१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
Bizline Nepal बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता Bizline Nepal सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले Bizline Nepal भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार Bizline Nepal कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने Bizline Nepal भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग Bizline Nepal तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला Bizline Nepal परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता Bizline Nepal स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन Bizline Nepal नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु Bizline Nepal राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता Bizline Nepal चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार Bizline Nepal बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी Bizline Nepal बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत Bizline Nepal रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल Bizline Nepal कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव Bizline Nepal परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता Bizline Nepal भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल Bizline Nepal बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील Bizline Nepal नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन Bizline Nepal गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

‘नेतालाई दिएर भोट, हिँडे युवा कमाउन नोट’

‘नेतालाई दिएर भोट, हिँडे युवा कमाउन नोट’
फाईल फोटो
अ+ अ-

काठमाडौँ । पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । सङ्खुवासभा बानाका द्रोण कोइराला (३८)ले पनि हात हल्लाउँदै बिदाइको जवाफ फर्काउनुभयो मन गरुङ्गो बनाउँदै ।

यही मङ्सिर ४ मा भएको आम निर्वाचनको सरगर्मीमा रमाउँदै आफ्नो कर्मथलोतर्फ उहाँ लाग्नु भएको हो । कोइरालासँगै खाडी मुलुक जाने अन्य युवा श्रमिकहरु पनि त्यसरी नै हात हल्लाउँदै विमानस्थलभित्र पसे । सबैका आँखा रसिला थिए, व्यथा एउटै थियो । परिवारसँगै बसेर रोजगारी गर्ने चाहना हुँदाहुँदै केही उपाय नदेखेपछि घर व्यवहार चलाउन उनीहरु विदेशी भूमिमा पसिना बगाउन हिँडेका थिए ।

श्रमिकका रुपमा मलेसियामा आठ वर्ष बिताएपछि केही महिनाअघि कोइराला नेपाल फर्कंदा मुलुकभर चुनावको माहोल गर्मराउँदै थियो । उहाँको गाउँ सङ्खुवासभाको बाना पनि राजनीतिक दलका चर्का चुनावी नाराले गुल्जार बन्दै थियो । केही समयपछि उहाँ मलेसिया फर्कने समय आयो ।

गाउँमा चुनाव पनि आयो, आफन्त, छिमेकीहरु कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने छलफलमा जुट्दै गर्दा उहाँलाई भने खल्लो अनुभव भयो । कारण उहाँ मतदाता हुनुहुन्थेन । त्यसैले भोट हाल्न पाउनु भएन । लामो समय परदेश बसेकाले उहाँले मतदाताको सूचीमा नाम लेखाउन पाउनु भएन । विदेशबाटै नाम लेखाउने व्यवस्था थिएन । “चुनावका दिन मत हाल्न नपाउँदा मन खिन्न त भयो नि”, उहाँले भन्नुभयो, “मत हाल्न नपाए पनि केही छैन, तर राम्रो उम्मेदवारले जीत हासिल गर्न सकोस् भन्ने उहाँको चाहना थियो ।”

बुधबार दिउँसो एयर अरेबियाको विमानबाट मलेसिया जाने तरखरमा कोइराला लाग्दै गर्र्दा मुलुकभर जोडतोडका साथ मतगणना चलिरहेको छ । मतपेटिकाभित्र देशभरबाट सङ्कलित मतपत्रमा उहाँ र उहाँ जस्तै कैयन युवाले दिएको मत भने परेको थिएन ।

मतको तथ्याङ्कमा उहाँहरुको हिस्सा नभए पनि बुधबार श्रमका लागि विदेशिने करिब १५ सयको सूचीमा उहाँहरुको नाम सरकारले सुरक्षित राखेको छ । किनभने सरकारले त्यही सूची हेरेर अर्को महिना रेमिट्यान्स बढ्ला कि घट्ला भन्ने प्रक्षेपण गर्नेछ र सोहीअनुसार नीति बनाउने छ ।

चुनावका दिन भोट हाल्न नपाउँदा मन खिन्न भए पनि मतगणना हुँदै गर्दा देखिएका सुरुआती नतिजाले भने उहाँलाई खुसी बनाएको छ । “पुराना नेताले केही गरेनन्, यो चुनावबाट नयाँ नेता आइदिएहुन्थ्यो भन्ने लागेको थियो, त्यस्तै हुन्छ कि भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “नयाँ नेताले यहीँ बस्ने र काम गर्ने वातावरण बनाइदिए उताभन्दा आधा तलब भए पनि आफ्नै देशमा काम गर्न पाए पुग्थ्यो ।”

कोइरालासँगै श्रम गर्न मलेसिया जाँदै गर्नुभएका जनकपुरका दिलचन मुखियालाई पनि चुनावमा मतदान गरेर खाडीमा श्रमदान गर्न जानपुर्दा निको लागेको छैन । “हामी त भोट न हाल्ने हो, नेतालाई भोट चाहिएको छ र हामीलाई नोट”, मुखियाले भन्नुभयो, “हामीसँग भएको भोट दियौँ, अब नोट कमाउन मलेसिया जाँदैछु ।” उहाँको भाइ स्वास्थ्य सहायक विषय पढ्दैछन् । मलेसियामा कमाएको केही पैसा उनको पढाइ खर्च र बाँकी परिवारलाई पठाइदिने उहाँले सुनाउनुभयो ।

