१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईपीएलः ललितपुरलाई हराउँदै काठमाडौंको विजयी सुरुवात



अ+ अ-

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स-११ ले विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले विजयी सुरुवात गरेको हो।

ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

काठमाडौंको जितमा रायन ब्रुल र रहमानउल्लाह गुर्बाजले अर्धशतकीय पारी खेले ।

रायनले अविजित रहदै ७३ रन जोडे भने गुर्बाजले ५९ रनको योगदानी दिए ।

यस्तै राजु रिजाल १९ रनमा अविजित रहे । ललितपुरका पवन सर्राफले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ रोजेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो  ।

ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय पारी खेले । उनको ब्याटबाट ४४ बलमा ५ चौका र ४ छक्का प्रहार भयो ।

यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए ।

काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन ब्रुल र गुलशन झाले २/२ विकेट लिए ।

जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक आफ्नो पोल्टामा पारेको छ ।