४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सूर्य उपासनाको छठ पर्व, राष्ट्रिय एकताको सेतु

सूर्य उपासनाको छठ पर्व, राष्ट्रिय एकताको सेतु
अ+ अ-

राम नारायण देव

छठ पर्वको उत्पत्ति कुन कालमा भयो भन्ने कुनै ऐतिहासिक प्रमाण उपलब्ध छैन । शास्त्राचारअन्तर्गत प्रत्यक्ष देवता सूर्यको पूजा र उपासना वैदिक कालदेखि नै आइरहेकाले लोकाचारअन्तर्गत यस पर्वलाई महोत्सवका रूपमा मनाइने चलन बसेको मान्न सकिन्छ ।

यो षष्ठी तिथिमा पर्छ, जुन अपभ्रंश भई ‘छ’ भएको हो । सूर्यसँग षष्ठी तिथिको सम्बन्धको चर्चा ब्रह्मवैवर्त पुराणमा पाइन्छ, जसअनुसार प्रकृतिदेवीले आफूलाई पाँच भागमा विभाजित गरिन् १ दुर्गा, राधा, लक्ष्मी, सरस्वती र सावित्रीमा ।

मार्कण्डेय पुराणमा भनिएको छ— ‘स्त्रियः समस्ताः सकला जगत्सु ।’ प्रकृतिदेवीको एउटा प्रधान अंशलाई देव सेना भनिएको छ जसलाई श्रेष्ठ मातृका मानिएको छ, जसलाई समस्त शिशुको रक्षिका देवी ठानिन्छ । प्रकृतिको छैटौं अंश भएका कारण षष्ठी भनिएको छ । शिशु–रक्षिका भएकाले यी देवीको विशेष रूपमा पूजा गरिन्छ । यो बच्चा जन्मेको छैटौं दिन वा शुक्लपक्षको षष्ठी तिथिमा पर्छ । मिथिलामा यी देवीको नाम ब्रह्मवैवर्त पुराणको प्रकृति खण्डमा कात्यायनी भनिएको छ ।

षष्ठी देवीको पूजा कुन समयमा सुरु भयो र सूर्य षष्ठी नामक पर्व कसरी प्रख्यात भयो भन्ने विषय विचारणीय छ । भविष्य पुराण र ब्रह्मवैवर्त पुराणमा यी देवीको पूजाबारे चर्चा गरिएको छ । मैथिली महाकवि विद्यापतिकृत वर्षकृतमा प्रतिहार षष्ठीका रूपमा षष्ठीको चर्चा गरिएको छ । यस प्रकार छठ पर्वलाई छठी माता, सूर्य षष्ठी र प्रतिहार षष्ठी पनि भनिन्छ । यी सबै नाममा षष्ठी तिथिको उल्लेख भए पनि षष्ठी तिथि मुख्य नभई षष्ठीपछि सप्तमी अर्थात् षष्ठीयुक्त सप्तमी तिथि प्रधान छ । यसलाई प्रतिहार षष्ठी पनि भनिन्छ । षष्ठीका दिन साँझमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने भोलिपल्ट सप्तमीका दिन उदाउँदो सूर्यलाई ।

***

सूर्य शब्दको अर्थ सर्वप्रेरक हो । वैदिक ग्रन्थहरूमा ‘तमः आसित्’ भनिएको पाइन्छ । अर्थात्, सृष्टिको उत्पत्ति हुनुअघि सर्वत्र अन्धकार थियो । हिरण्यको गर्भबाट एउटा दिव्य तेज गोलाकार रूपमा प्रकट भयो । दिगन्तव्यापी त्यो तेजका कारण सम्पूर्ण दिशाको अन्धकार नष्ट भयो ।

साम्व पुराणअनुसार, सूर्य तेजको प्रकाश र अग्निका उष्माको परस्पर संयोगबाट सूर्य रश्मिको उत्पत्ति हुन्छ । सूर्यका हजारौं रश्मि छन् । यिनैलाई वैज्ञानिकहरूले सात रंग (रातो, हरियो, नीलो, पहेंलो, सुन्तला, आकाशे र खैरो) मा बाँडेका छन् । यी रंगहरूको आ–आफ्ना विशेषता छन् । स्वामी माधवानन्दका अनुसार, सूर्यको प्रथम किरण आसुरी सम्पत्तिमूलक, आध्यात्मिक उन्नतिको प्रेरक हो । भौगोलिक स्थितिका कारण सूर्यका सातौं किरणले गंगा र यमुनाको मध्यभागमा अत्यधिक समयसम्म उष्णता प्रदान गर्ने भएकाले नै यिनलाई अन्तर्वेदी भनिएको हो । यस भू–खण्डलाई अति पवित्र र धार्मिक मानिन्छ । यस भूभागमा आध्यात्मिक धार्मिक अनुष्ठान र पूजाहरू बढी हुने गर्छन् । षष्ठी (छठी) छठ पर्वको उद्गमस्थल पनि यस क्षेत्रलाई मानिन्छ । त्वचा (छाला) सम्बन्धी रोगको उपचार सातै रंगबाट हुन्छ । तसर्थ आधुनिक चिकित्सामा पनि सूर्यस्नानको महत्त्व बढ्दै गएको छ ।

