१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग

मिथिलाञ्चलमा नवविवाहित महिलाले मनाउने मधुश्रावणी पर्वको शुभराम्भ

मिथिलाञ्चलमा नवविवाहित महिलाले मनाउने मधुश्रावणी पर्वको शुभराम्भ
अ अ+ अ-

धनुषा । धनुषासहितका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा नवविवाहित मिथिलानी (मिथिलाका नारी) ले आजदेखि मधुश्रावणी पर्व सुरु गर्दैछन् । नवविवाहिता मिथिलानीले १३ दिनसम्म मनाउने मधुश्रावणी पर्वका लागि अहिले माइत पुगेका छन् ।

साउन कृष्ण पञ्चमीका दिन सुरु भई साउन शुक्ल तृतीयाका दिन सम्पन्न गरिने यस पर्वमा मिथिलानीका लागि हासपरिहास र मनोरञ्जनको माध्यम पनि बन्दै आएको छ । मिथिलाका प्रायस्जसो बस्ती मधुश्रावणीको रङमा रङ्गिएको रौनक देखिएको छ । यो पर्व बर्तालु र उनका सखीको बस्त्र परिधानको सजधज, सामूहिक प्रणयगान र ‘फूललोढी’ (फूल खोज्ने) विधिले सबैको ध्यान खिच्ने गर्छन् ।

शिव, पार्वती (गौरी) र ‘विषहरा’ (नागदेवता) को आराधना गरिने यस पर्वमा भोलिपल्टको पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिकरूपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भन्ने गरिन्छ । पर्वमा भगवान शङ्कर र देवी गौरीलाई बासी फूल चढाइने गरिन्छ ।

“सूर्यास्त हुनपूर्वका बेलामा प्रणयगान गाउँदै विशेष वस्त्र परिधानमा सजिएका नवयौवना जब फूल खोज्ने विधिका लागि निस्कन्छन्, स्वाभाविकरूपमा वरपर हुने सबैको ध्यान त्यसतर्फ खिचिन्छ”, मैथिलीका साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडी भ्रमर भन्नुहुन्छ “भर्खरै विवाहित जोडीको प्रणय सम्बन्ध प्रगाढ बनाउने कामनाभित्रको ‘फूललोढी’ विधिमा निस्केका मिथिलानीको त्यही विषय भाव समेटिएका गीतले आफ्ना सबै गुमाएको वा छोडेको फुटपाथेलाई पनि रोमाञ्चित गराउँछ ।”

आमरूपमा प्रगाढ प्रणय सम्बन्धको अपिलमा सामाजिक शिष्टता नाघिने शब्द हुनसक्ने अड्कल यहाँ नअटाउने कापडी बताउनुहुन्छ । “गीतका शब्द र भावले शिष्टता नाघेको भान हुँदैन”, कापडीले भन्नुभयो, “गीत बर्तालुको प्रणय सम्बन्ध प्रगाढ होस् भन्ने भावमा सलल बगेको हुन्छ, जो अत्यन्त कर्णप्रिय लाग्दछ ।”

वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । वनमा रमाउने मयुर पनि यसै मौसममा प्रणय सम्बन्धमा लीन हुन्छन् । यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावनात्मकरूपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको मिथिला संस्कृतिका जानकार क्षीरेश्वरनाथ नगरपालिका ७६ वर्षीय अवकाश प्राप्त शिक्षक रमापति चौधरी बताउनुहुन्छ । त्यसैले यो पर्व नवविवाहिताका लागि खास हुने गरेको छ । समूहमा ‘फूललोढी’ मा निस्केका नवयौवना मिथिलानी साउने झरीमा रुझ्दै आपसी परिहासमा मस्त रहेको दृश्य अघाउँजी नहेरी कुनै बटुवा अघि बढ्न हतार गर्दैनन् ।

नवविवाहिता मिथिलानीबीच आपसी हासपरिहास यस पर्वको विशिष्ट पक्ष रहेको धनुषाका कर्मकाण्ड र मिथिला संस्कृतिका ज्ञाता पण्डित इन्द्रकान्त झा बताउनुहुन्छ । पर्वमा नवविवाहिता मिथिलानी आफ्ना सखीबीच भर्खरै सुरु भएको दाम्पत्य जीवनका कौतुहलता, पतिले देखाउने वास्ता र रतिरागसम्मका अनुभव साटासाट हुन्छन् । “बेहुली भएर पति घर गएदेखि मधुश्रावणी मनाउन माइत आएबीचका अन्तरङ्ग अनुभव बर्तालुले सुनाउँदा विवाह योग्य उमेर पुगेकी सखीको कौतुहलताको मापन के होला ?”, जनकपुरधामका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल भन्नुहुन्छ, “यो कुराको अनुमानले मात्र पनि जो कसैलाई रोमाञ्चित बनाउँछ ।”

पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब साझा भइसकेको छ । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको मिथिलानी बताउँछन् ।

तेह्र दिनसम्म मनाइने यस पर्वमा शिव, पार्वती (मधुश्रावणी व्रत विधानमा पार्वतीलाई गौरी नाम दिइएको छ) र विषहराको पूजाआराधना गरेपछि बर्तालुलाई ज्येष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुने गरेका अहिले पर्व मनाउन माइत आएकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी आरती साह सोनार बताउनुहुन्छ ।

पर्वमा आफ्नो स्खलित भएको विर्य भगवान् शङ्करले पातमा राखेका र त्यही विर्यबाट पाँच नागकन्याको जन्म भएको कथा प्रचलित छ । कुनै तलाउमा जलक्रिडाका बेला जन्मेका यी छोरी भेट्न शिव जाने गरेका र यो वृत्तान्त थाहा नपाएकी पार्वतीलाई पतिप्रति शङ्का बढेपछि पिछा गरेकी कथा छ ।

