२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२०ः डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा प्रवेश, फाइनलमा इटालीसंग सामना हुँदै



अ+ अ-

लन्डन । युरो–२०२० को फाइनलमा इंग्ल्यान्ड पुगेको छ । बुधबार राति लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको सेमिफाइनलमा डेनमार्कलाई २–१ ले हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको हो । खेल १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेलको ३०औं मिनेटमा डेनमार्कका लागि मिकेल ड्याम्स्गार्डले गोल गर्दै अग्रता लिएको थियो । तर त्यसको ९ मिनेटमै इंग्लिस खेलाडी बुकायो साकाको क्रसलाई रोक्ने क्रममा डेनमार्कका सिमोन जायरले आत्मघाती गोल गर्न पुगेका थिए ।

खेलको १०३औं मिनेटमा डेनमार्कका योकिम मिहलले रहिम स्टर्लिङलाई डिबक्स एरियामा फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो । इंग्लिस कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा पुर्‍याउन सफल भए ।

पहिलो प्रहार डेनिस गोलरक्षक कास्पर्स माइकलले रोके पनि रिबाउन्ड भएर आएको बललाई केनले गोलमा परिणत गरेका थिए । इंग्ल्यान्डले अब फाइनलमा इटालीको सामना गर्नेछ । फाइनल खेल पनि आइतबार राति १२ः४५ बजे वेम्ब्ली रंगशालामा हुनेछ ।