१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले भोलिमात्र महासचिवको टुंगो लगाउने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । 

नेकपा (एकीकृत समाजवादी) पार्टीको मंगलबारबाट सुरु भएको केन्द्रिय समिति बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पाँचवटा समुह बनाइ समुहगत छलफलको निष्कर्ष बुधवारको बैठकमा समुह नेताले सुझावसहित प्रस्तुत गरेको र सो प्रतिवेदन महत्वपूर्ण सुझावहरुलाई समेटी पारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । समुह नं. १ बाट रामकुमार झाँक्री, समुह नं. २ बाट रामचन्द्र शाह, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेश राईले राजनीतिक प्रतिवेदनमाथि आफ्नो समुहले गरेको छलफलको निष्कर्ष प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो । 

बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिदै अध्यक्ष माधवकुमार नेपालले जबजको सारभुत विचारलाई पक्रदै समाजवाद र समृद्धिको यात्रामा जाने कुरा बताउनुभएको प्रचार विभाव प्रमुख खतिवडाले जानकारी दिनुभयो । आफुहरु तत्कालीन एमालेले जस्तो जबजलाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताएको उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘जनताको बहुदलीय जनवादको सन्दर्भमा उठेका प्रश्नहरुको बारेमा उहाँले प्रष्टिकरण दिदैँ भन्नुभएको छ की, जनताको बहुदलीय जनवाद पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासको सन्दर्भमा देखापरेको त्यसको सिर्जनात्मक अध्याय हो । यसलाई हामीले थप विकसित गर्नेछौँ । आजभन्दा अगाडी नेकपा(एमाले)ले जबजलाई कुरुप गर्दै गएको थियो । 

त्यसलाई बिरुप बनाउँदै गएको थियो । या त यसलाई देवत्वकरण गर्ने र जबजलाई बेद, पुराणजस्तो कहिल्यै परिवर्तन हुन नसक्ने बनाउँदै लगिएको थियो । या त यसलाई यति विकृत बनाइएको थियो कि जबजका आदर्श भनेकै आजका व्यवहारहरु नै जबजको आदर्श हुन् भने जबजको पनि काम छैन भन्ने ठाउँमा पुर्याउन लागिएको थियो । हामी त्यसबाट मुक्त हुन चाहान्छौँ । जबजका सारभुत विचारहरुलाई पक्रदै समाजवाद र समृद्धिको यात्रामा जाने हामीले अठोट गरेका छौँ यो कुरालाई उहाँले अत्यन्तै प्रष्ट पार्नुभयो ।’

बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नेताहरु मार्फत् पार्टीको चुनावचिन्हको सन्दर्भमा विभिन्न सुझावहरु आएको भन्दै पार्टीको चुनावचिन्ह निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पनि विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो । पार्टी केन्द्रीय कमिटी बैठक भोली (बिहीवार) बिहान ११ बजे पनि बस्ते र भोलीको बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको अन्तिम टुंगो लगाइने पनि उहाँले बताउनुभयो ।