पाँचथर निक्लाजुङ–६ का निलम राई पनि बुधबार विमानस्थलभित्र पस्ने श्रमिकहरुको लाइनमा भेटिनुभयो । उहाँ श्रम भिसामा दोस्रो पटक दक्षिण कोरिया जाँदै हुनुहुन्थ्यो । कोरियाको कमाइले सन्तुष्ट मिले पनि दुःख सम्झँदा थोरै तलब भए पनि देशमै बसौँ भन्ने लाग्छ उहाँलाई । “कोरियामा त दुःख कति छ भनेर कुरा नगरौँ होला, त्यही तलब चार लाखसम्म हुन्छ भनेर मात्रै चित्त बुझाउने हो”, उहाँले भन्नुभयो ।

राई चुनावपछि बन्ने नयाँ सरकारले आफू जस्ता युवाका लागि स्वदेशमै जागिर खाने नीति ल्याइदिए हुन्थ्यो भन्ने आशा राख्नुहुन्छ । “मुलुक रेमिट्यान्सले धानेको छ, रेमट्यिान्स आएन भने पेट्रोलदेखि खाद्यान्न किन्ने पैसा पनि हुन्न, यही रेमिट्यान्सले गाडीदेखि सबै किन्नु परेको छ,” राईले भन्नुभयो, “अबको सरकारले सस्तो ब्याजदरमा ऋण दिएर उद्यमशीलताका लागि काम गरे हुन्थ्यो, जागिर खाने वातावरण बनाइदिए हामी जस्ता युवा विदेशिन पर्दैनथ्यो होला ।”

राईजस्तै दोस्रो पटक कोरिया जान लाग्नुभएका बाग्लुङ भिमपोखराका विष्णुप्रसाद शर्मा ९३१०ले आफू रहरले नभई बाध्यताले विदेश जानु परेको बताउनुभयो । “गाउँमा चुनावको माहोल बढ्दै थियो, तर मङ्सिर १ मा काठमाडौँ आउनु परेकाले मतदान गर्न पाइन”, उहाँले भन्नुभयो, “मतदान गर्न पाएको भए रमाइलो हुन्थ्यो तर केही छैन कोरियामा श्रमदान गरेर भए पनि देशका लागि सहयोग पु¥याउने छु ।”

पाँचथरका राईको जस्तै सोच रामेछापका सूर्यबहादुर कार्कीको पनि छ । चार वर्ष मलेसियामा कमाएको १० लाख रुपैयाँ खर्चेर गोकर्णेश्वरमा सुरु गरेको गोलभेडा खेतीमा लगानी डुबेपछि उहाँ बुधबार फेरि मलेसिया जान लाग्नु भएको थियो । “अघिल्लो वर्ष कोरोना महामारीले केही गर्न सकिएन भने गत वर्ष समयमा बिउ पाइएन”, उहाँले भन्नुभयो, “समयमै काम हुन नसक्दा उत्पादन कम भयो, त्यही उत्पादनले पनि बजारमा राम्रो भाउ पाएन, अनि लगानी डुब्यो ।”

बुधबार एयर अरेबियाको विमानमार्फत् मलेसिया जान लागेका २७ जनाको समूहका कार्की कृषिमा राम्रो गर्न सकिने भए पनि सो अनुसारको सरकारले वातावरण बनाउन नसकेको बताउनुहुन्छ । “अर्बौं रकमको डलर खर्चेर तरकारी खानु परेको छ, त्यही पैसा कमाउन हामी विदेश हिँडेका छौँ तर स्वदेशी उत्पादनलाई प्रोत्साहन नै गरेको देखिन्न”, उहाँले भन्नुभयो, “सकेसम्म विदेश नजाऔँ यतै केही गरौँ भनेर व्यावसायिकरुपमा गोडभेंडा खेती सुरु गरेँ तर काम गर्ने उपयुक्त वातावरण नहुँदा बीचमै व्यवसाय छाडेर विदेश पलायन हुनुप¥यो ।”

परिस्थितिले खाडी जाने श्रमिकका पीडा बुझ्न खोज्ने नेताहरु नभएको कञ्चनपुरका नरेश बोहोराको बुझाइ छ । मलेसिया जान अघिल्लो दिन मात्रै काठमाडौँ आउनुभएका उहाँले भन्नुभयो, “हाम्रो कुरा राजनीति गर्नेले बुझ्दैनन्, बुझ्ने भए यसरी विदेशिनु पर्ने बाध्यता नै हुँदैन होला ।” बोहोरा चुनावलाई लिएर त्यति उत्साही पनि हुनुहुन्न । “चुनाव त आउँछ जान्छ, नेताहरु फेरिन्छन्, सरकार बनाउनेहरु फेरिन्छन्,” उहाँले भन्नुभयो, “तर हाम्रा दुःख फेरिन्नन्, विदेश जानुपर्ने अवस्था बदलिन्न ।”

चुनावपछि मतगणना चलिरहँदा राजनीतिक दलहरुबीच कसले सरकार बनाउने भन्ने गृहकार्य सुरु भइसकेको छ । तर विमानस्थलमा झोला बोकी पैसा कमाउन विदेशिने श्रमिकहरुका बारेमा कमैले ध्यान दिएको पाइन्छ । चुनावका दिन मतदान गरेर श्रमदान गर्न विदेशिने युवाहरु अबको सरकारले आफ्नाबारेमा पनि ध्यान देओस् र स्वदेशमै बस्ने वातावरण बनाइदिओस् भन्ने चाहेका छन् । रासस