७ मंसिर २०८१, शुक्रबार
,
Latest
सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छः कृषिमन्त्री अधिकारी हिमालय एयरलाइन्सबाट ट्राभल एजेन्टहरू न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन आईपीएल मार्च १४ देखि, फाइनल २५ मेमा हुने ! ‘निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु’ रश्मिका मन्दानाको इन्गेजमेन्टको पुरानो भिडियो भाइरल प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान कम्बोडिया भ्रमणमा जानुअघि सभामुखले भेटे राष्ट्रपतिलाई ‘बलिदान’ अन्तिम छायाङ्कन तालिकामा, रिलिज मितिबारे के भन्छन् निर्देशक सन्तोष सेन ? निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल पर्थ टेस्टको पहिलो दिनः भारतले बनायो १५० रन, अष्ट्रेलिया ८३ रनले पछाडि
तपाईं के खोज्दै हुनुहुन्छ ?

समस्यासँग जुध्नसक्ने सिपमूलक शिक्षा आजको आवश्यकता



अ+ अ-

औद्योगिक र व्यवहारिक शिक्षा अहिलेको विश्वको आवश्यकता हो । यतिखेर मलाई लाग्छ जागिर खोज्ने मानिस बजारभरि छन् उता औद्योगिक प्रतिष्ठनहरुले भने खोजेको जनशक्ति पाएको छैन । अब यो ग्यापलाई जोड्न सक्ने शिक्षा हामीलाई चाहिएको छ । त्यसैले पश्चिमाहरुले विद्यालय, विश्वविद्यालयको क्लास रुमलाई कार्यस्थलसम्म जोड्नसक्ने शिक्षाको प्रारुप बनाउर लागू गरेका छन् ।

त्यस्तै भारतमै पनि बिरला इन्स्टीच्युट जस्ता संस्था छन् जसले विश्वविद्यालय शिक्षा पूरा गरेको जनशक्तिलाई एक किसीमको ब्रीज कोर्ष जस्तो दिन्छ र औद्योगिक प्रतिष्ठानहरुमा काम गर्नसक्ने गरी तयार गर्छ र काममा पठाउँछ ।

यसरी कसलाई केकस्तो जनशक्ति चाहिन्छ भनेर ब्रिज कोर्ष शिक्षा दिने एउटा कुरा हो यो भन्दा पनि क्लास रुमलाई नै व्यवहारिक शिक्षा मैत्री बनाउन सकिएमा राम्रो हुनेछ । व्यवहारिक शिक्षाले मानिसलाई पनि व्यवहारिक बन्न सिकाउँछ र यस्तो व्यक्तिका कारण समाज पनि व्यवहारिक बन्न सघाउ पुग्दछ ।

विद्या सबैभन्दा उच्च धन हो । ‘विद्या धनं सर्वधनं प्रधानं’ भनिएको छ । त्यसैले सबैभन्दा प्रधान यो धनलाई हामीले जीवन उपयोगी र मानव जीवनमा सार्थक बनाउन सक्नुपर्छ । त्यसका लागि पुस्तकमा पढेका सैद्धान्तिक ज्ञानलाई आ–आफ्ना कार्य स्थलसम्म उतार्न सक्ने शिक्षा हुनु जरुरी छ ।

हाम्रो समाजमा एउटा भनाई छ– कि पढेर जानिन्छ कि परेर । परेर जान्नु भनेको मानिसले भोग्नु र पुस्तकमा पढेका सैद्धान्तिक विषयलाई व्यवहारमा उतार्न सक्नु हो । हो, अहिले हामीलाई यस्तै शिक्षा चाहिएको छ । पुस्तकको ज्ञानलाई आफ्ना कर्मथलोमा प्रयोग र उपयोगमा ल्याउन सक्ने खालको शिक्षा हामीलाई चाहिएको छ ।

केही दशक यतादेखि पश्चिमाहरुले क्लास रुमलाई आफ्ना कार्यस्थलसम्म जोड्न सक्ने खालका अभ्यासहरु गराइरहेका छन् । ती अभ्यास पनि कक्षा कोठामै गराउने गर्छन् । जसका कारण त्यो जनशक्ति हातमा सर्टिफिकेट बोकेर कार्यस्थलसम्म जान सक्दछ ।

