२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा



अ+ अ-

त्रिशूली । नुवाकोटको ऐतिहासिक ‘भैरवी वर्षबन्धन–२०७९’ को सिन्दूरे जात्राअन्तर्गत अहिले देवीघाटस्थित जालपादेवी मन्दिरमा जात्रा लागिरहेको छ । आज दिउँसो १ बजे देवीघाटस्थित जालपादेवी मन्दिर पुग्नुभएका हरिमानसिंह डङ्गोलले भोग बलि खाएर आगामी वर्ष राष्ट्रमा के हुन्छ भन्ने विषयमा गोप्य रुपमा भविष्यवाणी गर्नुभयो ।

नुवाकोट दरबार मौला अमालका द्वारे (सरकारका प्रतिनिधि) महेन्द्रकुमार शाहीका अनुसार आज बिहान दोस्रो चरणको भोग खाएपछि बिहान ५ बजे भगवान्सँगको प्रत्यक्ष साक्षत्कारका रुपमा दैवी शक्ति स्वरुपाका धामीले सो भविष्यवाणी गर्नुभएको हो ।

“भोग बलि खाइसकेपछि आगामी वर्ष (विसं २०८० मा) मुलुकमा के हुन्छ भनेर गोप्य रुपमा भविष्यवाणी गर्नुभएको र त्यसलाई गोप्य रुपमा नै राष्ट्राध्यक्ष (राष्ट्रपति) समक्ष पठाइनेछ”, द्वारे शाहीले भन्नुभयो, “धामीले भविष्यवाणी बोलेर गर्ने भएकाले त्यसलाई शब्दमा उतारेर रष्ट्रिपतिसमक्ष पठाउने गरिएको छ । शुभ रहेमा हर्षोल्लास गरिनेछ भने अशुभ सङ्केत देखिएमा राष्ट्रप्रमुखका तर्फबाट राष्ट्रपतिले क्षमापूजा गर्न लगाउनुहुनेछ ।”

चैतशुक्ल पूर्णिमाका दिन शुभसाइत बनाई गुभाजुमार्फत विशेष अनुष्ठान र तान्त्रिक विधिबाट भगवान्मा चढाइएको धामीलाई जीवित भगवान् (भैरवी देवीको प्रतीक) का रुपमा लिने गरिन्छ । बिहीबार साँझ भैरवीदेवी मन्दिरबाट देवीघाटस्थित जालपादेवी मन्दिरतर्फ प्रस्थान गरेका धामी–धमिनीसहितको लवालस्कर नुवाकोटबाट बट्टारबजार, पुरानोपाटी, इनारपाटी, बाणाचौतारो, तल्लो पीपलटार हुँदै देवीघाट पुगेको हो ।

परम्परादेखि नै भैरवीदेवीको रथयात्रा गराउँदै आएका लच्याङ्गी गुठियारहरुले बिहीबार साँझ भैरवीदेवीको रथयात्रा भैरवीदेवी मन्दिरबाट देवीघाटस्थित जालपादेवी मन्दिर परिसर पुर्‍याएका थिए । अहिले देवीघाटमा रहेका धामीधमिनीसहितको भैरवीको रथयात्रा शनिबार अपराह्न नुवाकोट मण्डलातर्फ पुर्‍याइनेछ ।

धार्मिक विधिअनुसार गुठीको जग्गामै बनाइएको पदमार्गमा धामीले यात्रा गर्ने गरिए पनि उहाँको ढल्कँदै गएको उमेर ९हाल ८५ वर्ष० र स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै केही स्थानमा सवारीसाधनमार्फत यात्रा गराइएको छ । जात्रालुहरुले धामीले जालपादेवी मन्दिर पुग्नुअघि एक किमी अगावै पृथ्वी स्मारक उद्यान नजिकै त्रिशूली नदीमा स्थान गरेसँगै उहाँ हिँड्ने बाटोमा शुद्ध र सफा सेतो कपडा ओछ्याएर जालपादेवी र भैरवीदेवी माताको जय–जयकार गर्दै जालपादेवी मन्दिरसम्म पुर्‍याएका थिए ।

जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसहित राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा जबरजङ्गगण देवीघाटका नेपाली सैनिकहरुले निशान झण्डा र भैरवी सलामीको बढाई दिँदै लावालस्करसहित भैरवीदेवी मन्दिर परिसरमा पुगेपछि द्वारेबाट सिन्दूर हालेसँगै यो वर्षको सिन्दूरे जात्रा समापन हुनेछ ।

गत फागुपूर्णिमाको दिनदेखि सुरु भएको यो वर्षको भैरवी वर्ष बन्धनअन्तर्गत यही चैत २२ गते साँझ बूढीदेवता स्थान परिसर र भैरवीदेवी मन्दिर परिसरमा लिङ्गो ठडाएसँगै यहाँको वातावरण उल्लासमय भएको थियो । यो उल्लास चैत २५ गते सिन्दूर खेल्ने समयसम्म कायम रहन्छ । भैरवी वर्षबन्धन–२०७९ को धार्मिक विधि भने आगामी वैशाख ३ गतेसम्म कायम रहने द्वारे शाहीले जानकारी दिनुभयो । “सरकारी जात्राका रुपमा रहेको सिन्दूरे जात्रा कहिलेदेखि सुरु भएको भन्ने यकिन मिति पाइन्नँ”, उहाँले भन्नुभयो, “विसं १८०१ मा नुवाकोटमाथि पृथ्वीनारायण शाहले विजय गरेपश्चात् भैरवीदेवी मन्दिर परिसरमा साततले दरबार निर्माण गरेर जात्रालाई विशेष रुपमा मनाउने व्यवस्था मिलाइएको देखिन्छ ।”

सिन्दूरे जात्राको विशेष रौनक लिङ्गो उठाउने, भैरवीदेवी मन्दिरको रथयात्रा, जीवित भगवान्का रुपमा रहेका धामीको जालपादेवी मन्दिर प्रस्थान, जालपादेवी मन्दिरमा भोग बलि, राष्ट्रमा के हुन्छ भनेर उहाँले गर्ने भविष्यवाणी, जालपादेवी मन्दिरबाट फर्केपछि जिल्लाभरका सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा खेलिने सिन्दूर मुख्य अकर्षण र महत्वका रुपमा रहन्छ । रासस