१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेतमा पानी पुगेपछि किसान खुसी



सन्दर्भ तस्बिर
अ+ अ-

जनकपुरधाम। खेतमा पानी पुगेपछि सप्तरीका किसान खुसी भएका छन् ।

लामो समयदेखि आकाशेपानीको भरमा खेती गर्दै आएका किसानले यस वर्ष खेतीको मुख्य समयमा नहरमार्फत खेतसम्म पानी पुगेपछि खुसी भएका हुन् । बाली हुर्किने समयमा खेतमा पानी पुगेपछि जिल्लाका किसानले कृषि कार्य गर्न सहज भएको बताएका छन् ।

“समयमा वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुने तथा रोपिसकेको धानमा सिँचाइको समस्या हुने अवस्था थियो”, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका किसान अशोक यादवले भन्नुभयो, “तर नहरमा पानी आएपछि राहत भएको छ ।” कोशी पम्प चन्द्र नहर सिँचाइ कार्यालय, राजविराजअन्तर्गत चन्द्र नहर सिँचाइ प्रणाली, कोशी पम्प नहर सिँचाइ प्रणाली र वितरण नहर सिँचाइ प्रणाली गरी तीनवटा सिँचाइ प्रणाली सञ्चालनमा छन् । यी तीनवटै प्रणालीमार्फत सप्तरीका विभिन्न क्षेत्रमा कृषि प्रयोजनका लागि सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।

कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार चन्द्र नहर सिँचाइ प्रणालीमा गत असार १० गतेदेखि पानी छाडिएको छ । त्यस्तै कोशी पम्प नहर सिँचाइ प्रणाली र वितरण नहर सिँचाइ प्रणालीबाट साउन २१ गतेदेखि किसानका खेतसम्म पानी पु¥याउन थालिएको हो ।

“खेतीको मुख्य समयमा नहरमा पानी सञ्चालन भएपछि किसानलाई सहज भएको छ । तीनवटै सिँचाइ प्रणालीबाट नियमितरूपमा पानी वितरण गर्ने प्रयास भइरहेको छ,” कार्यालय प्रमुख यादवले भन्नुभयो ।

सिँचाइको सुविधा उपलब्ध भएपछि आकाशेपानीमा निर्भर किसानलाई विशेष राहत पुगेको छ । सप्तरी कृषि उत्पादनका दृष्टिले महत्वपूर्ण जिल्ला भए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा किसानले बर्सेनि मौसममा निर्भर भएर खेती गर्नुपर्ने अवस्था रहँदै आएको छ ।

वर्षा समयमा नहुँदा धान रोपाइँ ढिला हुने, रोपाइँ गरेपछि पानीको अभाव हुने र उत्पादनमा असर पर्ने समस्या किसानले भोग्दै आएका छन् । यस वर्ष नहर प्रणालीबाट समयमै पानी उपलब्ध भएपछि त्यस्तो समस्या केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । किसानका अनुसार धान रोपाइँका लागि आवश्यक समयमा खेतमा पानी उपलब्ध हुँदा खेती गर्न सहज हुनुका साथै उत्पादनसमेत बढ्ने सम्भावना हुन्छ ।
नहरको नियमित मर्मतसम्भार तथा संरचना निर्माणलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ । नहर जीर्ण हुँदा पानी चुहावट हुने, खेतसम्म पर्याप्त पानी नपुग्ने तथा ठाउँ–ठाउँमा नहर अवरुद्ध हुने समस्या आउने भएकाले संरचनाको सुधार गरिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्ष २०८२÷८३ मा नहर प्रणालीको मर्मतसम्भार तथा सुधारअन्तर्गत एक हजार ४६५ मिटर पक्की नहर निर्माण गरिएको छ । यसबाट नहरको संरचना थप व्यवस्थित हुनुका साथै पानी प्रवाहमा सहजता आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै नहर प्रणालीअन्तर्गत १२ वटा भिआरबी (पुल) निर्माण गरिएकोले किसान तथा स्थानीयबासीको आवतजावतसँगै नहरबाट पानीको नियमित प्रवाह कायम गर्न सहयोग पुगेको छ ।

यसैगरी नहरको निरीक्षण, मर्मतसम्भार तथा सिँचाइ संरचनासम्म आवश्यक सामग्री पु¥याउन एक हजार ८५० मिटर सर्भिस रोड ग्राभेलिङ गरिएको छ ।

गत आर्थिक वर्षमा दुईवटा ल्यान्डी साइफन निर्माण गर्नुका साथै नौ किलोमिटर नहर सरसफाइको कामसमेत सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।
नहरमा जमेको माटो, बालुवा तथा अन्य अवरोध हटाउँदा पानीको प्रवाह सहज हुने भएकाले नियमित सरसफाइ गरिएको प्रमुख यादवले बताउनुभयो ।

कोशी पम्प चन्द्र नहर सिँचाइ कार्यालय अन्तर्गतका तीनवटै सिँचाइ प्रणालीबाट सप्तरीमा ३४ हजार ९८० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । रासस