२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँघरमा हराउन थाल्यो ढिकीजाँतो



अ+ अ-

लमजुङ । गाउँगाउँका घरैपिच्छे  रहेको ढिकीजाँतो पछिल्लो सयम लोप हुन थालेको छ । युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत कुटानीपिसानीका ती साधन लोप हुन थालेका हुन् । 

दोर्दी गाउँपालिका–४ नेवार गाउँका ७६ वर्षीय वृद्ध बुद्धिमान श्रेष्ठले आफ्नो जीवनको धेरै वर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताउनुभयो । ढिकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिनिएको मकैको भात, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोलगायतका खानेकुरा ढिकीजाँतोमा कुट्ने र पिन्ने गरेर परिवारलाई खुवाएर जीवन धान्दै आउनुभयो । उहाँलाई नै यतिबेला विगतमा ढिकी जाँतोमा सङ्घर्ष गरिएका ती दिन समय कथाजस्तै लाग्ने गरेको छ । 

उहाँका पालामा गाउँमा ढिकीजाँतो नभएको कुनै घर हुँदैन थियो । पछिल्लो सयम ती साधन हराउन थालेपछि गाउँघरका वृद्धवृद्धालाई कुनै बेलाको कथाजस्तै भएको हो । गाउँमा बिजुली बत्ती पनि आयो । साथै गाउँगाउँमा भित्रिएको आधुनिक मिलको प्रयोग हुन थाल्यो । पहिलाको जसरी जोस जाँगर पनि उमेरसँगै घटेपछि ढिकीजाँतो गर्न असम्भव हुन पुग्यो । युवापुस्ताले ढिंकीजाँतो बेवास्ता गर्न थालेपछि गाउँघरबाट लोप हुन पुगेको उहाँको भनाइ छ  । तत्कालीन समयमा उहाँ मात्र होइन उहाँजस्तै वृद्धवृद्धाले समेत बिहान भाले बास्नेसाथ ढिंकी जाँतो गर्ने गर्दथ्यो । यसरी ढिकीजाँतोमा कुटेको र पिस्दा स्वाद पनि मिठो हुने गरेको बताइन्छ ।

 त्यस्तै बेँसीशहर नगरपालिका–२ नरुवालका ९३ वर्षीया लक्ष्मी रानाले भन्नुभयो, “हाम्रा पालामा सबैले घरमा ढिकी राख्थे, मकैको बेग्लै, कोदोको बेग्लै जाँतो राख्थे, गाउँमा विकास आयो, धान कुट्ने र कोदो पिन्ने मेसिन आयो, अहिले केलाइ चाइयो र ढिकीजाँतो ।” बुहारीचेलीले ढिकीजाँतो चलाएको आवाज, झिसमिसेमा भाले बासेको आवाज, जङ्गलमा वनभाले, च्याखुरा र चराचुरुङ्गी कराएको आवाज सुन्न पाइने संझिँदै आजकल त्यस्तो मौलिकता हराइसकेको उहाँको भनाइ छ ।” ढिकीजाँतोमा कुटानीपिसानी गरिएका उतिबेलाका खानाको स्वाद अहिले पनि आफ्नो जिब्रोमा झुन्डिइरहेको  उहाँले बताउनुभयो । 

सो गाउँमा करिब ११ वर्षअघिसम्म प्रत्येक घरमा ढिकी र जाँतो थियो । विद्युतीय मेसिन आएसँगै विस्तारै विस्तारै घट्दै जाने क्रममा तीन वर्षअघिबाट गाउँमा दुई जनाको घरमा मात्रै ढिकीजाँतो रहेको स्थानीय सावित्री रानामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा धान कुट्ने मेसिन आयो, सबै खुसी बन्न थाले ।” ढिकी र जाँतोमा धान, मकै कुट्न तथा पिन्नेलाई समय लाग्ने साथै दुःखसमेत धेरै गर्नु पर्ने भएकाले गाउँलेले यस्ता परम्परागतका सामग्रीको प्रयोग गर्न छाडेको उहाँको भनाइ छ । विद्युतीय मेलमा एक मुरी धान कुट्नलाई करिब आधा घण्टा लाग्छ तर ढिकीमा बिहानभरिमा पनि धान कुटी नसकिने यहाँका स्थानीयको भनाइ छ । 

पुराना पुस्ताले काम गर्न नसक्ने हुँदा नयाँ पुस्ताले परम्परागत ढिकीजाँतोको बेवास्ता गरी छिटो छरितोको लागि समेत धान कुट्ने विद्युतीय मेसिन नयाँ पुस्ताको प्राथमिकतामा परेसँगै परम्परागत ढिकीजाँतो लोप हुन थालेको छ । त्यस्तै मस्र्याङ्दी गाउँपालिकाका गाउँमा केही वर्षअघिसम्म गाउँमा प्रत्येक घरमा ढिकी थियो । जाँतो दुई थरी हुन्थ्यो । एकथरी मकै पिन्ने र अर्को थरी कोेदो पिन्ने । बिहानै सबैको घरमा ढिकीजाँतो चलाएको आवाज सुनिन्थ्यो तर अहिले गाउँबाट लोप भएको स्थानीय मोनिका घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो गाउँमा विद्युतीय मेसिन आयो अनि ढिकीजाँतोको प्रयोग गर्न छाडे । 

ढिकीजाँतो कुटानीपिसानीका सामग्री मात्रै नभई नेपाली समाजको मौलिक संस्कृति र जनजीवनसँग सरोकार राख्ने पक्ष पनि हो । यस्ता परम्परागत मौलिक ढिकीजाँतोको संरक्षण गर्दै भावी पुस्तालाई देखाउनुपर्दछ । साथै यस जिल्ला पर्यटकीयस्थल भएकाले यस जिल्लामा आउने विदेशी तथा स्वदेशी पर्यटकको लागिसमेत ढिकीजाँतोमा कुटानीपिसानी गरेर बनाइएको मिठो स्वादिला विभिन्न परिकारले आकर्षित गर्नसकेमा पर्यटक वृद्धिमा समेत टेवा पुग्ने देखिन्छ । जिल्लाका दर्जनौँ गाउँमा सञ्चालित घरबासमा पर्यटक पुग्ने गर्दछन् । (रासस, जनक श्रेष्ठ)