११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

मालीबाट मालिक बनेकी ‘सनसरी’

मालीबाट मालिक बनेकी ‘सनसरी’
अ अ+ अ-

वालिङ । विसं २०५३ मा दुई मानो आटो (मकैको पिठो) सहित चार छोराछोरी च्यापेर विकट गाउँबाट वालिङ झर्नुभयो सनसरी सार्की । श्रीमान्को उपचारमा कालीकाकोटमा भएभरको सम्पत्ति पनि सकियो र श्रीमान्को आयु पनि । बस्ने, खाने ठेगान छैन तर गाउँमा बस्नभन्दा बजारतिर झरे केही न केही काम पाइन्छ भन्ने आशासहित बजार आउनुभयो ।

बजार आउँदा बेलुकीको छाक पुग्ने आटो मात्रै साथमा थियो । छोराछोरी ससाना, कहाँ बस्ने के खाने चिन्तै चिन्ताका बीच वालिङ झरिसकेपछि कोठा खोजेर भाडामा बस्न थाल्नुभयो । दुःख परेकाबेला काम दिने मान्छे पनि भगवान् जस्तै लाग्यो । “नयाँ ठाउँमा काममा नपत्याइदिएको भए झन् के हालत हुन्थ्यो होला धन्न बालुवा बोक्ने, गिटी बोक्ने काममा पत्याइदिनुभयो त्यही काम गर्न थालेँ”, उहाँले भन्नुभयो, “दुई वर्षजति ज्यालामा यस्तै यस्तै मजदूरी गरेँ र बालबच्चा पाल्दै आएँ ।”

खाने मुख धेरै तर काम गर्ने आफू एक्लै भएकाले पनि सुरुको दैनिकी निकै जटिल भएको उहाँ सम्झनुहुन्छ । ज्याला मजदूरी गर्दै दैनिकी चलाउँदै आउनुभएकी सनसरी २०५५ सालतिर वालिङ नगरपालिकाको सरसफाइ कर्मचारीका रुपमा काम गर्न थाल्नुभयो । सरसफाइमा काम गर्दा गर्दै नगरपालिका परिसरमा सौन्दर्यकरणमा ध्यान दिँदै फूलबारी निर्माण गरियो र यसको रेखदेख र फूलहरुको व्यवस्थापन गर्ने थप जिम्मेवारी उनै सनसरीलाई दिइयो ।

कतै बाटोमा हिँड्दा राम्रो फूल, नयाँ प्रजातिको फूल देख्नासाथै त्यसकाबारेमा जिज्ञासु भई बुझ्नुहुन्थ्यो । नगरपालिकामा मालीको जिम्मेवारी थपिएपछि भने झन ऊर्जा मिल्यो र जिज्ञासा झनै बढ्दै गएको सम्झनुहुन्छ उहाँ । “बाटो हिँड्नेक्रममा कहीँकतै नयाँ तथा नौलो प्रजातिका फूल देखेँ भने त्यसको बीउ, बेर्ना वा हाँगा सङ्कलन गर्थें”, उहाँले भन्नुभयो, “सुरुका दुई वर्ष त म नगरपालिका कार्यालयमा जाँदा एउटा न एउटा बीउ, बेर्ना, हाँगा नलिइ जान्थिन् ।”

मालीका रुपमा काम गर्न थाल्नुभएकी सनसरीलाई आफ्नो मात्रै बुझाइ र रहरले नभई अझै यसलाई राम्रो र व्यवस्थित गर्छु भन्ने हुटहुटी चल्यो । फलस्वरुप उहाँले तत्कालीन कार्यकारी अधिकृत सुरथ पोख्रेललाई फूलबारी व्यवस्थापनसम्बन्धी तालिमका लागि सिफारिस गरिदिन अनुरोध गर्नुभयो र काठमाडौँमा एकहप्ते तालिमसमेत प्राप्त गर्नुभयो ।

नर्सरी व्यवस्थापन, गोडमेल, कटानी छटानी, फूलबारीको व्यवस्थापनसम्बन्धी तालिम लिनुभयो । त्यहाँ सिकेको सीपलाई वालिङ आएसँगै दैनिक जीवनमा प्रयोगमा ल्याउनुभयो । “पहिला आफ्नै सुरमा बीउ रोप्ने, बेर्ना लगाउने काम गर्थें”, उहाँले भन्नुभयो, “तालिमपछि कुन फूलको बीउ कुन नर्सरी गर्ने, कुन याममा लगाउने, कुनको हाँगा, कुनको बीउ लगाउने भन्ने अहिले फूल हेरेरै थाहा हुने गरेको छ ।” सरसफाइमा झण्डै १५ वर्षजति काम गर्नुभएकी सनसरीले आठ÷नौ वर्षदेखि सरसफाइसँगै मालीका रुपमा फूलबारीको स्याहारसुसार गर्नुहुन्छ ।

वालिङ नगरपालिकाको प्रशासकीय भवन परिसरमा प्रवेश गर्नासाथै झट्ट देखिने रङ्गीविरङ्गी फूलबारीको सौन्दर्यकरणमा उहाँको विशेष लनशीलता र परिश्रम छ । बिहानको समयमा बिरुवा रोप्ने, सार्ने र दिउँसोको समयमा सिँचाइ गर्नुहुन्छ । नगरपालिकामा आफ्नो दैनिक जिम्मेवारी पूरा गरेसँगै बाँकी रहेको समयलाई उहाँले वालिङकै एक सहकारीले निर्माण गरेको नर्सरीमा लगाउनुभयो ।

