२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्

फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
अ अ+ अ-

म्याग्दी। नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ । कतै घर लिपपोत गरेर चिटिक्क पारिँदैछ त कतै दसैँका लागि भेडाच्याङ्ग्राको जोहो गरिँदैछ ।

चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा चहलपहल बढेको छ तर म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बासिन्दालाई यस वर्ष दसैँको रौनकले छोएको छैन ।

यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले घरबास बगाएपछि उनीहरूको दसैँ खल्लो बनेको छ । जिन्दगीभरको कमाइ र मेहनतले बनाएको घर गुमाएका उनीहरूलाई चाडपर्वको खुसीभन्दा घरबारविहीन हुँदाको पीडाले बढी सताएको छ ।

बेनी नगरपालिका–१ बेलबोटकी देवी थापाले फर्सेमा गाईभैँसी पालेर दुई दशक बिताउनुभयो । बाढीले घर बगाएपछि अहिले उहाँ माइतीको आश्रयमा हुनुहुन्छ । घर गुमाउँदाको पीडाले यस वर्ष दसैँ मनाउने जाँगर नचलेको उहाँले बताउनुभयो ।

“जिन्दगीभरको कमाइ र मेहनतले जोडेको घर बाढीले बगायो । अहिले माइतीमा आश्रय लिएर बसेका छौँ,” उहाँले भन्नुभयो, “घर गुमेको पीडाले चाडपर्व मनाउने मनस्थिति छैन । यसपालि जमरा पनि राखेकी छैन ।” ६६ वर्षीय तीर्थबहादुर केसीको पीडा पनि उस्तै छ । बाढीले घर बगाएपछि उहाँ छ जनाको परिवारसहित छिमेकीको घरमा डेरा लिएर बस्नुभएको छ ।

“घरगोठ र सम्पत्ति सबै गुमायौँ । अहिले छिमेकीको घरमा बसेका छौँ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा दसैँ मनाउने अवस्था नै छैन ।” कालीगण्डकी नदीको बाढीले बस्तीलाई बगरमा परिणत गरेपछि फर्सेका करिब एक सय परिवारको अवस्था यस्तै छ । जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिविकास जिसीका अनुसार बाढीले फर्सेका ७५ घर पूर्ण रूपमा क्षति भएका छन् भने २७ घर जोखिममा छन् ।

बाढीका कारण विस्थापित भएका ७५ परिवारका १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन् । घरबारविहीन भएका परिवारमध्ये अन्यत्र घर नभएका र आफन्तकहाँ आश्रय लिन नसक्नेहरूलाई सुरक्षा निकायको सहयोगमा अस्थायी शिविरमा राखिएको छ । “बाढीपीडित सर्वसाधारण मात्र होइन, प्रभावितको व्यवस्थापनमा खटिएका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई पनि दसैँको रौनकले छोएको छैन,” वडाध्यक्ष जिसीले भन्नुभयो, “पूर्वसूचना र सतर्कताका कारण मानवीय क्षति हुन पाएन । कालीगण्डकीको बाढीबाट फर्से सबैभन्दा बढी प्रभावित बस्ती बनेको छ ।”

रातको समयमा बाढी आएपछि ज्यान जोगाउन भागेका धेरै बासिन्दाले शरीरमा लगाएको कपडा र हातमा भएको मोबाइलबाहेक केही निकाल्न पाएनन् । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर, नगद र महत्वपूर्ण कागजात बाढीमै बगे । “शरीरमा भएको कपडा मात्रै लगाएर झरीमा भिज्दै राति दुई बजे सडकमा निस्कियौँ,” स्थानीय डल्ली दमाईले भन्नुभयो, “घरमा अन्न, लत्ताकपडा, फर्निचर, भाँडाकुँडा, नगद र महत्त्वपूर्ण कागजात थिए । तर, हामीसँग ज्यान जोगाउने समय मात्रै थियो ।”

हाल विस्थापित परिवार दिनमा एकपटक बाढीले बगाएको घर भएको ठाउँमा पुग्छन् । भग्नावशेष हेर्छन् । पुराना दिन सम्झन्छन् । अनि भारी मन लिएर फर्किन्छन् । कृष्ण दमाई, राजेन्द्र श्रेष्ठ, सूर्य थापा, धनकुमारी अधिकारी र टीकाराम क्षेत्रीको अवस्था पनि उस्तै छ । उहाँहरूले पनि शरीरमा लगाएको कपडाबाहेक घरबाट केही निकाल्न पाउनुभएन । “आफ्नै घर भएको ठाउँमा कालीगण्डकी बगेको देख्दा मन भारी हुन्छ,” उहाँहरूले भन्नुभयो, “डुबानमा परेका घरको हिलो पन्छाउँदा पुरिएका सामान भेटिन्छन् कि भन्ने आशा अझै छ ।”

