काठमाडौं । नेकपा एमालेका नेता भीमबहादुर रावल बालुवाटार पुगेका छन् । नेता रावल आइतबार साँझ प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटका लागि आग्रह गरेका थिए । स्रोतका अनुसार पार्टीभित्रको विवाद समाधानबारे वार्ता गर्न प्रधानमन्त्री ओलीले माधवकुमार नेपालका विश्वासपात्र रावललाई बोलाएका हुन् ।
एमाले केन्द्रीय कमिटीको बैठकले विपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा समावेश नेपाल समूहका २३ सांसदको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको समय दिएको छ ।
पार्टीले दिएको अल्टिमेटम सकिनु एकदिन बाँकी छँदा रावललाई वार्ताका लागि बोलाइएको हो । यसअघि शनिबार नेपाल समूहले सर्वोच्चमा बुझाइएको हस्ताक्षर फिर्ता नहुने बताइसकेको छ ।
नेपाल समूहका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताले प्रधानमन्त्री ओलीलाई नेता रावलसँग कुरा गर्न सुझाएको स्रोतको दाबी छ ।











