४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लुम्बिनीका पाँच जिल्लामा अब जाँदैन झ्याप्प–झ्याप्प बिजुली

लुम्बिनीका पाँच जिल्लामा अब जाँदैन झ्याप्प–झ्याप्प बिजुली
अ+ अ-

काठमाडौँ । कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्यूठानको विद्युत् आपूर्तिलाई भरपर्दो एवं गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सबस्टेशन आज एकैसाथ उद्घाटन गरिएको छ ।

सो प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि स्थानीय क्षेत्रमा सहज विद्युत् आपूर्ति हुने तथा विद्युत्को प्राविधिक चुहावट पनि कम हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइन आजदेखि सञ्चालनमा आएको हो । सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका–६ फुदवाङमा निर्माण गरिएको १३२ केभी क्षमताको सबस्टेशन पनि सञ्चालन आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आज सन्धिखर्कमा आयोजित एक समारोहमा प्रसारण लाइन र सबस्टेशनको उद्घाटन गर्नुभयो ।

प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिएको छ । हाल बुटवलबाट ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत अर्घार्खाची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । सो प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प–झ्याप्प बत्ती जाने र भोल्टेजको समस्या थियो भने प्राविधिक चुहावट पनि उत्तिकै थियो ।

कार्यक्रममा मन्त्री भुसालले अर्घाखाँचीमा निर्माण भएको पहिलो १३२ केभीको उच्च भोल्टेजको प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएकाले यस क्षेत्रमा विद्युत् आपूर्ति गुणस्तरीय तथा भरपर्दो हुने र समग्र विकासका लागि मेरुदण्ड तयार भएको बताउनुभयो ।

यस भेगका उपभोक्ताले झ्याप्प–झ्याप्प बत्ती गएको भन्दै गुनासो गर्ने गरेको उल्लेख गर्दै भुसालले अब त्यस्तो समस्या समाधान भएकाले बत्ती बाल्न मात्रै नभई खाना पकाउन पनि विद्युत् प्रयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग पर्याप्त मात्रामा रहेको पानीलाई विद्युत् र सिँचाइमा रुपान्तरण गरी विद्युत् उत्पादन गरौँ, कृषि गरौँ आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अगाडि बढौँ, अमेरिकी डलर बिक्री गरी भारतीय रुपैयाँमा खरिद गरेर आयात गरिएको खाना पकाउने ग्याँसलाई विद्युत्को प्रयोगमार्फत विस्थापित गरौँ ।”

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीकरणका लागि बजेट अभाव नभएको उल्लेख गर्दै दुई वर्षभित्र सबैको घरमा विद्युत् पुर्याउन विद्युतीकरणलाई ‘लास्ट माइल’को रूपमा अगाडि बढाइएको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, शीतगङ्गा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारी, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकललगायतले प्रसारण लाइन र सबस्टेशनको सञ्चालनपछि यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने विश्वास व्यक्त गर्नुभयो ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ स्थित १३२ केभीको मोतीपुर सबस्टेशनबाट सुरु भई अर्घाखाँचीको शीतगङ्गा नगरपालिका हुँदै ३८ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइन सन्धिखर्क सबस्टेशनमा ल्याइएको छ । प्रसारण लाइनमा १०६ टावर निर्माण गरिएको छ ।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सन्धिखर्क सबस्टेशनको निर्माण गरिएको हो । मोतीपुर सबस्टेशनको यही चैत ३ चैतमा उद्घाटन गरिएको थियो ।

मोतीपुर–सन्धीखर्क प्रसारण लाइनको निर्माणका लागि २०७४ को चैतमा सिग्मा कोन जेडएस स्टिल जेभीसँग ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको अनुमानित लागत करिब रु ७० करोड छ ।

सन्धिखर्कमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताको पावर ट्रान्सफर्मर रहेका छन् । सबस्टेशनबाट चारवटा ३३ केभीका फिडर निकाली अर्घा, हंशपुर तथा ठाडा सबस्टेशन र तीनवटा ११ केभीका फिडरबाट विद्युत् वितरण गरिएको छ ।

विगतमा प्यूठानको झिम्रुक र गुल्मीदेखि लामो दूरीको ३३ केभीबाट विद्युत् आपूर्ति हुँदा लाइन ओभरलोड हुने समस्या हुँदै आएकामा अब त्यस्तो समस्या समाधान भएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले प्रसारण लाइन र सबस्टेशनको निर्माणपछि प्राविधिक चुहावटमा कमी प्राधिकरणको वित्तीय स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने बताउनुभयो । सन्धिखर्क सबस्टेशन निर्माणका लागि २०७५ को जेठमा पावरटेक वाइबा जेभीसँग ठेक्का सम्झौता भएको थियो । सबस्टेशनको अनुमानित लागत करिब रु ३७ करोड छ ।

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा र बाग्लुङको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन तथा निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजना आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेशन निर्माणाधीन छन् । ती सबस्टेशनसमेत छिट्टै निर्माण सम्पन्न हुने जनाइएको छ ।