प्राचीनकालमा ऋषिहरूले नग्न आँखाबाट सूर्यको दर्शन गरेर त्यसको आध्यात्मिक स्वरूपको मात्र वर्णन गरे । यसको प्रमुख कारण वैज्ञानिक उपकरणको अभाव थियो । सूर्यसम्बन्धी वैज्ञानिक अध्ययन पहिलोपटक इसापूर्व ७४७ मा बेबिलोन निवासीले गरे । सूर्यलाई वैदिक देवताहरूमा सर्वश्रेष्ठ स्थान प्राप्त छ । तसर्थ हिन्दु चिन्तनधारामा सूर्य उपासना गरेर मात्र शुभकार्यको अधिकारी हुन्छन् भनिएको छ । प्राचीनकालदेखि नै मानव मस्तिष्कलाई सूर्यले जति प्रभावित गरेको छ, त्यति कुनै प्रकृतिका तत्त्वले गरेको छैन । विश्वका सबै धर्मस्थलमा प्रकाशलाई ईश्वरको प्रतीक मानिन्छ । त्यस्तै सूर्य पूजाको चलन विभिन्न देशमा पाइन्छ । मेसोपोटामियाको सभ्यतामा सूर्यलाई समस भनेर पूजा गर्ने चलन छ । युनानी तथा सिन्धुघाटीको सभ्यता तथा जापानको तेरिकयो सम्प्रदायमा सूर्यपूजा प्रचलित थियो ।

***
कात्तिक शुक्ल र चैत्र शुक्ल षष्ठी र सप्तमी तिथि अर्थात् वर्षमा दुईपटक मनाइने छठ पर्वको सुरुवात चतुर्थी तिथिदेखि नै हुन्छ । यस दिन सात्त्विक भोजन गर्ने गरिन्छ । पञ्चमीका दिन षष्ठी मातालाई अर्वा, अन्न, दूध, घ्यू, तुलसी, फलफूल चढाउने गरिन्छ, जसलाई प्रसादका रूपमा ग्रहण गरिन्छ ।

यस दिन राति जल पिउनसमेत निषेध गरिएको छ । षष्ठी तिथिका दिनलाई सन्ध्या अर्घ्य भनिन्छ । बिहानदेखि नै सामान्यतः महिलाहरू भोग सामग्री (जस्तो— ठकुआ, पडुकिया, सेल, मिष्ठान्न) सहित ताल, पोखरी वा नदीको घाटमा जान्छन् । अघिल्लो दिनदेखि नै घाट लिपपोत गरी सजाइन्छ । व्रतालु जलमा प्रवेश गरी अस्ताउँदो सूर्यलाई डालोमा सामग्री राखी अर्पण गर्छन् । राति त्यही घाटमा जाग्राम बसी भोलिपल्ट पूजासामग्री घाटमा फिँजाएर राखिन्छ र सूर्योदयपछि जलमा प्रवेश गरी पुनः अर्घ्य दिइन्छ ।

आन दिन उगलौ भोट भिनसखा

आई किए भेल एते छेर ?

बाट भोटिगेल अन्हरा पुरुष, नयन देत ऐत देर

बाट भेटिल गेल कोठीया, काया दैत एते देर

यसरी व्रतालु महिलाहरूले मैथिली भाषामा मीठो गीत गाएर सूर्य भगवान्को आराधना गर्छिन् । छठ पर्वमा महिलाको सहभागिता बढी हुन्छ । व्रत बस्नेदेखि पूजा सामग्रीहरू तयार गर्नसम्ममा महिलाकै योगदान हुन्छ । छठ पर्व सामाजिक एकता र सद्भावले ओतप्रोत भएको हुन्छ । समाजका समस्त जातिले मनाउने पर्व हो । एउटै जलाशयमा एउटै घाटमा सबै जाति र समुदायले मनाउनु सामाजिक सौहार्दको प्रतीक हो । पहिले–पहिले मिथिलाञ्चलमा मात्र मनाइने यो पर्व प्रायः देशभरि, काठमाडौं उपत्यकादेखि पहाडी भू–भागमा पनि मनाउन लागिएको छ । छठ पर्व राष्ट्रिय एकताको सेतु बनिरहेको छ । (कान्तिपुर दैनिकमा राम नारायण देवले लेख्नु भएकाे छ)