीकरणका विषयमा समेत काम भइरहेको उहाँले बताउनुभयो।
— न्युज एजेन्सी नेपाल