• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

स्थानीय तह निर्वाचन: बिभिन्न दलका ४० उम्मेदवार निर्विरोध



काठमाडौँ I स्थानीय तह निर्वाचनका अन्तरगत बिभिन्न दलका ४० उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरू निर्विरोध भए पनि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र घोषणा हुनेछ । निर्बाचन आयोगको कार्यतालीका अनुसार उम्मेदवारी फिर्ताको समय सकिएपछि मात्र उनीहरु निर्विरोध भएको घोषणा हुनेछ ।

मुस्ताङमा १८, गोरखामा ७, डोल्पामा ५, ताप्लेजुङमा ५ र मनाङमा ५ जनाको एकल उम्मेदवारी परेको छ । डोल्पाको छार्का ताङसाङ गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका सेनाङ गुरुङ र उपाध्यक्षमा एमालेका कार्मा सिन्दुल गुरुङको मात्र उम्मेदवारी परेको छ  ।

यसैगरी डोल्पा कै काइके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगत राना र उपाध्यक्षमा कांग्रेसका लिमी रोका तथा शेफोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमालेका धावा छन्दुक गुरुङको एकल उम्मेदवारी परेको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा वडाध्यक्षमा छेतेन लामा शेर्पा वडा सदस्यमा टाँसी शेर्पा र वाङया शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्बाहाम्फे विश्वकर्माको मात्र उम्मेदवारी परेको छ ।

यसैगरी मनाङको मनाङ ङिस्याङ गाउँपालिका–३ को वडाध्यक्षमा कृष्ण लामा (स्वतन्त्र) वडाध्यक्षमा एकल उम्मेदवारी दर्ता भएको छ । त्यस्तै मनाङकै ङिस्याङ गाउँपालिका–९ को वडाध्यक्षमा च्योल्पा गुरुङ र ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङको एकल उम्मेदवारी परेको छ । त्यस्तै मनाङकै चामे गाउँपालिका–१ मा एमालेका खड्कजंग गुरुङ र २ मा कांग्रेसका मंगलदेव गुरुङको पनि वडाध्यक्षमै एकल उम्मेदवारी परेको छ ।

यसैगरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्चेतको वडाध्यक्षसहितका चार पद र वडा १ सामागाउँको ३ सदस्य पदमा एकल उम्मेदवारी परेको छ । वडा ६ को अध्यक्षमा माओवादीका २८ वर्षीय सरोज लामाको एकल उम्मेदवारी परेको छ ।
चुमनुव्री–१ सामागाउँबाट पासाङ लामा, डोल्मा लामा र कर्मा सन्दुकको वडा सदस्यमा एकल उम्मेदवारी परेको छ ।

यस्तै मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको तीन वडामा पनि एकल उम्मेदवारी परेको छ । वडा १ मा वडाध्यक्ष पदमा एमालेका टसीढिन्डु ठकुरीको एकल उम्मेदवारी परेको छ । यो वडामा सदस्य पदमा एमालेकै एक र कांग्रेसका २ सदस्यको पनि एकल उम्मेदवारी परेको छ । वडा ३ मा वडाध्यक्षमा एमालेकै झियानतिजिन गुरुङको एकल उम्मेदवारी परेको छ ।

यो वडामा सदस्य पदमा एमालेका ३ र कांग्रेसका एक सदस्यको पनि एकल उम्मेदवारी परेको छ । त्यस्तै वडा ४ मा वडाध्यक्षमा एमालेका झियानछुसाङ गुरुङको एकल उम्मेदवारी परेको छ । त्यस्तै ४ जना वडा सदस्यका लागि पनि एकल उम्मेदवारी परेको छ । २ नम्बर वडामा पनि एमालेको तीन र कांग्रेसका एक सदस्यको एकल उम्मेदवारी परेको छ ।