बाढीले फर्से र बागलुङको ढोडेनी जोड्ने करिब एक सय वर्ष पुरानो झोलुङ्गे पुल बगाएको छ । इतिहास र स्थानीय जनजीवनसँग जोडिएको उक्त पुल अब सम्झनामा मात्रै सीमित भएको छ । बाढीबाट नभत्किएका घरभित्र पनि पानी र हिलो पसेकाले बस्न नसकिने अवस्था छ । बचेका घर जोखिममा छन् ।

पञ्चायतकालमा फर्से व्यापारिक केन्द्रका रूपमा परिचित थियो । बागलुङ, मुस्ताङ र म्याग्दी ओहोरदोहोर गर्ने यात्रुका लागि यो महत्वपूर्ण ठाउँ थियो । सडक विस्तारसँगै फर्सेको पुरानो व्यापारिक स्वरूप बदलियो । स्थानीय बासिन्दा कृषि तथा पशुपालन व्यवसायमा लागे । बेनी, कुश्मा र बागलुङ बजार नजिकै भएकाले यहाँका बासिन्दाले दूध र तरकारी उत्पादनलाई आम्दानीको मुख्य स्रोत बनाएका थिए ।

बाढीले घरगोठ र पशुपालनका संरचना बगाएपछि किसानको जीविकोपार्जन सङ्कटमा परेको छ । सरकारी निकायबाट सहयोग पाएमा पुनः पशुपालन व्यवसाय सुरु गर्न सकिने आशा सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाका सचिव खड्ग केसीले व्यक्त गर्नुभयो ।

कृषक रुपा सापकोटाले गोठमा बिछ्याउने काउम्याट उपलब्ध भए गाईभैँसीलाई चिसोबाट जोगाउन सकिने बताउनुभयो । उहाँले बाढी प्रभावित किसानका लागि तत्काल पशुआहारा र दानाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

पुनःस्थापनाको पर्खाइमा प्रभावित बस्ती

पछिल्लो मनसुनजन्य विपद्बाट जलजला गाउँपालिका–८ स्थित फर्सेसँगै वडा नं ७ का ताङवाङ र खानीगाउँ प्रभावित भएका छन् । वडा नम्बर ४ को लामाखेतमा कालीगण्डकीको बाढी पसेर क्षति पुगेको छ । पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो । “पहिरोले बस्ती घेरिएको छ । पाखो चिराचिरा परेको छ भने घरका पर्खाल सुरक्षित छैनन्,” उहाँले भन्नुभयो, “त्यसैले खानीगाउँ र ताङवाङका बासिन्दा सुरक्षित ठाउँमा आएर अस्थायी टहरा बनाएर बसेका छन् । प्रभावित बस्तीको स्थलगत निरीक्षण गरी आधारभूत राहत सामग्रीको व्यवस्था र अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाएका छौँ ।”

जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेका अनुसार गाउँपालिकाभर बाढीपहिरोबाट १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षति भएका छन् । थप एक ४० घर जोखिममा छन् । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बाढीपहिरो प्रभावितको पुनर्वास र पुनर्निर्माणका लागि अल्पकालीन तथा दीर्घकालीन योजना बनाइएको बताउनुभयो । “तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा बनाई बसोबासको व्यवस्था मिलाउने योजना छ,” उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्नेछौँ ।”

उहाँका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवन पुनर्निर्माण तथा जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्नेछ ।

बाढीपहिरो नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सङ्घीय तथा प्रदेश सरकार र दातृ निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

दसैँमा घर फर्किने, परिवारसँग बसेर मीठोमसिनो खाने र खुसी साटासाट गर्ने फर्सेबासीको चाहना यस वर्ष बाढीले खोसेको छ । घरबार गुमाएका उनीहरूका लागि अहिले चाडपर्वको उल्लासभन्दा सुरक्षित बास र गुमेको जीवनयापन पुनः कसरी सुरु होला भन्ने चिन्ताले सताएको छ । रासस