१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र संकटमा पर्दा नगद बाँड्दै सरकार



अ+ अ-

पछिल्ला दुई महिनाको तथ्यांकले मुलुक गम्भीर आर्थिक अवस्थामा पर्दै गएको देखिन्छ । शोधनान्तर घाटा अस्वाभाविक रूपमा बढेको छ भने व्यापार घाटा पनि चुलिएको छ । मुलुकको प्रमुख आयस्रोत तथा विदेशी मुद्राको स्रोत मानिएको रेमिट्यान्स घट्न थालेको छ, जसका कारण विदेशी मुद्राको सञ्चिति घटेर आयात गर्ने क्षमता ह्रास भएको छ ।

यसरी चालू आर्थिक वर्षको सुरुवातदेखि नै बाह्य क्षेत्रको सन्तुलन बिग्रिन थालेको छ । कोरोना कहरलाई सामान्यीकरण गरेर विगत तीन वर्षकै सरकारले बजेट बनाउँदादेखि नै गम्भीर नभएको दुश्परिणाम मुलुकले भोग्दै छ । लामो समयदेखि खुम्चिएको अर्थतन्त्र चलायमान हुने बेलामा आर्थिक परिसूचक एकाएक बिग्रिएको होइन । विगतकै निरन्तरतास्वरूप अर्थतन्त्र गम्भीर मोडमा पुगेको हो ।

तर, वर्तमान सरकारले विगतको गल्ती नदोहो¥याउने अपेक्षा धेरैको थियो । किनकि बजार चलायमान हुन थालेको छ । खोपको सहज उपलब्धताका कारण नागरिक तथा निजी क्षेत्रको आत्मबल बढेको छ । बाह्य क्षेत्र सन्तुलन बिग्रिएको र विदेशी मुद्राको सञ्चिति घटेको कारण आर्थिक स्थायित्वमा नै संकट आउन सक्ने लक्षण देखिएको हुनाले सरकारले आर्थिक वृद्धिमात्र नहेरी आर्थिक स्थायित्वका लागि पनि केही कठोर कदम चाल्न गृहकार्य गर्नु आवश्यक छ । आर्थिक वृद्धि पनि घट्ने र आर्थिक स्थायित्व पनि नरहने परिस्थिति सिर्जना हुँदा विगतका सरकारको कमजोरी भए तापनि यसका लागि वर्तमान सरकार पनि दोषको भागी हुने कुरामा कुनै शंका छैन ।

निजी क्षेत्रको आत्मबल बढेका कारण बजारमा कर्जाको माग बढेको छ, जसका कारण बैंक तथा वित्तीय संस्था सकसमा परेका छन् । लगानीयोग्य पुँजीको अभावमा बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर पनि बढाए । तर, बजारमा नयाँ निक्षेप सिर्जना हुन त्यति सहज छैन । भएकै निक्षेप एक बैंक तथा वित्तीय संस्थाबाट अर्कोमा सर्ने हो । आयात घटेको छैन, झन् बढेको बढ्यै छ ।
आत्मनिर्भर अर्थतन्त्रको भाषण गर्नु र वास्तवमा आत्मनिर्भर अर्थतन्त्र बनाउन आकाश–जमिनको अन्तर छ । कारण बितेका करिब चार वर्षमा वामपन्थी सरकारले पनि आयातमुखी तथा परनिर्भर अर्थतन्त्र बनाउनेभन्दा बढी केही पनि गर्न सकेन, गरेन ।

वर्तमान सरकारले पनि विगतकै सरकारको गल्ती दोहो¥याउँदा भने अर्थतन्त्रलाई बचाउने कुनै उपाय देखिन्न । अघिल्लो सरकारझैं वर्तमान सरकार पनि आयात नियन्त्रण गरेर अर्थतन्त्रलाई बचाउन सकिन्छ भन्ने भ्रममा छ । तर, यसबाट झन् अवैधानिक कारोबारले प्रश्रय पाउँछ र सरकारले हाल पाइरहेको राजस्व पनि गुमाउँछ । यसै बेला सरकारले ५ लाख परिवारलाई १० हजारका दरले विपन्न परिवार भत्ता वितरण गर्ने तयारी थालेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विपन्न परिवार भत्ताको कार्यविधि पारित पनि गरिसकेको छ ।

तर, दुई वर्षअगाडि गर्नुपर्ने काम अहिले गर्न खोजेर सरकारले अर्थतन्त्र तथा नागरिक कसैको पनि भलो गरिरहेको छैन । यसले चुनावमा राजनीतिक फाइदा त होला, तर अर्थतन्त्रको लागि भने यो घातक हुन्छ ।

किनकि सरकारले ५ लाख परिवारलाई १० हजारका दरले भत्ता वितरण गर्दा सरकारी कोषबाट ५ अर्ब रुपैयाँ खर्च हुन्छ । कोरोना महामारीको असर निकै कम भइसकेपछि सरकारले भत्ता वितरण गर्न थाल्नु बेमौसमी बाजा हो । अनौपचारिक क्षेत्रमा काम गर्नेहरू २०७७ को कोरोनाको पहिलो लहरमा निकै मारमा परेका थिए । तर, अहिले कोरोनाको त्यस्तोे डर पनि छैन ।
त्यसैले हाल पैसा बाँड्ने कार्यक्रम मुख्यतः चुनावलाई नै केन्द्रमा राखेर ल्याइएको हो । अर्थतन्त्र वा नागरिकको जीवनस्तरमा यस कार्यक्रमले कुनै सुधार गर्दैन, न त रोजगारी सिर्जना हुन्छ । तसर्थ, सरकारले संवेदनशील भएर अर्थतन्त्र सुधारका काम गर्नुपर्ने बेलामा चुनावलक्षित पैसा बाँड्ने कार्यक्रम सुरु गर्ने तयारी गर्नु गलत निर्णय हो । (आजको कारोबार दैनिकमा समाचार छ ।)