• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा

चितवनमा २७ दल दर्ता



चितवन। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो । आयोगले तोकेको समयमा जिल्लामा रहेका २७ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् ।

कार्कीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवण बुझाउनु नपर्ने भएकाले २७ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्र थप गर्न आयोगलाई आग्रह गरेको छ । विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा जिल्लामा १६१ मतदानस्थल र ३७६ मतदान केन्द्र थिए । अहिले मतदान केन्द्र थप गरी ४६१ पु-याउन लागिएको कार्कीले बताउनुभयो । भरतपुर महानगरपालिकामा २०५, रत्ननगर नगरपालिकामा ६१, खैरहनी नगरपालिकामा ५७, कालिका नगरपालिकामा ३७, राप्ती नगरपालिकामा ४७, माडी नगरपालिकामा ३२ र इच्छाकामना गाउँपालिकामा २२ मतदान केन्द्र बनाउन कार्यालयले आयोगलाई सिफारिस गरेको छ ।

जिल्लामा तीन लाख ९८ हजार ७७१ मतदाता छन् । अझै केही थपघट हुनसक्ने कार्कीले बताउनुभयो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा तीन लाख १३ हजार तीन मतदाता थिए । मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्र थप गर्न लागिएको हो । निर्वाचनको तयारीस्वरुप कार्यालयले यही चैत १५ गते जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ । सदरमुकाममा प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहने छ भने अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने छ । निर्वाचनका लागि कार्यालयले कर्मचारी माग गर्न थालेको छ । एउटा मतदान केन्द्रमा सातदेखि आठ जनाको दरले कर्मचारी परिचालन गरिने छ ।रासस