४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

बैंक चौतर्फी दबाबमा

बैंक चौतर्फी दबाबमा
अ+ अ-

काठमाडौँ — चालु आर्थिक वर्ष सकिन करिब ४० दिन मात्र बाँकी रहँदा बैंक तथा वित्तीय संस्था चौतर्फी दबाबमा छन् । एकातिर बैंक तथा वित्तीय संस्था आफैंले तय गरेको नाफाको लक्ष्य प्राप्ति ‘फलामको चिउरा चपाउनु’ सरह भएको छ भने अर्कोतिर कर्जा निक्षेप अनुपात (सीडी) ९० प्रतिशतमा झार्नु, तरलता अनुपात २० प्रतिशत कायम गर्नु, कृषि, ऊर्जा, लघु उद्यमलगायत क्षेत्रमा तोकिएको कर्जा पूरा गर्नुपर्ने बाध्यता छ ।

पर्याप्त स्रोत (निक्षेप) नहुँदा न त बैंकहरूले सजिलै नाफाको लक्ष्य भेट्न सक्छन्, न त नियामकीय मापदण्ड नै पूरा गर्न सक्छन् । त्यसकारण चालु आवको बाँकी समय र आगामी आवको कम्तीमा ३–६ महिना बैंकहरूका लागि निकै चुनौतीपूर्ण हुने जानकारहरू बताउँछन् ।

अहिले बैंक तथा वित्तीय संस्थामा सीडी अनुपात नियामकीय तहमा राख्न, खराब कर्जा बढ्न नदिन, पुँजी कोष निर्धारित तहमा राख्नलगायत विभिन्न दबाब रहेको बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले बताए । ‘चालु आवको सुरुदेखि नै ठूलो परिमाणमा मुलुकको शोधनान्तर स्थिति घाटामा छ । यसले गर्दा आयातबापतको भुक्तानीका रूपमा धेरै पैसा बाहिर गयो । त्यो पैसा नेपालमै बसेको भए बैंकमा निक्षेप सिर्जना हुन्थ्यो ।

यसकारण बैंकहरूले कर्जा प्रवाह बढाइरहे पनि अपेक्षित रूपमा निक्षेप संकलन हुन सकेन,’ उनले भने, ‘यसको दबाब बैंकहरूलाई छ । ब्याजदर बढिरहेको छ । यसअघि करिब ८ प्रतिशत रहेको ब्याजदर १४ प्रतिशतसम्म पुगेको छ । यसले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्ने जोखिम पनि उत्तिकै छ ।’ असार मसान्तसम्ममा केही बैंकहरूलाई पुँजी कोष पुर्‍याउनै पर्ने दबाब रहेको पनि उनले सुनाए ।

चालु आवको अन्त्यमा बैंक तथा वित्तीय संस्थालाई परेका प्रमुख ८ दबाबहरू यस प्रकार छन् :

१. राष्ट्र बैंकको निर्देशनअनुसार आउँदो असार मसान्तभित्र बैंक तथा वित्तीय संस्थाले बढीमा ९० प्रतिशत सीडी अनुपात कायम गर्नुपर्नेछ । साउनदेखि ९० प्रतिशतभन्दा बढी सीडी अनुपात रहने बैंकले राष्ट्र बैंकको कारबाही भोग्नुपर्छ । तर, चालु आवका प्रायः सबै महिना अपवादबाहेक सबै बैंकको सीडी अनुपात ९० प्रतिशतभन्दा माथि छ । राष्ट्र बैंकका अनुसार २७ वटा वाणिज्य बैंकमध्ये गत शुक्रबारसम्म १५ वटा बैंकको सीडी अनुपात ९० प्रतिशतसम्म छ । तीमध्ये केहीको करिब ९६ प्रतिशतसम्म पनि छ । ती बैंकहरूले पनि असार मसान्तसम्ममा सीडी अनुपात ९० प्रतिशतमा झार्नै पर्छ । सोही अवधिमा वाणिज्य बैंकहरूको औसत सीडी अनुपात करिब साढे ९० प्रतिशत छ । यसका लागि कि त निक्षेप बढाउनुपर्छ कि कर्जा असुली गर्नुपर्छ ।

