• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर) ★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

कोर एरियामा समेत बालेनलाई सहज, तेस्रो स्थानमा भए पनि थोरै मतले मात्र पछि



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको जारी मतगणना अहिले कोर एरियामा भइरहेको छ । अहिले नेवारहरुको बाक्लो बस्ती रहेको वडा नं ११, १२, २३, २४, २५, २६ र २७ को मतपेटिकाका मतगणना भइरहेको छ ।

काठमाडौँ महानगरको प्रमुख पदका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले) का केशव स्थापितलाई यी क्षेत्रबाट बढी मत आउने अपेक्षा गरिएको थियो ।

यद्यपि यसअघि नै मतगणनामा करिब १७ हजार मतान्तरले अगाडि रहेका स्वतन्त्र उम्मेदार बालेन साहभन्दा नेवार समुदायबाट आफूहरुलाई बढी मत आउने अपेक्षा गरेका सिंह र स्थापितलाई सोचेजति मत आउन सकेको छैन ।

सिंह र स्थापितलाई यी क्षेत्रबाट बढी मत आए पनि तेस्रो स्थानमा मत ल्याएका साह यी दुई उम्मेदवारभन्दा थोरै मात्र मतले पछि छन् ।

यी वडामा अहिलेसम्म जम्मा १९ हजार २०१ मत गणना भइसकेको छ । सोमध्ये सबैभन्दा धेरै मत एमालेका स्थापितले ल्याएका छन् । उनले चार हजार ४२५ मत ल्याएका छन् । दोस्रो बढी मत ल्याउने कांग्रेसकी सिंहले चार हजार ४१२ मत ल्याएकी छन् । त्यस्तै साहले यी क्षेत्रबाट चार हजार १५१ मत हासिल गरिसकेका छन् ।

समग्रमा हेर्दा बालेल साह नै अहिलेसम्म अग्रस्थानमा छन् भने सिंहले स्थापितलाई उछिनिसकेकी छन् । बाहिरी क्षेत्रमा बालेनले धेरै मतले अग्रता गरेकाले कोर एरियामा केही मतले पछि परे पनि उनलाई खासै असर नपर्ने देखिएको छ ।

कोर एरियामा पनि आठ वटा वडामा स्थापितले अग्रता हासिल गरिरहेका छन् भने सिंहले दुईवटा र साहले एउटा वडामा अग्रता बनाइरहेका छन् ।

अहिलेसम्मको मतगणनमा साहले ३९ हजार ५१५ मत ल्याई आफ्नो अग्रतालाई कायमै राखेका छन् । दोस्रो स्थानमा रहेकी सिंहले २२ हजार २७० मत पाएकी छन् भने त्यसपछि स्थापितले २१ हजार ७७५ मत हासिल गरेका छन् ।