• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल ★   महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध ★   आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ: अर्थमन्त्री पुन

भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छः प्रधानमन्त्री मोदी



काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताउनुभएको छ ।

दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई नयाँदिल्लीस्थित हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रुपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताउनुभएको हो ।

भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचीनकालदेखि जोडिएको बताउँदै उहाँले भन्नुभयो, “अनादिकालदेखि हामी एकअर्काका सुखदुःखका साथी हौँ ।” प्रधानमन्त्री मोदीले नवरात्र प्रारम्भ भएको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई नयाँदिल्लीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेपाल र भारतका नागरिकहरूमा नवरात्रको शुभकामना पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवा भारतका पुराना मित्र हुनुहुन्छ भन्दै उहाँले भारत–नेपाल सम्बन्धलाई उन्नत एवं गतिशील तुल्याउन श्री देउवाले निर्वाह गर्नुभएको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

आफ्नो पहिलो कार्यकालदेखि नै ‘छिमेक पहिले’ अर्थात् छिमेकीसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राख्नुभएका भारतका प्रधानमन्त्री मोदीले नेपालसम्बन्धी भारतको नीति आत्मीयताले प्रेरित छ भन्नुभयो । नेपालको शान्ति, प्रगति र विकासको यात्रामा सघाउन भारतको प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलसँग बहुआयमिक भारत–नेपाल सम्बन्धका सबै पक्षमा छलफल र समीक्षा भएको जानकारी दिँदै प्रधानमन्त्री मोदीले ऊर्जा क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएका बताउनुभयो । दुई दशकभन्दा लामो समयदेखि गतिहीन बनेको पञ्चेश्वर बहुद्देश्यीय परियोजनालाई द्रुतगतिमा अघि बढाउने प्रतिबद्धता पनि उहाँले दोहोर्याउनुभयो ।

नेपालमा उत्पादित विद्युत् भारतले खरिद गर्ने, स्वच्छ ऊर्जा प्रवद्र्धनमा भारतले सघाउने, नेपालले झेल्नु परेका व्यापार घाटा कम गर्न आवश्यक प्रयास गरिने बताउँदै उहाँले आजदेखि सञ्चालनमा आएको जयनगर–कुर्था रेल सेवाले दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई अझ सघन तुल्याउने विश्वास व्यक्त गर्नुभयो ।

भारत र नेपालबीचको खुला सिमानाको दुरुपयोग नहोस्भन्नेतर्फ आफूहरू सचेत रहेको तथा त्यस सम्बन्धमा पनि आफूहरूले छलफल गरेको जानकारी दिँदै भारतका प्रधानमन्त्रीले धार्मिक पर्यटन प्रवद्र्धनका लागि रामायण परिपथको विकास, नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माण, नेपाल प्रहरीलाई समयानुकूल तालिम दिने प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणमा भारत–नेपाल साझेदारी हुने बताउनुभयो ।

काठमाडौँको पशुपतिनाथ र वाराणसीको काशीविश्वनाथका कारण दुई देशबीचको सम्बन्ध अनादिकालदेखि विशेष रहेको प्रसङ्ग जोड्दै उहाँले प्रधानमन्त्री देउवाले भोलि गर्नुहुने काशीविश्वनाथको यात्रा फलदायी रहोस् भन्ने कामना पनि गर्नुभयो ।