१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य

पूर्वप्रधानमन्त्रीत्रयले संयुक्त शिलान्यास गरेको ‘जीपी स्मृति सभागृह’ अलपत्र

पूर्वप्रधानमन्त्रीत्रयले संयुक्त शिलान्यास गरेको ‘जीपी स्मृति सभागृह’ अलपत्र
अ अ+ अ-

झापा । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्ष अघि झापा सदरमुकाम चन्द्रगढीमा निर्माण सुरु गरिएको ‘जीपी स्मृति सभागृह’ अलपत्र छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०७२ असार २८ गते भद्रपुर–८ मा सभागृहको संयुक्त शिलान्यास गर्नुभएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सभागृह सात वर्षसम्म पनि अधुरै छ । सदरमुकामको मध्यभागमा काँसघारीले घेरेको अधुरो भवन अस्थिपञ्जरजस्तो देखिन्छ । सङ्घीयता कार्यान्वयन हुने क्रममा जिल्ला विकास समितिलाई समन्वय समितिमा रुपान्तरण गर्दा यो सभागृह परियोजना स्थानीय तह, प्रदेश र सङ्घीय सरकारमध्ये कसैलाई पनि हस्तान्तरण गरिएन । अधिकारविहीन अवस्थाको जिससले सभागृह निर्माणको ठेक्काको म्याद थपेर काम अघि बढाउन अझ सकेको छैन ।

झापा सदरमुकाम चन्द्रगढीमा सभा सम्मेलन तथा कार्यक्रमगर्न सुविधासम्पन्न एउटा पनि सभागृह नभएपछि प्रमुख राजनीतिक दलहरुको पहलमा जीपी सभागृह बनाउने निर्णय गरिएको थियो । मेची रङ्गशालाको पश्चिमी छेउमा रहेको जिल्ला समन्वय समितिको खाली जग्गामा सभागृहको निर्माण सुरु गरिएको हो । निर्माणाधीन जीपी सभागृहको लम्बाइ ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ । यसको पहिलो तलामा व्यापारिक प्रयोजनका २७ वटा सटर र दोस्रो तलामा तीन वटा बैंक अट्ने फ्ल्याट र तेस्रो तलामा एक हजार जना क्षमताको अत्याधुनिक सभाहल बनाउने योजना थियो ।

तत्कालीन झापा जिल्ला विकास समितिले सभागृह निर्माणका लागि रु १२ करोड ७२ लाख ६९ हजारमा ठेक्का लगाएको थियो । सभागृह अत्याधुनिक सुविधायुक्त र मुलुककै गौरवको परियोजना हुने शिलान्यास कार्यक्रममा बताइएको थियो । निर्माणको ठेक्का प्रेरा–शाह जेभी निर्माण कम्पनीले पाएको छ । प्रदेश नं १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगी ‘जीपी स्मृति सभागृह’ राजनीतिक पूर्वाग्रह राखेर रोकिएको आरोप लगाउनुहुन्छ ।

“सुशील कोइराला प्रधानमन्त्री हुँदा शिलान्यास भएको यो सभागृहको निर्माण कार्य चलिरहेका बेला सरकार परिवर्तन भयो”, मन्त्री सरावगी भन्नुहुन्छ, “अहिले नेपाली कांग्रेसको सरकार भएकाले अब बनाउँछौँ ।” राजनीतिक कारणले नभएर प्राविधिक र कानुनी उल्झनका कारण ‘जीपी स्मृति सभागृह’को निर्माण कार्य अलपत्र परेको नेकपा एमालेका नेता एवं झापा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख सोमनाथ पोर्तेलले दाबी गर्नुभयो । जिससका निवर्तमान प्रमुख पोर्तेलले भन्नुभयो, “राजनीतिक कारणले होइन, कानुनी र प्राविधिक उल्झनले परियोजनाको निर्माण कार्य अवरुद्ध भएको हो ।” सभागृह निर्माणको म्याद थप्ने अधिकार पाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्णय नगरिदिँदा ‘जीपी स्मृति सभागृह’को काम रोकिएको उहाँको भनाइ छ ।

पोर्तेल विसं २०७४ मा जिसस झापाको प्रमुख निर्वाचित भएर आउनुअघिनै भवन निर्माण अवरुद्ध भइसकेको थियो । निर्माण कार्यको म्याद थपिदिन वा जिससलाई इन्जिनियरको दरबन्दीसहित प्राविधिक क्षमतायुक्त बनाउन मन्त्रालयलाई पटकपटक पत्राचार गर्दा कुनै सुनुवाइ नभएको उहाँले बताउनुभयो । जिसस झापाका निमित्त स्थानीय समन्वय अधिकारी सन्तोष श्रेष्ठले म्याद नथपी निर्माणको कुनै भुक्तानी दिन कानुनीरुपमा नमिल्ने भएकाले अझै पनि काम अघि बढाउन कठिनाइ भएको बताउनुभयो । ठेक्का पाएको प्रेरा–शाह जेभी कम्पनीले विसं २०७२ असार ९ गते निर्माण सम्झौतामा हस्ताक्षर गरेको र त्यसको म्याद विसं २०७४ भदौ ३१ गते समाप्त भएको श्रेष्ठले जानकारी दिनुभयो ।

निर्माण व्यवसायीले करिब रु तीन करोड भुक्तानी पाउन बाँकी रहेको दाबी गरेपनि कति प्रतिशत काम बाँकी छ भन्ने कुनै आधार प्रमाण नभेटिएको उहाँले बताउनुभयो । “जिसससँग इन्जिनियरनै छैन, कामको कति प्रगति भयो भनेर प्राविधिक मूल्याङ्कन गर्न सकिने अवस्था रहेन”, उहाँले भन्नुभयो, “कानुनीरुपमा अव यो सभागृह जीवित छैन, जिससको नियन्त्रणमा हुने कुरै भएन ।”

निर्माणको म्याद सकिए संगै निर्माण व्यवसायी पक्ष परियोजनाबाट पछि हटेको छ । राजनीतिक सरकार परिवर्तन र कानुनी उल्झन उत्पन्न भएकै बेला निर्माण व्यवसायीले काल्पनिक प्रगति विवरण देखाएर कामभन्दा बढी रकम भुक्तानी लगेको बताइएको छ । ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ का नेतृत्वकर्ता गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको सभागृह निर्माणमा लापर्बाही भएको भनेर जनगुनासो बढ्दै गएको बेला जिल्ला समन्वय समिति झापाले कानुनी अड्चन हटाएर अधुरो भवनलाई पूर्णता दिन पहल सुरु गरिसकेको जनाएको छ ।

जिसस प्रमुख विश्व बराल सभागृहको निर्माण ठेक्काको म्याद थपी समस्याको समाधान गरिनुपर्ने माग लिएर हाल सिंहदरबार जानुभएको छ । “जे जे गर्दा समस्याको गाँठो फुकेर काम बन्छ, त्यही पहलका लागि काठमाडौँ पुगेको छु”, बरालले भन्नुभयो, “तीन जना पूर्वप्रधानमन्त्रीले शिलान्यास गर्नुभएको गौरवको परियोजना भएकाले जीपी सभागृहको निर्माण पूरा गर्न हामी प्रतिबद्ध छौँ ।” रासस