काठमाडौँ । मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाले आगामी आर्थिक वर्षको बजेटमा आफूहरुलाई पुन:स्थापना गर्नका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।
आईतवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाको प्रतिनिधि टोलीले आगामी आर्थिक वर्षको बजेटमा पुन:स्थापनाका लागि बजेट विनियोजन गर्न माग गरेको हो ।
सरकारले पटक पटक गरेर कमैया, कमलरी, हलिया र हरवाचरवालाई मुक्तिको घोषणा गरेको तर हालसम्म सरकारको नीति तथा कार्यक्रममा पुन:स्थापनाको कार्यक्रम नराखेको भन्दै यसपटकको बजेटमा पुन:स्थापनाको कार्यक्रम राख्न माग गरिएको मुक्त कमैया विकास मञ्च कैलालीका कार्यक्रम संयोजक इन्द्रजित चौधरीले बताउनु भयो । उहाँले आगामी बजेट हरवाचरवाको पक्षमा आउनुपर्ने माग गरिएको उल्लेख गर्नुभयो ।
ज्ञापन पत्रमा मुक्त कमैया, कमलरी, हलिया, हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिले गरेका सिफारिसहरुलाई कार्यान्वयमा ल्याउन माग गरिएको छ । त्यस्तै पुनस्र्थापना सम्बन्धी कार्यविधि पारित गर्न, हरवाचरवाको लगत संकलन गर्न र हरवाचरवा मिटरब्याजको समेत समस्यामा परेका कारण सो समस्याको पनि समाधान गर्न माग गरिएको छ । त्यसैगरी मुक्त कमैयाहरु हाल जुन भूमिमा छन् सोही जमिन नापी गरी लालपूर्जा दिनुपर्ने, कमैयाले प्राप्त गरेको जग्गा बैंकमा राखी ऋण लिन पाउने नीतिगत व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न मागहरु राखिएको छ ।