७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुखका लागि आज मतदान हुँदै, भुसाल विजयी हुने सम्भावना बढी



अ+ अ-

काठमाडौ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज संसदमा अपराह्न ३ बजे मतदान हुँदैछ । उपसभामुखमा दुई महिला उम्मेदवारहरु नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम र एमालेकी सांसद विद्या भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ ।

उपसभामुख पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उम्मेदवारी दर्ता गर्नु भएको छ । उहाँले बिहीवार संघीय संसद भवन नयाँ बानेश्वर पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो ।

भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मीकुमारी चौधरी हुनुहुन्छ ।

यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पनि उपसभामुखमा उम्मेदवारी दर्ता गराएको छ । एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँको प्रस्तावक सांसद शान्ता चौधरी हुनुहुन्छ भने समर्थकमा सांसद कृष्णभक्त पोखरेल हुनुहुन्छ । उहाँहरु दुबै नेकपा एमालेका सांसद हुनुहुन्छ ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गठबन्धनकी उम्मेदवार भुसालले आफू निर्वाचित भए प्रतिनिधि सभालाई तटस्थ, स्वतन्त्र र प्रभावकारी रुपमा सञ्चालन गर्न भुमिका खेल्ने बताउनु भयो । उहाँले आफ्नो भुमिका संवैधानिक परिषदमा पनि हुने उल्लेख गर्दै सो भुमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रतिनिधि सभाको उपसभामुख भन्ने बित्तिकै सदनलाई तटस्थ ढंगबाट, स्वतन्त्र ढंगबाट अत्यन्त प्रभावकारी ढंगबाट सदनलाई अगाडी बढाउनका लागि एउटा खालको भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । र सदनसँग जोडिएका, मुलुकको राष्ट्रिय राजनीतिसँग जोडिएका, आम नेपाली जनतासँग सरोकारयुक्त विषयवस्तुहरुलाई पनि सदनमा अत्यन्त प्रभावकारी ढंगबाट उठाउनको लागि पनि सहयोगहरु गर्नुपर्ने अवस्थाको सिर्जना पनि हुन्छ । संविधान कार्यान्वयनको विषयमा संसदको जुन प्रभावकारी भुमिका हुनुपर्दछ, संविधानलाई कार्यान्वयन गर्नका लागि पनि सदनले प्रभावकारी भुमिका खेलोस् त्यसको लागि पनि मेरो भुमिका निर्वाचित भएँभने प्रभावकारी ढंगबाट अगाडी बढाउनेछु भन्ने विश्वस्त गराउन चाहन्छु । संवैधानिक परिषद्मा जुन भुमिकाको अपेक्षा गरेको छ संविधानले त्यो अनुसार आफ्नो भुमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने मैले प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

त्यस्तै, एमालेको तर्फबाट उम्मेदवार विद्या भट्टराईले एमालेको निरन्तरको दबाबका कारण उपसभामुख चयन प्रक्रिया अगाडी बढेको बताउनु भयो । उहाँले उपसभामुख निर्वाचित हुनका लागि पार्टीले मात्रै निश्चित नगर्ने नभइ विभिन्न मापदण्डहरु हुने र आफूले सबै मापदण्ड पूरा गर्ने हिसावले उम्मेदवारी दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘उपसभामुख पद भनेको संसदको एउटा महत्वपूर्ण पद हो । त्यहाँ पार्टीको कुराले मात्रै निश्चित गर्छ जस्तो मलाई लाग्दैन । उपसभामुख पदका लागि अरु धेरै मापदण्डहरु पनि हुन्छन् । त्यो मापदण्ड मिट गर्ने हिसावले पार्टीले जुन ढंगले उम्मेदवारी दिने फैसला गरेको छ, त्यसको लागि पार्टीप्रति आभार व्यक्त गर्न चाहन्छु । कहिलेकाहीँ तपाईले जुन गणितीय कुरा देख्नुहुन्छ, गणितीय कुराहरु पनि प्रक्रियाहरुले अवरुद्ध गर्न पनि सक्छन् । जुन कुरा हुनेछ कि भन्ने मैले ठानेको छु ।’

उहाँले आफू निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको संविधानमा सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसअघि उपसभामुख रहेकी डा शिवमाया तुम्बाहाङफेले राजीनामा दिएपछि साढे २ वर्षदेखि उपसभामुख पद रिक्त थियो ।