८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

जीर्ण बन्दै लमजुङ दरबार

जीर्ण बन्दै लमजुङ दरबार
अ+ अ-

लमजुङ । सोह्रौँ शताब्दीमा निर्माण भएको जिकिर गरिएकोे लमजुङ दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । बेंसीसहर नगरपालिका वडा नं ३ गाउँसहरमा रहेको उक्त दरबार संरक्षण तथा मर्मत नहुँदा दिन प्रतिदिन जीर्ण बन्दै गएको हो ।समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा रहेको उक्त दरबारलगायत अन्य पुराना संरचना पनि बेवास्ताको सिकार भइरहेको छ । विभिन्न काल खण्डमा धेरै दरबार बने। बाइसेचौबिसे राज्यका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार हुँदै बसन्तपुरसम्मका नयाँ–नयाँ दरबार बनेका थिए ।

ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्वका दरबारको उत्तिकै महत्व रहँदा पनि एतिहासिक लमजुङ दरबार भने अझैसम्म ओझेलमै छ । शाहवंशीय राज्यकालको उद्गमथलो लमजुङ हो भने र त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यका राजा बनाएका थिए । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिएको इतिहासमा उल्लेख छ । सो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई पुनःकास्कीकोटबाट ल्याएर राजकाज अघि बढाएका थिए । उनलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा बसाइएको शिलालेखमा उल्लेख छ ।

उनकोे मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा राजा भए । उनीपछि क्रमशः चुडा शाह १६४५, अचित शाह १६६२, नरेन्द्र शाह १६९३, केहरिनारायण शाह १७३३, भीम शाह १७९४, रीपुमर्दन शाह १७९८ र बीरमर्दन शाहले १८०२ देखि १८३९ सम्म गरी नौ पुस्ताले उक्त दरबारबाट शासन चलाएका थिए । लमजुङको अन्तिम राजा वीर शाह थिए । विसं १८३९ कात्तिक १९ गतेसम्म शाह वंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीयवासीले बताए । शाहवंश राजा आएपछिसमेत धेरै समयसम्म घले राजा रहेको जानकारको भनाइ छ ।

त्यतिबेलाको पश्चिम नेपालको लमजुङ–कास्की क्षेत्रमा फैलिँदै गएका हिन्दू धर्मावलम्बी खसआर्य समुदाय र लमजुङका खजे दुरालगायत दुराहरुको पहलमै लमजुङमा घले राजाको सट्टामा अर्को राजा बनाइएको स्थानीय जानकार देवबहादुर गुरुङले बताउनुभयो । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाउँथे ।

नरहरि राजा भएका बेला यशोबह्माका छोराले झगडा गरेपछि कान्छा छोरा द्रव्यशाह राइनासकोटको गोठमा बसेका थिए । उनी लमजुङ दरबारमै हुर्किएपछि उक्त गोठमा बस्दै आएका थिए । पछि १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौडमा जितेपछि उनले लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरेर राजकाज चलाएका थिए। द्रव्यशाहको ११औँ पुस्ता पृथ्वीनारायण शाह रहेको बताइन्छ ।

पृथ्वीनाराण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गरी अखण्ड नेपाल बिस्तारको अभियान थाले । विभिन्न राज्य कब्जा गरे पनि लमजुङ भने स्वतन्त्र थियो । विसं १८३९ मा पृथ्वी नारायण शाहको बुहारी राजेन्द्रलक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारको भनाइ छ ।

सो बेला गोरखा र लमजुङको तार्कुघाटमा लडाईं हुँदा लमजुङले हारेपछि नेपाल राज्यमा गाभिएको थियो । यस्तो महत्व र तत्कालीन राज्यकालका थुप्रै ऐतिहासिक उतारचढावको साक्षीका रुपमा रहेको लमजुङ दरबार दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ ।

पानी पर्दा दरबारको छानाबाट पानी भित्रै चुहिने गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका एक कर्मचारीले बताए । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पनि दरबारको पुतली गारोलगायत अन्य भागमा क्षति पु¥याउँदा पनि मर्मत गरिएको छैन । विभिन्न समयका सरकार र राज्यका सम्बन्धित निकायले दरबारको उचित मर्मतसंहार, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न नसकेको स्थानीयवासी एवं बेंसीसहर नगरपालिका–३ का पूर्ववडाध्यक्ष सूर्यकुमार श्रेष्ठले बताउनुभयो ।

राज्यको बेवास्तामा परेकाले र आवश्यक प्रचारप्रसार नहुँदा सो दरबारको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्वसमेत नामेट हुने अवस्थामा पुगेको उहाँको गुनासो थियो । दरबारको हेरचारका लागि बसेका प्रहरीले प्राय सबै कोठा भत्किएको दरबारको छानोमा प्वालैप्वाल परेकाले जुनसुकै बेला पनि भत्किनसक्ने अवस्थामा पुगेको बताए ।

त्यस्तै लमजुङ दरबारको शिरमा पुरानोकोट गढी रहेको छ । सो गढी क्षेत्रमा बसोबासका भग्नावशेष, मठमन्दिर, त्यतिबेला प्रयोग गरेका ढिकीको ओखल, जाँतो, सिलौटोजस्ता सामग्री अहिले पनि देख्न पाइन्छ । मन्दिर र ढिकी, जाँतो राजाका सेनाले सुरक्षा दिने भवन यतिबेला भग्नावषेश अवस्थामा रहेको छ । उक्त दरबारमा राजा भएका शाहवंशीय राजाका फोटो र केही सामग्री गृहयुद्धका बेला तत्कालीन माओवादीले जलाएर नष्ट पारिदिएको उक्त हेरचार कार्यालयले जनाएको छ । दरबार परिसरको द्वार एवं पदमार्ग नगरपालिकाले निर्माण गरिरहे पनि दरबारको संरक्षण र मर्मत भने सम्बन्धित निकायको विशेष जिम्मा हुने बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले यसका लागि बेलाबेलामा सम्बन्धित निकायमा पहल गरेका छौँ तर जति संरक्षण तथा मर्मत हुनुपर्ने थियो हुन नसक्दा जीर्ण बन्न पुगेको छ । सोह्र रोपनी क्षेत्रफलमा लमजुङ दरबार रहेको छ ।” रासस