२ भाद्र २०८३, मंगलवार
,
Latest
दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारी र फलफूल ढुवानी ठप्प हुँदा महँगियो



अ+ अ-

बागलुङ । ढुवानी ठप्प हुँदा यहाँ तरकारी र फलफूल महँगिएको छ । पोखरा–बागलुङ सडक खण्डमा पहिराले बिहीबारदेखि यातायात सेवा अवरुद्ध भएपछि तरकारी र फलफूल ढुवानी गर्न सकिएको छैन ।

व्यापारीले मनपरी मूल्य बढाएको उपभोक्ताको गुनासो छ । व्यवसायी भने दोब्बर भाडा तिरेर ढुवानी गर्नुपरेकाले मूल्य बढाउनु परेको बताउँछन् । स्थानीय किसानबाट खरिद गरेको तरकारी यसै पनि महँगो पर्ने गरेको उहाँहरुको गुनासो छ । एक साताअघि रु ६० पर्ने गोलभेँडा अहिले रु एक सय २० मा खरिद गर्नुपरिरहेको  व्यवसायी नारायण सुवेदीले बताउनुभयो । 

“स्थानीय उत्पादन न्यून भएकाले खरिद महँगो पर्छ, अब त्यही पनि पाइन छाडेको छ”, उहाँले भन्नुभयो । यहाँ पोखरा, चितवनलगायत ठाउँबाट तरकारी ल्याइने गरिन्थ्यो । स्थानीय उत्पादनले मात्र धान्न सक्ने स्थिति छैन । तरकारी आयात ठप्प भएपछि स्थानीय किसानले उचित  मुल्य नपाएको व्यवसायी बताउँछन् । 

वर्षा याम सकिनै लाग्दा बजारमा तरकारी अभाव भएको छ । त्यहीँमाथि ढुवानी नै गर्न नसकिएपछि थप समस्या निम्तिएको छ । तीजमा उपभोक्ताले चाहेअनुसारको किनमेल गर्न पाएका छैनन् । फलफूलको भाउ पनि छोइनसक्नु छ । व्यवसायी विजय आले  बुटवलबाट गलकोटहुँदै फलफूल ढुवानी गर्नुपरिरहेकाले  दोब्बर भाडा तिर्नुपरिरहेको बताउनुहुन्छ । एक किलो स्याउ रु तीन सयमा किन्नु परेको स्थानीयवासी उमाकुमारी पौडेलले बताउनुभयो । केही दिनअघिसम्म एक किलो स्याउको मूल्य रु एक सय ५० थियो । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विक व्यवसायीले मनपरी ढङ्गले मूल्य लिन नपाउने बताउनुहुन्छ । आजैदेखि बजार अनुगमन थालिएको उहाँको भनाइ छ । “अनुगमनका क्रममा बढी मूल्य लिएको पाइएमा व्यवसायीलाई कारबाही हुन्छ”, विकले भन्नुभयो । प्रशासन, प्रहरी, बागलुङ नगरपालिका, उपभोक्ता मञ्चलगायत सरोकार भएका पक्ष मिलेर अनुगमन थालेका हुन् ।

चाँडवाडमा बजारमा वस्तुको मूल्य मनपरी लिने व्यवसायीको पुरानै प्रवृत्ति हो । यसैमाथि ढुवानी रोकिएको नाममा कृतिम अभाव सिर्जना गरेर मूल्य बढाउने व्यवसायी पनि यसबेला सक्रिय छन् । सडक सम्पर्क टुट्दा तरकारी÷फलफूल मात्र होइन अन्य दैनिक उपभोग्य सामानको पनि अभाव भएको छ । इन्धनको ढुवानीसमेत रोकिएको छ ।