२. तरलता निक्षेप अनुपात (लिक्विडिटी टु डिपोजिट रेसियो) २० प्रतिशत कायम गर्नुपर्ने दबाब पनि बैंकहरूलाई छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले कम्तीमा २० प्रतिशत रकम तरल रूपमै बैंकमा राख्नुपर्छ । हरेक दिन बैंकमा निक्षेप झिक्न आउने मानिसलाई भुक्तानी गर्ने रकम अभाव नहोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । करिब ६ महिनाअघिसम्म बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकमको अभाव मात्र थियो । किनकि त्यतिबेला प्रायः बैंकहरूको तरलता निक्षेप अनुपात २० प्रतिशतभन्दा बढी थियो । तर, पछिल्ला केही महिनामा धेरै बैंकहरूको यस्तो अनुपात २० प्रतिशत छ । पहिलो लगानीयोग्य रकम अभाव हुँदा बैंकहरूको थप कर्जा प्रवाह क्षमतामा मात्र कमी आएको थियो । निक्षेपकर्तालाई भुक्तानी दिने क्षमता घटेको थिएन । अहिले धेरै बैंकको तरलता निक्षेप अनुपात २० प्रतिशतभन्दा तल रहनुले बैंकहरूको निक्षेपकर्तालाई भुक्तानी दिने क्षमतामै कमी देखाउँछ । यसकारण वित्तीय प्रणालीमा देखिएको समस्यालाई केही महिनायता तरलता संकट (लिक्विडिटी क्रन्च) भनिन थालिएको छ । केही महिनाअघि यसलाई तरलता अभाव (लिक्विडिटी क्राइसिस) मात्र भनिन्थ्यो । राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्म २७ वाणिज्य बैंकहरूमध्ये १२ वटा बैंकको यस्तो अनुपात २० प्रतिशतभन्दा कम छ ।

बैंक तथा वित्तीय संस्थाको तरलता निक्षेप अनुपात राष्ट्र बैंकले हरेक दिन नियमन गर्छ । तर, महिनाको अन्तिम दिनमा २० प्रतिशत नपुगेको अवस्थामा भने कारबाही गर्छ । स्रोतका अनुसार केही बैंक यस्तो कारबाहीमा परिसकेका छन् । तरलता संकटको अवस्था जारी रहिरहे आउँदा महिनामा धेरै बैंक यस्तो कारबाहीमा पर्ने जानकारहरू बताउँछन् ।

३. निक्षेप संकलनको दबाब पनि बैंक तथा वित्तीय संस्थालाई छ । तरलता कम भएको भन्दै सरकारले गत पुसदेखि सबै स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपमै गुणना गर्न पाउने सुविधा वाणिज्य बैंकहरूलाई दिएको छ । यो व्यवस्था आउँदो असार मसान्तसम्मका लागि मात्र हो । त्यसअघि स्थानीय तहको खातामा रहेको रकमको ५० प्रतिशत मात्र निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो । सरकारले नयाँ निर्णय गरेन भने साउन १ देखि बैंकहरूले स्थानीय तहको खातामा रहेको रकमको ५० प्रतिशत मात्र निक्षेपमा गणना गर्न पाउँछन् । यो व्यवस्थाले कम्तीमा ३० प्रतिशतले बैंक तथा वित्तीय संस्थाको निक्षेप घट्ने देखिन्छ । त्यसको प्रत्यक्ष प्रभाव सीडी अनुपातमा पर्छ ।

४. वाणिज्य बैंकहरूले ऋणपत्र बिक्री गरेर संकलन गरेको रकम पनि हाल निक्षेप (स्रोत) का रूपमा गणना गर्न पाउँछन् । यो व्यवस्था पनि आउँदो असार मसान्तसम्मका लागि मात्र हो । हालको व्यवस्थाअनुसार असारपछि बैंकहरूले ऋणपत्रबाट संकलन गरेको रकम निक्षेपका रूपमा गणना गर्न पाउँदैनन् । यसो हुँदा बैंकहरूको निक्षेप परिमाण झन् कम हुन्छ ।

५. राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी पुनर्कर्जाको आकार घटाउने संकेत दिएको छ । यसले नीतिगत मान्यता पाएमा आगामी आवमा राष्ट्र बैंकले पुनर्कर्जाबापत करिब ५१ अर्ब रुपैयाँ मात्र बजारमा पठाउनेछ । पछिल्ला ३ वर्षमा राष्ट्र बैंकले पुनर्कर्जामार्फत २ खर्ब रुपैयाँभन्दा धेरै रकम बजारमा पठाएको छ । अघिल्लो वर्ष राष्ट्र बैंकले पुनर्कर्जा कोषमा रहेको रकमको ५ गुणासम्म सुविधा प्रदान गर्न सकिने घोषणा गरेको राष्ट्र बैंकले चालु वर्षका लागि त्यसलाई घटाएर ४.१२ गुणा बढाएको थियो । आगामी वर्षदेखि उक्त व्यवस्था घटाएर कोषमा आधारित मात्र पुनर्कर्जा प्रवाह गर्ने योजना राष्ट्र बैंकको छ ।

हाल बैंकहरूले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) गणना गर्दा कुल प्रवाहित कर्जालाई कुल निक्षेप, पुनर्कर्जा र ऋणपत्रमार्फत प्राप्त भएको रकमले भाग गर्छन् । अब ऋणपत्रको रकम गणना गर्न नपाउने र पुनर्कर्जाको रकम पनि करिब ४ गुणाले घट्ने भएपछि अब बैंकहरूले कुल कर्जालाई निक्षेप र पुनर्कर्जामार्फत आएको रकमले मात्र गणना गर्नुपर्नेछ । यहाँनेर पनि स्रोत व्यवस्थापन गर्न बैंकहरूलाई ठूलो चुनौती हुने जानकारहरू बताउँछन् ।

६. खराब कर्जा बढ्न सक्ने चुनौती पनि बैंक तथा वित्तीय संस्थालाई छ । पछिल्लो ६ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर औसतमा करिब ७ प्रतिशतबाट बढेर १४ प्रतिशतसम्म पुगिसकेको छ । ब्याजदर बढ्दा निश्चित आम्दानी भएका ग्राहकको साँवा तथा ब्याज भुक्तानी क्षमता कम हुन्छ । यसो हुँदा आउँदा महिनामा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्ने जोखिम धेरै देखिन्छ ।

७. सेयर बजार, व्यापारलगायत केही क्षेत्रका लागि राष्ट्र बैंकले यसअघि बढाएको जोखिम भार आउँदो असारदेखि कार्यान्वयनमा ल्याउनुपर्नेछ । जोखिम भार बढ्नु भनेको त्यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह क्षमता कम हुनु हो । उक्त व्यवस्था लागू भएपछि एकातिर ती क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह क्षमता घट्छ भने अर्कोतिर पुरानो कर्जाका लागि पनि बैंकले थप पुँजी लगाउनुपर्नेछ ।

८. कर्जा प्रवाहको दबाब पनि बैंक तथा वित्तीय संस्थालाई छ । हाल बैंक तथा वित्तीय संस्थाले स्वीकृत गरेको तर प्रवाह गर्न बाँकी कर्जा करिब २ खर्ब हाराहारीमा छ । आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढे पनि करिब १ देखि डेढ खर्ब रुपैयाँ मात्र आउने आकलन गरिएको छ । रेमिट्यान्समा उल्लेख्य प्रगति नभए, शोधनान्तर घाटामा सुधार नआए आउँदो आवमा पनि बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह क्षमतामा कमी आउने जानकारहरू बताउँछन् ।

साभार: कान्तिपुर दैनिक (यज्ञ बन्जाडेको रिपोर्ट)