काठमाडौं । सोमबार नेप्से परिसूचक १ दशमलव ४३ प्रतिशत बढेर ३ हजार २५ दशमलव ८३ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनभन्दा यो दिन ४२ दशमलव ७२ अंकले नेप्से परिसूचक बढेको हो ।
यस दिन ३ हजार ९ दशमलव ४६ विन्दुदेखि खुलेको बजार ३ हजार ५१ विन्दुसम्म पुगेको थियो । नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा घटेको छ । सोमबार रू. १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार बराबरको ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर कारोबार भएको छ ।
सोमबार सर्वाधिक रकमको कारोबारको हिस्सा अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले ओगटेको छ । उक्त कम्पनीको रू. ६२ करोड ५९ लाख ९३ हजार बराबरको शेयर कारोबार भएको हो ।
सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य भने यो दिन ४ दशमलव ७० प्रतिशत घटेर रू. ५४७ कायम भएको छ । अघिल्लो कारोबार दिनको भन्दा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २७ ले घटेको हो ।
यस दिन एक दर्जन कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेर कारोबार भएको छ । नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन १० प्रतिशतले बढेको छ ।
त्यस्तै ङदी ग्रुप पावरको ९ दशमलव ९८ प्रतिशत, ओरियण्टल होटलको ९ दशमलव ९६ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९ दशमलव ९६ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ९ दशमलव ९५ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव ८५ प्रतिशतले बढेको छ ।
यसैगरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमण्ट एण्ड डेभलपमेण्ट कम्पनीको ९ दशमलव ८१ प्रतिशत, सोल्टी होटलको ९ दशमलव ७७ प्रतिशत र हिमालयन डिष्टिलरीको ९ दशमलव ७० प्रतिशत मूल्य बढेको छ ।
दोहोरो उच्च अंकले बढेको दिन सोमबार सबैभन्दा बढी शेयरमूल्य माउण्टेन हाइड्रो नेपालको घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले घटेर अन्तिम मूल्य रू. ३९८ मा झरेको छ ।