• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

नवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी



नवलपुर । स्थानीय तह निर्वाचन–२०७९ पछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । जिल्लामा सबैभन्दा धेरै जनप्रतिनिधि निर्वाचित गराउँदै एमाले पहिलो पार्टी बनेको हो ।

आठ स्थानीय तहका ९२ वडा रहेको नवलपुरमा एमालेले जम्मा २६० पदमा जित हासिल गरेको छ । एमालेले तीन नगरपालिकामा प्रमुख–उपप्रमुख दुवै पद, तीन गाउँपालिकामा अध्यक्ष र दुई गाउँपालिका उपाध्यक्षमा जित निकालेको छ । त्यस्तै ४८ वडामा वडाध्यक्ष, ९९ खुला सदस्य, ५१ महिला सदस्य तथा ५१ जना नै दलित महिला सदस्य एमालेका तर्फबाट निर्वाचित भएका छन् । नवलपुरमा एमालेका ५४ दशमलब ६२ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन् ।

जिल्लामा नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेस २०३ जनप्रतिनिधि निर्वाचित गराउँदै जिल्लामा दोस्रो ठूलो पार्टी बनेको हो । नवलपुरमा कांग्रेसले एउटा नगरपालिकामा नगरप्रमुख–उपप्रमुख दुवै पद, एउटा गाउँपालिका अध्यक्ष तथा दुई गाउँपालिका उपाध्यक्षमा जित निकालेको छ । जिल्लाका ४१ वडामा कांग्रेसका तर्फबाट वडाध्यक्ष, ८० खुला सदस्य, ३८ महिला सदस्य तथा ३९ दलित महिला सदस्य निर्वाचित भएका छन् । जिल्लाका स्थानीय तहमा कांग्रेसको जनप्रतिनिधिको उपस्थिति ४२ दशमलब ६५ प्रतिशत रहेको छ ।

जिल्लामा नेकपा (माओवादी केन्द्र)ले दुई वडाध्यक्ष, दुई महिला सदस्य र एक दलित महिला सदस्य गरी जम्मा पाँच जनप्रतिनिधि मात्रै जितेको छ । यहाँको स्थानीय तहमा माओवादी केन्द्रका जनप्रतिनिधिको उपस्थिति एक प्रतिशत मात्रै रहेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा एउटा वडाध्यक्ष, चार खुला सदस्य, एक महिला सदस्य र एक दलित महिला सदस्य गरी सात जनप्रतिनिधि जितेको छ । राप्रपाको जिल्लाका स्थानीय तहमा उपस्थिति एक दशमलब ४७ प्रतिशत रहेको छ ।

त्यसैगरी नवलपुरमा राष्ट्रिय जनमोर्चाले एक खुला सदस्य जितेको छ भने जिल्लाको स्थानीय तहमा राष्ट्रिय जनमोर्चाको उपस्थिति शून्य दशमलब २१ प्रतिशत रहेको छ ।