एक दिन छोरीसँग खेलिरहेका पतिलाई देखेर क्रोधित भएकी पार्वतीलाई शिवले सबै कुरा बताएपछि क्रोध शान्त भएको प्रसङ्ग छ । पार्वतीलाई खुसी तुल्याएपछि शिवले साउन महिनामा यी नागिनीको पूजा गर्नेलाई सर्पको भय नहुने वरदान दिएबाट मधुश्रावणी पर्वमा विषहराको पूजा विधान सुरु भएको लोक जनविश्वास छ ।

देवी गौरी दाम्पत्य जीवन सुखद् बनाउने र सबै मनोकामना पूरा गर्ने मानिएकीले उनको पूजाअर्चना नवविवाहिताले यसै अभिष्टका लागि सुरु गरेका मिथिला लोकसंस्कृतिका जानकार डा रामसुदिष्ट राय बताउनुहुन्छ ।

पर्वको मुख्य पक्ष नै नारी जीवनमा पतिपत्नीको स्नेह र सम्बन्ध प्रगाढ बनाउन केन्द्रित रहेकाले यससँग जोडिएर आउने ठट्यौली र हासपरिहासले पर्वको महत्ता उज्यालिएको पाका मिथिलानीहरु बताउँछन् ।

प्राचीन वैदिक ग्रन्थ शिव पुराणमा कुष्ठरोग भएका आफ्ना पतिलाई ठीक गराउन मधुश्रावणी नाउँकी नवविवाहितालाई शिवले यो व्रत गर्न लगाएको प्रसङ्ग छ । शिवको आज्ञाअनुसार मधुश्रावणीका पति ठीक भएपछि पति कल्याण र आपसी सम्बन्ध प्रगाढताको कामना राखिने यो पर्व परम्परा चलेको विश्वास गरिन्छ ।

बर्तालुले साउन कृष्ण चौथी ९चतुर्थी० का दिन पवित्र स्नान गरेर चोखोनितो बनेपछि वर्त सङ्कल्प गर्दछन् । व्रत अवधिभरि मन पवित्र बनाएर सात्विक भोजन गर्नुपर्ने विधान छ । सधैँ दिउँसोपछि सूर्यास्त हुनपूर्व सखीसहेलीका साथ हाँस्दै, खिल्लिँदै र प्रणयभावका गीत गाउँदै ‘फूललोढी’मा निस्कनु तथा सङ्कलन गरिएका बेलपत्र र विभिन्न जातका फूल राति बासी राखेर भोलिपल्ट त्यसैले शिव, पार्वती र विषहराको पूजा आराधना गरेर कथा श्रवण गर्नु पर्वअवधिको मुख्य तालिका हो ।

बर्तालुले सधैँ बिहान पवित्र स्नान गरेर पूजाआराधना गरेर कथा श्रवण गरेपछि सात्विक भोजन गर्ने गर्छन् । पर्वमा अटल सौभाग्यकी देवी मानिने गौरीको पूजा आराधनाका लागि छुट्टै नैवेद्य बनाउने चलन पनि छ ।

माइतमै बसेर मनाइने भए पनि पर्वमा नवविवाहिताका लागि व्रत अवधिको खाद्यान्न, वस्त्रपरिधान, बर्तालुका शृङ्गार प्रशाधन, पूजा सामग्री र अन्य पर्व विशेषका आवश्यक वस्तु पतिघरबाटै पुर्‍याइनुपर्ने चलन छ ।

माइतीघरको आँगन वा अन्य सुरक्षित ठाउँमा बनाइएको खास मण्डप ९अरिपन०मा बसेर त्यहीँ देवता स्थापित गरेर यो पर्व मनाइन्छ । कूल देवताको स्मरण गरेर सुरु गरिएको पूजाआराधनामा प्रत्येक दिनको पूजापछि माइती घरका ज्येष्ठ सदस्यबाट बर्तालुले आशीर्वाद लिने गर्छन् । पर्व १३औँ दिनमा समापन गरिन्छ । समापन भएपछि दिनहुँ पूजा गरिएका बेलपत्र र फूल सङ्ग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गरिने चलन छ ।

यसअघि १२औँ दिन साँझ पूजाअर्चनापछि बर्तालुलाई ‘टेमी’ दिने गरिन्छ । दियोमा बालिने बत्तीको लप्कोले बर्तालुको देब्रे गोडाको घुँडामा डाम्ने विधिलाई ‘टेमी’ भन्ने गरिएको हो । ‘टेमी’ दिइएको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने मानिन्छ । पछिल्लो कालमा भने नयाँपुस्ताका मिथिलानीले ‘टेमी’ प्रचलनलाई परिष्कृत गरिनुपर्ने आवश्यकता औँल्याएका छन् । पर्वमा बर्तालुलाई बलेको बत्तीको लप्काले डाम्नुको सट्टा शीतल चन्दनको लेप उपयुक्त हुने नयाँ पिँढीका मिथिलानीको भनाइ छ । पछिल्ला केही वर्षयता यो चलनमा आउन थालेको मिथिलानीले बताएका छन् ।

विधिमा केही परिस्कारको कुरा उठेका र समयक्रममा ती स्थापित हुने मैथिल बुद्धिजीवी बताउँछन् । पर्वको अभीष्ट नै प्रेम सम्बन्धको प्रगाढता भएकाले यसले मैथिल संस्कृति पारिवारिक सद्भाव वृद्धिमा सचेत रहेको सन्देश नै प्रवाह भएको कुरामा मैथिल एकमत देखिन्छन् । रासस