• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला ★   सन्दीप टिममा जोडिने भएपछि टिमको आत्मविश्वास बढेको छ: पारस खड्का (अन्तरवार्ता) ★   लेबीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा अर्को लफडा ! ★   उभौली पर्वले राष्ट्रिय एकतामा सहयोग पुर्‍याउँछ : पूर्वराष्ट्रपति भण्डारी ★   शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता बढ्दो : पूर्वराष्ट्रपति भण्डारी ★   सहकारी ठगीमा संसदीय समितिको क्षेत्राधिकार टुंग्याउन आज कार्यदल बैठक बस्दै ★   लिभरकुसेनलाई हराउँदै एटलान्टाले जित्यो युरोपा लिगको उपाधि, लुकम्यानको ह्याट्रिक ★   बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यक : उपराष्ट्रपति ★   शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री ★   उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति

रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्षबाट दिए राजीनामा



रविन्द्र मिश्र (फाइल तस्वीर)

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा विवेशील साझा पार्टीको लज्जास्पद पराजयपछि रवीन्द्र मिश्रले सो पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा पार्टीले बेहोरेको निराशाजनक परिणामको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् ।

उनले एक विज्ञप्ति जारी गर्दै अब पार्टीको साधारण सदस्यका रुपमा रहने बताएका छन् ।

“तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु”, उनले भनेका छन् ।

विवेकशील साझा पार्टीका उम्मेदवारहरू “इमानदार र सक्षम” हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा आफूले लिनुपर्ने वक्तव्यमा उल्लेख छ ।

गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई म नमन गर्दै उनले भनेका छन्, “विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेका छन्। त्यो तपाईँहरूकै देन हो। विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म यो देशको रूपान्तरण असम्भव हुनेछ।”

आफूले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्तावेज पार्टीको केन्द्रीय समितिको दुई/तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजकलगायत कतिपयलाई गरिएको कारबाही फिर्ता लिन पनि उनले केन्द्रीय समितिलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, “सो दस्तावेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु। त्यस्तै, सो दस्तावेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु।”

आफ्नो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबिच आफूबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति उनले निःसङ्कोच क्षमा याचना गरेका छन् ।

मिश्रको वक्तव्यको पूर्णपाठ यस्तो छ :

प्रेस विज्ञप्ति :

विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा

स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ। गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु।

हाम्रा उम्मेदवारहरू “इमानदार र सक्षम” हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ। बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ। मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।

गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई म नमन गर्दछु। तपाईँहरूप्रतिको श्रद्धाभाव शब्दमा व्यक्त गर्न सक्दिन। तपाईँहरूलाई सम्झेर म भावुक भएको छु र तपाईँहरूको अपेक्षा पुरा गर्न नसक्दा अत्यन्तै दुखित छु।

विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेका छन्। त्यो तपाईँहरूकै देन हो। विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म यो देशको रूपान्तरण असम्भव हुनेछ।

मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्तावेज पार्टीको केन्द्रीय समितिको दुई/तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको थियो। सो दस्तावेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु। त्यस्तै, सो दस्तावेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु।

पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने नै छ। मेरो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबिच मबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति म निःसङ्कोच क्षमा याचना गर्दछु। पार्टीको साख केन्द्रीय समितिका साथीहरूको नेतृत्वमा पुनर्स्थापित हुने विश्वास लिएको छु। सो प्रयासमा मेरो पूर्ण सहयोग रहने छ।

नेपालको जय होस्

रवीन्द्र मिश्र

विवेकशील साझा पार्टी

११ जेठ २०७९