एजेन्सी । आईपीएलको ३८ औं खेलमा, पञ्जाब किंग्सले चेन्नई सुपर किंग्स विरुद्ध ११ रनले शानदार जित दर्ता गरेको छ ।
मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा पञ्जाबले १८७ रनको सफलताको रक्षा गर्दै चेन्नईलाई १७६ रनको स्कोरमा सीमित गरेको हो ।
यो सिजन पञ्जाबसँग चेन्नईको यो लगातार दोस्रो हार हो । मयंक अग्रवालको नेतृत्वमा रहेको पञ्जाब यो जितसँगै अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
पञ्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नईको सुरुवात राम्रो रहेन । उसले ४० रनमा शीर्ष तीन विकेट गुमायो । रोबिन उथप्पा, मिचेल सान्टनर र शिवम दुबे सबै सस्तोमा पेभिलियन फर्किए । त्यसपछि अम्बाती रायुडुले ऋतुराज गायकवाडसँग मिलेर इनिङ्सलाई सम्हाले र चौथो विकेटका लागि ५९ रनको साझेदारी गरे । तर, गायकवाडले २७ बलमा ३० रन बनाएर आउट भए । अर्कोतर्फ रायुडुले सानदार रन बनाएर आफ्नो अर्धशतक पुरा गरे ।
यस क्रममा रायुडूले १७ औं ओभरमा सन्दीप शर्माको ओभरमा लगातार तीन छक्का प्रहार गर्दै २३ रन बनाएर चेन्नईलाई खेलमा फर्काएका थिए । तर यसपछि अर्शदीप सिंह र कागिसो रबाडाले सटीक बलिङ गर्दै चेन्नईको रनलाई नियन्त्रणमा राखे र रायडुलाई पनि आउट गरे । चेन्नईलाई अन्तिम ६ बलमा २७ रन चाहिएको थियो तर १५ रन मात्रै बनाउन सक्यो । चेन्नईका लागि रायुडुले सर्वाधिक ७८ रन बनाए । पञ्जाबका लागि रबाडा र ऋषि धवनले समान २–२ विकेट लिए ।
चेन्नई सुपर किंग्सका कप्तान रविन्द्र जडेजाले टस जितेर पन्जाबलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । तर, पञ्जाबको सुरुवात खास भएन र छैठौं ओभरमा कप्तान मयांक अग्रवाल १८ रन बनाएर पेभिलियन फर्किए । त्यसपछि शिखर धवनले भानुका राजपाक्षेसँग दोस्रो विकेटका लागि ११० रनको साझेदारी गरे । धवनले यस अवधिमा आफ्नो ४६औं अर्धशतक पूरा गर्नुका साथै आफ्नो २०० औं आईपीएल खेलमा ६००० रन पनि पूरा गरे ।
राजापाक्षेले आफ्नो अर्धशतक पूरा गर्न नसके पनि महत्वपूर्ण इनिङ खेले र ३२ बलमा ४२ रन बनाएर आउट भए । १८औं ओभरमा उनी ब्राभोको बलमा क्याच भएर पेभिलियन फर्किए ।
यस्तै, धवनले लियाम लिभिङस्टोनसँग मिलेर द्रुत गतिमा रन बनाए । दुबैले अन्तिम दुई ओभरमा ३५ रन जोडेर टोलीको स्कोर १८७ मा पुर्याएका थिए । धवनले ५९ बलमा ८८ रन बनाएर अविजित रहे । जहाँ लिभिङस्टोनले तीव्र गतिको इनिङ्स खेल्दै सात बलमा १९ रन बनाए । चेन्नईका लागि ड्वेन ब्राभोले सर्वाधिक दुई विकेट लिए ।