१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धन बैठकमा आज पनि जुट्न सकेन सहमति



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठक विना निष्कर्ष टुंगिएको हो। 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश र मन्त्रिपरिषद विस्तारबारे कुनै सहमति जुट्न सकेन । 

उनले भने, ‘आजको बैठकमा नयाँ कुरा केही भएको छ । संसदमा बजेट पारित गर्ने प्रक्रियालाई अगाडि बढाउने विषयमा छलफल भएको छ । साथै छिटोभन्दा छिटो मन्त्रिपरिषदको पूर्णता दिनुपर्छ भन्ने कुरा भयो ।’ गठबन्धनलाई राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाउनुपर्ने चुनौती देखिएको छ ।  प्रतिनिधिसभामा रहेको राजनीतिक दलसम्बन्धी अध्यादेशलाई फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने जसपा अध्यक्ष उपेन्द्र यादवले अडान लिँदै आएका छन् ।

अध्यादेशले जसपा र एकीकृत समाजवादीबाट सरकारमा सहभागी हुने कुरामा समस्या भए माओवादीबाट मात्रै भएपनि मन्त्री हुनेको नाम पठाउन प्रधानमन्त्री देउवाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव गरेका थिए । तर आजको बैठकले जसपा र एकीकृत समाजवादीलाई समेटेर मात्र थप मन्त्री नियुक्त गरिने सहमति भएको छ । 

राजनीतिक दलसम्बन्धी अध्यादेशबारे एक दुई दिनमै निकास निस्किन्छ । अनि जसपा र एकीकृत समाजवादीलाई पनि समेटेर जाने कुरा भएको छ, उनले भने । तर माओवादी केन्द्रका प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने स्थायी कमिटीमा ब्रिफिङ गरेका थिए ।  यसबारे श्रेष्ठले भने, ‘भोलि मन्त्रिपरिषद विस्तार हुने सम्भावना छैन । उहाँले त्यस्तो हुन्छ धेरै पटक भनिसक्नुभयो । त्यसलाई छोडिदिनुस् ।’ 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी थिए ।