नगरपालिका कार्यालय, सहकारीको नर्सरी व्यवस्थापनबाट घरखर्च चलाएर बचत गरेको रकमबाट उहाँले वालिङ बजारमै रु २० लाख मूल्यमा चार आना घडेरी खरिद गर्नुभयो । अहिले उहाँको तीनकोठे पक्की घर छ । उहाँकै प्रेरणाबाट कान्छा छोराले अहिले आफ्नै बिरुवा नर्सरीमा काम गर्दै आएका छन् । आफ्नो घर नजिकै जग्गा भाडामा लिएर ‘वालिङ नर्सरी उद्योग’ सञ्चालन गर्नुभएको हो । करिब ४० प्रजातिका मौसमी तथा बेमौसमी फूलहरु उहाँको नर्सरीमा पाइन्छ । विभिन्न प्रजातिका मौसमी तथा बेमौसमी फूल, बिरुवा नर्सरी, गमला, कलमीका फूल, विवाह ब्रतबन्धलगायतका कार्यका लागि फूलको मालाहरु उपलब्ध गराउँदै आउनुभएको छ ।

वालिङमा हुने विवाह, ब्रतबन्ध तथा अन्य कार्यमा आवश्यकपर्ने फूल काठमाडौँ, पोखरा, बुटवललगायतका ठाउँबाट आउने गरेको उहाँले बताउनुभयो । “फूलसम्बन्धी सबै सेवा, बिरुवा आफ्नै ठाउँमा पाउनुभयो भने पक्कै पनि ग्राहक अन्यत्र जानुहुन्न” उहाँले भन्नुभयो, “त्यसका लागि अझै मौसमी तथा बेमौसमी र धेरै प्रजातिका फूलहरु थप गर्ने तयारीमा छु ।” वालिङ आसपासमा फूलको माग राम्रो हुने गरेको छ । अहिले पनि आफ्नो नर्सरीमा फूलका बारेमा जान्न बुझ्न धेरै नै आउने गरेको उहाँ बताउनुहुन्छ ।

चार्डपर्वका समयमा सयपत्री, मखमलीलगायतका फूल तथा मालामो माग बढी हुने गरेको छ । यस्ता अवसरमा सनसरीले फूल तथा बिरुवा बिक्रीबाट राम्रो आम्दानी लिँदै आउनुभएको छ । दृढ सङ्कल्प र मनमा इच्छाशक्ति भए विदेशिनुपर्छ भन्ने नभएको उहाँको कर्मबाट उदाहरण प्राप्त हुन्छ । उहाँले भन्नुभयो, “कुनैबेला काम खोज्दै हिँडे अहिले आफ्नै नर्सरी स्थापना गरी अरुलाई पनि काम दिनसक्ने अवस्थातिर लम्कँदै छु ।” आफूले गरेको कर्मबाट सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ । जुन काम आत्मैदेखि सन्तुष्टि भएर गरिन्छ त्यसले सफलतामा पु¥याउने उहाँको विश्वास छ ।

नगरपालिका परिसरको सौन्दर्यकरण र हरियालीमा जोड दिंदै फलफूल तथा फूलका बिरुवा रोप्न थालिएको वालिङ नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत सुरथ पोख्रेलले बताउनुभयो । स्थानीयस्तरमा पाइने विभिन्न प्रजातिका फल लाग्ने बिरुवाहरु तथा विभिन्न प्रजातिका फूलहरुको खोजी गरी लगाउन सुरु गरेसँगै कार्यालय परिसरको सौन्दर्य नै छुट्टै खालको देखिन थालेको उहाँ अहिले पनि सम्झनुहुन्छ । “काठमाडौँ, पोखरा तथा बुटवल गएका बेला त्यहाँबाट पनि विभिन्न प्रजातिका फूलका बिरुवा ल्याइएको थियो”, उहाँले भन्नुभयो ।

तालिम लिइसकेपछि त्यसलाई व्यवहारमा उतार्ने र निरन्तरता दिएमात्रै त्यसको महत्व बढेर जान्छ । सुरुदेखि नै कामप्रति लगनशील र परिश्रमी सनसरीले फोहरमैला व्यवस्थापनसहित मालीका रुपमा जिम्मेवारीपूर्वक कार्य गर्दै आउनुभएको हो । ‘स्मार्ट सिटी’को अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाको परिसरमा पुग्ने जो कोही पनि रङ्गीविरङ्गी फूलको सौन्दर्यमा आनन्दित हुन्छन् । मौसमअनुसारका विभिन्न प्रजातिका फूलहरु बाह«ैमासे फूलिरहेका हुन्छन् ।

फूलको बीउ लगाउने, बेर्ना उमार्ने, त्यसलाई रोप्ने, खनजोत, गोडमेल, कटानी छटानी सबै काममा उहाँलाई लामो कार्यानुभव रहेको आफूले पाएको बताउनुहुन्छ वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई । “कुन फूल कुन समयमा सार्ने, गोडमेल गर्ने समय, कटानी छटानी गर्ने समय सबै उहाँलाई थाहा छ”, उहाँले भन्नुभयो, “नगरपालिका परिसरको सौन्दर्यकरण हेर्न लायक छ ।” उहाँको लगनशीलता र परिश्रमलाई मूल्याङ्कन गर्दै नगरपालिकाले यसअघि उत्कृष्ट कर्मचारीका रुपमा सम्मानसमेत गरेको थियो । रासस