काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनिसकेको बताउनुभएको छ ।
निर्वाचन आयोगसँग आज भएको छलफलमा उहाँले समग्र मुलुक निर्वाचनमा होमिएकाले निर्वाचनको उत्सव महोत्वमा परिणत हुँदै गएको बताउनुभयो ।
मन्त्री खरेलले भन्नुभयो, “निर्वाचन आयोगले कार्यतालिका बनाएर सबै सरोकार भएका पक्षलाई निर्वाचनमा समाहित गर्दै गएको छ । संवेदनशील र अलि विशेष र चुनौतीको अवस्थामा पनि आयोगले खेलेको भूमिकाप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद भन्न चाहन्छु ।”
निर्वाचन हुन्छ भन्नेमा सम्बद्ध सबै पक्षलाई विश्वास भएको सरकारको बुझाइ रहेको बताउँदै उहाँले आयोग, सरकार, सुरक्षा निकाय र राजनीतिक दल पनि आफ्नो तयारीमा लागेको उल्लेख पार्नुभयो । “निर्वाचनका लागि मतदाता पनि तयारी अवस्थामा हुनुहुन्छ । छोटो समयमा आठ लाखभन्दा बढीले मतदाता नामावलीमा नाम समावेश गराएको विषय आफैँमा ऐतिहासिक रह्यो”, मन्त्री खरेलले भन्नुभयो ।
सबै प्राविधिक, कानुनी र अरु प्रक्रियागत विषयसँगै राजनीतिक विषय पनि त्यतिकै महत्त्वपूर्ण रहेको बताउँदै उहाँले आयोगले उठाएका विषयलाई आत्मसात् गर्दै सरकारले कानुनमन्त्रीको संयोजकत्वमा संवादका लागि समिति गठन गरेको जानकारी दिनुभयो ।
मन्त्री खरेलले निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्न र मतदाता शिक्षा जनतासम्म पु¥याउनका लागि आयोगसँग हातेमालो गरेर अगाडि बढ्न मन्त्रालय तयार रहेको बताउनुभयो ।
गलत सूचना र समाचारको प्रभाव रोक्न प्रेस काउन्सिल नेपाल र मन्त्रालय मातहतका निकायमा सोहीअनुसारको व्यवस्था गरिएको जानकारी दिँदै उहाँले सामाजिक सञ्जालको दुरुपयोग रोक्न साइबर ब्यूरो र प्रेस काउन्सिललाई आग्रह गरिएको बताउनुभयो । उहाँले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना भए÷नभएको अनुगमन गरिने बताउनुभयो । रासस










