१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलियन राष्ट्रपतिका छोरालाई कोरोना सङ्क्रमण



अ+ अ-

एजेन्सी । ब्राजिलको राष्ट्रपति जैर बोल्सोनारोका छोरालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

सांसदसमेत रहनु भएका एडुर्डो बोल्सोनारोले आफु सङ्क्रमित भएको शुक्रबार जानकारी दिनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कगएको टोली मध्ये उहाँ तेस्रो सङ्क्रमित हुनुहुन्छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् ३७ बर्षिय बोल्सोनारोले आफुलाई कुनै गाह्रो महसुस नभएको र अवस्था सामान्य नै रहेको जानकारी दिनुभएको छ । उहाँले आफैँले आफँैलाई हेरविचार गरिरहेको पनि बताउनु भएको छ ।  

यसअघि ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वेरोगालाई पनि गत मंगलबार सङ्क्रमण पुष्टि भएको थियो । न्युयोर्कमै रहेका बेला उहाँलाई सङ्क्रमण पुष्टि भएकाले उहाँ अहिले न्युयोर्कस्थीत एक होटलमा एकान्तवासमा बस्नु भएको छ । 

त्यस बाहेक अर्का एक जना कुटनीतिज्ञ पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीले जानकारी दिएका छन् । 

अहिलेसम्म राष्ट्रपति बोल्सोनारो भने जोगिन सफल हुनुभएको जनाइएको छ । मास्क र खोपको विरोधीसमेत रहनु भएका बोल्सोनारोले महासभामा सहभागी भएका बेला पनि मास्क प्रयोग गर्नु भएको थिएन भने खोप पनि लगाउनु भएको थिएन । 

महासभाको बेलाका उहाँका फोटोमा पनि उहाँले मास्क नलगाउनु भएको देखिएको समाचारमा जनाइएको छ । 

महासभामा उहाँले कोरोनाभाइरस, यसको महामारी, मास्क, खोप, यसको व्यवस्थापनलगायतका विषयमा अरु नेताको भन्दा फरक धारणा राख्नु भएको थियो । 

उहाँले कोरोनाभाइरसलाई सामान्य ज्वरोका रुपमा व्याख्या गर्नु भएको थियो भने मास्क र खोपको आवश्यकता नरहेको जिकिर गर्नु भएको थियो । 
    
राष्ट्रपति बोल्सोनारोले खोप लगाउने ब्राजिलका जनतामध्ये आफु सबैभन्दा अन्तिम हुने जानकारी पनि महासभामा दिनुभएको थियो ।

उहाँकी श्रीमती मिचेलले भने महासभामा सहभागी हुन न्युयोर्क जानका लागि खोप लगाउनु भएको छ ।

“खोप लगाउने वा नलगाउने कुरा व्यक्तिगत छनौटको कुरा हो, उदाहरणका लागि मेरी श्रीमतीले महासभाका लागि अमेरिका आएको बेला खोप लगाउनुभयो, तर मैले भने लगाएको छैन,” राष्ट्रपति बोल्सोनारोले भन्नुभयो । 

कोरोनाभाइरसका कारण ब्राजिलमा अहिलेसम्म झण्डै छ लाखको मृत्यु भइसकेको छ भने दुई करोड १३ लाख २७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । 

कोरोनाभाइरसबाट धेरै प्रभावित देशको सूचीमा ब्राजिल तेस्रो क्रममा रहेको छ । ब्राजिलमाभन्दा धेरै क्रमशः अमेरिका र भारतमा पहिलो र दोस्रो क्रममा रहेका छन् ।