हुनत यसो भन्नु उपयुक्त हुन्छ या हुँदैन, हाम्रो समाजले पनि हाम्रो ग्राउन्ड रियालिटीलाई मनन गर्न नसक्दा अहिले देशको जनशक्ति विदेशिनुपरेको छ भन्ने मेरो अनुभव छ । जस्तो कि हिजो समाजले किसानलाई तल्लो स्तरको बर्गमा राखिदियो र शिक्षक या आधुनिक शिक्षालाई माथिल्लो ।

हाम्रो पाका पुस्ताले भन्ने गर्दथ्यो– पढ्दैनस् रु त्यसो भए हजो जोतेर खालास । यसरी हाम्रो समाजले हलो जोत्ने पेशालाई त मानौँ कि निकै तल्लो स्तरको कामका रुपमा चित्रण गर्यो । जसका कारण कृषि कर्म पछि पर्यो र किसानले समाजबाटै सम्मान पाएनन् । किसान हुनु समाजको तल्लो स्तरको काम थियो । अब शिक्षकले पनि यो बुझेर अबको जनशक्तिलाई कृषि कर्म प्रति सम्मान जगाउने शिक्षा दिनु जरुरी छ । किनभने किसान बन्नु भनेको मानिस आफै उद्यमी बन्नु पनि हो । अनि पढेलेखेकै मानिसले कृषि कर्म गर्नु भनेको पनि व्यवहारिक शिक्षा हो ।

विद्यालय होस् या विश्वविद्यालय । समाजको प्रबुद्ध बर्ग हो शिक्षक । शिक्षक बर्गलाई मेरो यो आग्रह छ कि यहाँहरुले विद्यार्थीलाई माछा मारेर नदिनुहोस्, बरु माछा मार्ने सीप सिकाउनुहोस् । मेरो बुझाइमा व्यवहारिक शिक्षा यही हो । यसले हरेक विद्यार्थीलाई मेहनत गर्न सिकाउँछ र मेहनती मानिस आफैमा उद्यमी बन्दछ । म मुलुकको उद्यम क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्ति भएकाले पनि यहाँहरुलाई यो सुझाव दिन चाहेको हो । किनभने उद्यमी व्यक्तिका हरेक बिहानी स्वर्णिम हुन्छन् । उद्यमीले आफै अवसरको सिर्जना गर्न सक्छ र उद्यमशील बन्न सक्छ ।

जस्तो कि अमेरिकाका पनि विद्यालय तहको शिक्षा पूरा गर्ने क्रममै विद्यार्थीलाई केही महिना जबमा पठाइन्छ । उसले त्यो उमेरमा जागिर पाएपछि पैसा चिन्छ र समयको महत्व बुझ्छ ।

हर मानिसले आफ्नो कमाइको माया गरेजस्तै ती विद्यार्थीले त्यो उमेरको पहिलो कमाइको जसरी व्यवस्थापन गर्न पनि सिक्ने छ ।त्यसले उसलाई आगामी जीवनका लागि पनि व्यवहारिक बन्न सिकाउँछ । यस्तो कमाइको व्यवस्थापनले उसलाई वित्तीय साक्षरताकाे अर्थ सिकाउने छ । मानिसको जीवनमावित्तीय साक्षरता अर्थ को धेरै ठूलो महत्व छ ।

अनुसन्धानका हरेक तहमा अनिवार्य रुपमा प्रयोग गर्ने एक विधि हो Statement of the Problem । कुनै विषयको अनुसन्धान सुरु गर्नुअघि त्यसमा समस्या के छ भनेर खोज्न लगाउनु नै Statement of the Problem हो । त्यसैले यहाँहरुको शिक्षा पद्दतिमा पनि सम्भावित समस्या र त्यो समस्यासँग जुध्नसक्ने सीप अहिले नै सिकाउन सकियो भने त्यसले विद्यार्थी, समाज र देशलाई नै फाइदा दिनेछ ।

किनभने कुनै पनि विषयको समस्या कहाँ छ भनेर पत्ता लगाउन सक्नु नै समाधान हो । जस्तो कि श्रीलंकामा अहिले देखिएका समस्याहरुको आँकलन समयमै हुन सकेको भए आज यो अवस्था सायद आउँदैनथ्यो ।

-नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशनमा व्यक्त गर्नुभएको विचारको सम्पादित अंश