१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी मुख्यमन्त्री पोखरेल र युएनडिपी आवासीय प्रतिनिधि लाबे बीच भेटवार्ता



अ+ अ-

पोखरा । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) ले गण्डकी प्रदेशको गरिबी निवारणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबार भएको भेटमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले उक्त प्रतिबद्धता जनाउनु भएको हो । 

गण्डकी प्रदेशका २ लाख नागरिक गरिबीको रेखामुनि रहेको र सन् २०३० सम्म त्यो रेखाबाट माथि उकास्न युनिडिपीले सघाउने आवासीय प्रतिनिधि आसायनीले बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘२ लाख नागरिक गरिब रहेको तथ्यांक छ, उनीहरुलाई दैनिक कम्तीमा २ सय रुपैयाँ आम्दानी गर्ने बनाउनुपर्ने छ, यसका लागि हामी सहयोग गर्छौं ।’ मानव विकास सूचकांकमा गण्डकीको अवस्था राम्रो भएको भन्दै उहाँले यहाँका असल अभ्यासलाई लुम्बिनी र कर्णालीमा लागु गर्नुपर्ने भनाइ राख्नुभयो ।  

मुख्यमन्त्री पोखरेलले युएनडिपीले गण्डकीमा भौतिक उपस्थिति नै जनाएर काम गर्दा अझ सहज हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेशमा सम्भव भए रिजनल अफिस नभए फिल्ड अफिस स्थापना हुनेछ भन्नेमा म विश्वस्त छु । आवश्यक निर्णयका लागि डिआरआरसँग अनुरोध गर्दछु ।’ 

मुख्यमन्त्री पोखरेलले युनएनडिपीले गण्डकी प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि जुन परियोजनामा सहकार्य गर्न इच्छा देखाएकोमा त्यसलाई छिट्टै पूर्णता दिने विश्वास दिलाउनु भयो । उहाँले भन्नुभयो, ‘नव प्रवर्र्तनका क्षेत्रमा, साना तथा मझौला उद्योगको विकासमा, कृषिको आधुनिकीकरण गर्नमा युएनडिपीले सहयोग गरिदियोस् भन्ने हाम्रो चाहाना छ ।’ 

मुख्यमन्त्री पोखरेलले उद्यमशीलता प्रवद्र्धन, कृषिको बजारीकरण, डिजिटल प्रविधिको प्रयोगमा युएनडिपीले भविष्यमा महत्वपूर्ण सहयोग गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । युएनडिपीको सहयोगमा वालिङ नगरपालिकामा सञ्चालित उद्यम विकास लगायतका कार्यक्रम प्रभावकारी भएकाले त्यस्ता असल अभ्यासलाई सबै पालिकामा लैजाने सन्दर्भमा प्रदेश सरकार यहाँहरुसँग सहकार्य गर्न इच्छुक रहेको मुख्यमन्त्री पोखरेलको बताउनुभयो । 

दीगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन र स्थानीयकरणमा युएनडिपीको सहयोग बढाउन आवश्यक देखेको भन्दै उहाँले यसमा सहयोग प्राप्त हुने अपेक्षा मुख्यमन्त्रीले व्यक्त गर्नुभयो । दीगो विकास लक्ष्यको स्थानीयकरण, एकीकृत तथ्यांक विकास तथा अनुगमन प्रणाली तयार पार्न र अत्यावश्यक क्षेत्रमा स्थानीय तहलाई सहयोग गर्न साझेदारहरुको समन्वय युएनडिपीले गरिदेओस् भन्ने चाहना रहेको उहाँले बताउनुभयो ।  

आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले गण्डकी प्रदेशले लगानी सम्मेलन गर्न लागेकामा खुसी व्यक्त गर्दै यसका लागि पनि आफूहरु सघाउन तयार रहेको बताउनुभयो । नेपाल आउनु अघि मोरक्कोमा रहेर काम गरेकी आसायनीले नर्थ अफ्रिकाका मुलकबाट समेत नेपालले सिक्नुपर्ने बताउनुभयो । मोरक्को, इजिप्ट र अल्जेरियाका असल अभ्यासलाई अनुसरण गर्दै दीगो विकासका लक्ष्य प्राप्तिमा नेपाल र प्रदेश सरकार अगाडि बढ्न उहाँले सुझाव समेत दिनुभयो । 

पर्यटन प्रबद्र्धन, नवप्रवर्तन, फोहोर व्यवस्थापन, संसद सहयोग कार्यक्रम, निर्वाचन सहायता परियोजनामा युनिडिपीले सघाउँदै आएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनमा सहयोग गरेको भन्दै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) आवासीय प्रतिनिधि आसायनीले पर्यटन क्षेत्रमा थप ५ हजार रोजगारी सिर्जना गर्ने, पोर्टर र गाइडलाई कम्तीमा ६५ सय घन्टा काम दिलाउन लक्ष्य रहेको बताउनुभयो । 

मुख्यमन्त्रीसँगको कार्यक्रममा गण्डकीका प्रमुख सचिव डा. दामोदर रेग्मी, योजना आयोगका उपाध्यक्ष डा. काफ्ले, युएनडिपीको रिजनल अफिस बुटवलका प्रमुख सुदीप अर्यालको सहभागी थियो ।