४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्थानीय तह निर्वाचनः राजनीतिक दललाई उम्मेदवार छान्न सकस

स्थानीय तह निर्वाचनः राजनीतिक दललाई उम्मेदवार छान्न सकस
अ+ अ-

काठमाडौं । दश स्थानीय तह रहेको खोटाङमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा छवटामा नेपाली काँग्रेससहित चार दल र चारवटामा काँग्रेसबाहेक तीन दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल भएको हो ।

सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरूबीच चुनावी तालमेल भएपनि उम्मेदवार छनोटमा भने सकस देखिएको छ । राजनीतिक दलहरूबीच गठबन्धन भएको ठाउँमा जित सुनिश्चित हुने अनुमानसहित आकाङ्क्षी धेरै हुँदा सत्ता गठबन्धनका नेताहरूले उम्मेदवारको नाम टुङ्ग्याउन नसकेको हो ।

जिल्लाको सबैभन्दा ठूलो तथा सबैको ध्यान केन्द्रित हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख नेपाली काँग्रेसको भागमा परेको छ । काँग्रेसमा नगरप्रमुखका लागि आठजना आकाङ्क्षीको नाम प्रदेशमा सिफारिस भएको छ ।

सहमतिमा एकजनाको मात्र नाम पठाउने प्रयासस्वरुप तीन दिनसम्म भएको छलफल नटुङ्गिएपछि गए राति कुमार पुरी, नारायण राई ‘निशान’, राजनशेर राई, रोजन राई, श्यामकुमार राई, भिषण राई र रामकुमारी राईको नाम सिफारिस गरिएको काँग्रेस नगर कार्यसमितिले विज्ञप्तिमार्फत जनाएको छ । यसअघि नगर कार्य समितिको सोमबार बसेको बैठकले नगर प्रमुखको लागि जिल्ला सचिव तीर्थराज भट्टराईको नाम सर्वसहमतले सिफारिस गरेको थियो ।

भागबण्डामा नगर उपप्रमुख पाएको नेकपा (माओवादी केन्द्र)ले समेत अहिलेसम्म आफ्नो उम्मेदवारको नाम टुङ्ग्याएको छैन । नगर उपप्रमुखका लागि माओवादी केन्द्रमा विसन राई, विकास राई र विनोद आचार्यको नाम चर्चामा छ ।

सत्ता गठबन्धनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मात्र नभई जिल्लाका अन्य स्थानीय तहमासमेत उम्मेदवार टुङ्गो लाग्न सकेको छैन । नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुखको टुङ्गो नलागेपछि वडाध्यक्ष र सदस्यको विषयमा छलफल नै हुन बाँकी रहेको नेताहरूले बताएका छन् ।

विसं २०७४ सालमा भएको निर्वाचनमा सबैभन्दा बढी पाँचवटा स्थानीय तहमा जित हात पारेको एमालेले पनि यस नगरमा उम्मेदवार छनोट गर्न सकेको छैन । उसले सत्ता गठबन्धनले उम्मेदवार छनोट गरेपछिमात्र आफ्नो उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको समाचार स्रोतले जनाएको छ ।

जिल्लाका दशवटै स्थानीय तहको प्रमुख र उपप्रमुखमा अहिलेसम्म सर्वसहमत नभएको एमाले जिल्ला सचिव कुमार आचार्यले बताउनुभयो । “जिल्लामा उम्मेदवार टुङ्ग्याउन नसकेपछि प्रदेशमा सिफारिस गरिएको छ”, उहाँले भन्नुभयो, “दश स्थानीय तहको ७९ वडामध्ये ६१ वडाका लागि वडाध्यक्षको उम्मेदवार सर्वसहत भएको छ भने बाँकी १८ वडामा छलफल भइरहेको छ ।”

उता, जिल्लाको सबैभन्दा थोरै जनमत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०मा समेत उम्मेदवार छनोट सर्वसहमत हुन सकेको छैन । राप्रपाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखका लागि जीवनकुमार श्रेष्ठ, ललितकुमार राई र विनोद बस्नेत तथा उपप्रमुखमा चन्द्रकुमारी राई ‘तारा’, टीकाकुमारी खत्री र भरुमायाँ विश्वकर्माको नाम सिफारिस गरेको छ ।

राजनीतिक दलले उम्मेदवारको नाम टुङ्ग्याउन नसक्दा मतदातामा भने अन्योल सिर्जना भएको छ । स्थानीय तहको निर्वाचनमा मतदाताले उम्मेदवारको व्यक्तिगत प्रभाव, चुनावी घोषणापत्र र राजनीतिक आवस्थाको आधारमा मतदान गर्छन् ।

उम्मेदवार छनोटमा सबैभन्दा बढी कठिन सत्ता गठबन्धनमा देखिएको छ । नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुखमा साझा उम्मेदवार भए पनि अधिकांश वडामा प्रतिस्पर्धा हुने नेताहरूले बताएका छन् ।

सबै वडामा तालमेल नभएको खण्डमा गठबन्धनलाई घाटा हुने देखिएको छ । तालमेल भएका पालिकाको वडास्तरसम्म नै दलहरूबीच तालमेल गर्नेगरी छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष दीपक पाण्डे ‘आकाश’ले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनलाई सफल बनाउन जिल्लाका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ । दिक्तेल बजारस्थित जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा नौँवटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्लामा हुने निर्वाचन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थललाई केन्द्रित गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो । एक सय ३६ मतदानस्थल र १९४ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्लामा ३५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ४३ वटा मतदान केन्द्र सामान्यमा राखिएको छ ।

आगामी निर्वाचनमा जिल्लाका दशवटै स्थानीय तहकागरी एक लाख ४३ हजार ७५२ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । महिला ६८ हजार ७४६ र पुरुष ७५ हजार ६०० जना मतदाताले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।