२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौरीपालन व्यवसाय : महमा भन्दा घारमा नाफा



अ+ अ-

गलकोट । बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राख्नुभएको छ । खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पाल्नुभएको छ ।

म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा ११ वर्षअघिदेखि सुन्तला खेती गर्दै आउनुभएका खत्रीले विसं २०७२ बाट मौरीपालन गर्न थाल्नुभएको छ । सन् २००२ मा इलेक्ट्रोनिक्स कामका लागि दुबई जानुभएका खत्री दुई वर्षमै नेपाल आउनुभयो । पुनः मलेसिया जानुभएका खत्री सन् २००९ मा मलेसियाबाट फर्कनुभयो । मलेसियाबाट फर्केपछि खत्रीको आफ्नै घरको पाखो बारीमा सुन्तला खेती गर्ने सोच पलायो । वैदेशिक रोजगारीमा राम्रो नभएपछि खत्री सुन्तला र पछि मौरीपालनमा आकर्षित भएको बताउनुहुन्छ । उहाँको १० रोपनी जग्गामा रहेका २०० सुन्तलाका बोटले आम्दानी दिइराखेका छन् ।

उहाँले यस वर्षमात्रै रु छ लाख सुन्तला बेचेरै भित्र्याउनुभएको थियो । सुन्तलामा मनग्य आम्दानी देख्नुभएका उहाँले घर नजिकैको १० रोपनी बाँझो जग्गा भाडामा लिएर अहिले २०० सुन्तलाका नयाँ बिरुवा लगाउनुभएको छ । खत्रीको घर बागलुङ नगरपालिका–४ रमेटारमा समेत छ । रमेटारमा मौरी र सुर्केमेलामा सुन्तला खेती विस्तारमा उहाँको ध्यान छ ।

स्थानीय सेरेना जातको मौरीपालन गर्दै आउनुभएका खत्रीले दुई वर्षदेखि मौरीपालनको क्षेत्र बागलुङलाई रोज्नुभएको छ । उहाँले मौरीको महभन्दा मौरीसँगैको घार बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । खत्रीले गत वर्षमात्रै ११० मौरीसहितको घार बिक्री गरेर रु १० लाख ४५ हजार आम्दानी गरेको र एक क्विन्टल मह बिक्रीबाट रु एक लाख १३ हजार आम्दानी गरेको बताउनुभयो ।

“हाम्रो आम्दानी वार्षिक हुन्छ, यही वर्ष सुन्तला, मौरीको घार र मह बिक्री गरेर रु १७ लाखभन्दा बढी आम्दानी गरेको रहेछु”, खत्रीले भन्नुभयो, “मेरो लगानी रु २० लाख पुग्यो, २०० सुन्तलाका बिरुवाले उत्पादन दिनै बाँकी छ, नयाँ सोचका साथ कृषिमा आएको थिएँ, राम्रो आम्दानी भएको छ, म्याग्दीमा सुन्तलाका लागि राम्रो मानियो भने बागलुङको रमेटारमा मौरीपालन ।”

खत्रीले कृषि ज्ञान केन्द्र बागलुङ र म्याग्दीले किसानलाई दिने मौरीसहितको घार अनुदानका लागि दिन आफ्नै केसी मौरीपालन स्रोत केन्द्रबाट लैजाने गरेको बताउनुभयो । “महभन्दा मौरीसहितको घार बिक्रीमा फाइदा छ, मौरीसहितका घारलाई रु नौ हजार ५०० पर्छ, खाली घारलाई रु तीन हजार ५०० पर्छ । मह केजीको रु एक हजार ३०० पर्छ”, खत्रीले भन्नुभयो, “मैले आफैँ घार निर्माण गरेर मौरी व्यवस्थापन गर्दै आएको छु, मौरीसहितका घार र सुन्तला बिक्री नै मेरो मुख्य लक्ष्य हो ।”

खत्रीले १० रोपनी बाँझो पल्टिएको जग्गालाई १५ वर्षका लागि वार्षिक रु २० हजारका दरले भाडा तिरेर सुन्तला खेती गर्दै आउनुभएको छ । मौरीको चरनका लागि तोरीखेती हुने क्षेत्र उपयुक्त हुने भएकाले रमेटारमा मौरीपालन व्यवसाय फष्टाएको उहाँको भनाइ छ । मौरीपालन र सुन्तला खेतीमा श्रीमती खिरादेवी खत्रीले सघाउँदै आउनुभएको छ । श्रीमती रमेटार मौरी व्यवस्थापनमा हुँदा डिलबहादुर सुर्केमेलामा सुन्तला व्यवस्थापन गर्ने कार्यमा जुट्नुहुन्छ । सुन्तलाको फूल र तोरीको फूलका कारण मौरीपालन राम्रो हुँदै आएको छ । रमेटारमा भने उहाँले अर्कैको खेतमा मौरी व्यवस्थापन गर्दै आउनुभएको छ । घारलाई सजिलै स्थानान्तरण गर्न मिल्ने भएकाले चरनका लागि यताउता लैजान मिल्ने उहाँको भनाइ छ । (रासस)