• ११ जेष्ठ २०७९, बुधबार
  •      Wed May 25 2022
Logo
Latest
★   काकाकुल धरानेको प्यास बुझाउन हर्क साम्पाङ मैदानमा ★   उजुरी पर्दैमा सबै दोषी ठहरिँदैन: आयुक्त सिलवाल ★   यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूको प्रभावकारी अनुसन्धान गर्न आयोगको आग्रह ★   अन्तरघातले चुनाव हारियो – ओली ★   जलविद्युत् आयोजनाबाट म्याग्दीका बासिन्दालाई दोहोरो लाभ ★   ट्राफिक व्यवस्थापन गर्न सरकारी जग्गाको खोजी ★   गठबन्धन राष्ट्रिय आवश्यकता : वरिष्ठ नेता पौडेल ★   आफ्ना जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न नेकपा एसको सर्कुलर ★   करोडको गाडी चढेर जनताको समस्या देखिदैँन : नवनिर्वाचित प्रमुख साम्पाङ ★   जनस्तरमा कांग्रेसको लोकप्रियता बढ्यो : महामन्त्री थापा

नेपाली भाषा जे जसरी लेखे पनि हुन्छ भन्ने गलत मानसिकता छ : कोशकार प्रा.नीलमणि ढुङ्गाना (अन्तरवार्ता)



काठमाडौँ । साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ । नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो । कोशकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्ने बारेमा कोशमा उल्लेख गर्नुभएको छ । कोशमा धातुका प्रतिनिधि रुप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् भने २ हजार पारिभाषिक शब्द छन् । अहिलेसम्म नेपाली भाषामा यस किसिमको शब्दकोश प्रकाशित भएको छैन । यसमा प्रयोग भएका संस्कृतका शब्दहरु संस्कृत वाङ्मयमा बढी प्रचलित छन् । केही नेपाली वाङ्मयमा पनि प्रयोग गरिएका छन् । तिनलाई देवनागरिक लिपिको परम्पारगत वार्णिक प्रणालीका क्रममा अथ्र्याइएको छ । शब्दहरुको प्रयोगस्थल निर्देश हेर्दा अधिकांश सूक्तिमय काव्यबाट लिइएको छ । यसै सन्दर्भमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले कोशकार प्राध्यापक नीलमणि ढुङ्गानासँग गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।   

व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश हालै सार्वजनिक भएको छ, यो कस्तो शब्दकोश हो ?

यो ‘व्युत्पत्तिमूलक’ शब्दकोश हो । यसले धेरै कुराको सूचना दिएको छ । कुनै विषयमा आफूलाई शङ्का लाग्यो भने यसमा पल्टाएर हेर्दा शब्दको समान्य अर्थदेखि परसम्म गएर त्यसको गहन अर्थसमेत यसले प्रस्ट राखेको छ । उदाहरणका निमित्त एउटा सानो कुरा हेरौँ ।

‘भैरव’ शब्दको अर्थ सामान्यतः ‘डरलाग्दो’ हुन्छ । अथवा, एक देवताविशेष भन्ने हुन्छ । तीबाहेक भैरव शब्दले अरू केके कुरा अथ्र्याउँछ ? नेपालमा केकति भैरव छन् ? तिनीहरूको केकस्तो शक्ति छ ? ती सबै कुरा यसमा उल्लेख छन् । त्यस्तै ‘आश्व’ शब्दको अर्थ ‘पवित्र’, ‘पवित्रता’, ‘पवित्र हुने स्थिति’ भन्ने देखिन्छ तर यस कोशमा त्यति मात्र नभएर हाम्रो जीवनसँग सम्बद्ध आश्वसम्बन्धी सबै व्यवस्थालाई आश्व शब्दभित्र सङ्केत गरेको छ ।

त्यसै गरी आकाशीय पिण्डहरूबारे पनि यसमा सकेसम्म बढी ज्ञान दिने दृष्टिकोणले चिनाउने प्रयास गरिएको छ । उदाहरणका निमित्त ‘अश्विनी’ शब्द हेरौँ । सामान्य शब्दकोशहरूमा हेर्दा यसको अर्थ ‘एक नक्षत्र’ वा ‘एक तारा’ वा ‘२७ मध्ये पहिलो नक्षत्र’ मात्र भेटिन्छ तर व्युत्पत्तिमूलक शब्दकोश त्यतिमा मात्र सिमित छैन । यसमा अश्विनी शब्दको अर्थ के ? अश्विनी नक्षत्रमा कतिवटा तारा हुन्छन् ? यसको मुख्य तारा कुन हो ? यो पृथ्वीबाट कति टाढा छ ? यसलाई कसरी चिन्ने ? यस्ता सबै कुरा उल्लेख छन् । त्यसैले कुनै पनि शब्द पल्टाएर हेर्दा पाठकले त्यसबाट केही न केही नयाँ ज्ञान आर्जन गरेकै हुनुपर्छ भन्ने दृष्टिकोण यसमा राखिएको छ ।

‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ भनिएको छ, खासमा यो ‘व्युत्पत्ति’ भनेको चाहिँ के हो ?

‘व्युत्पत्ति’ शब्दको अर्थ ‘बहुज्ञाता’ हो, सकेसम्म बढी जान्ने । जस्तो, हाम्रो समाजमा प्रचलित छ- ‘यो केटो व्युत्पन्न छ ।’ यसको अर्थ ‘त्यो केटाले शब्द तोड्न जान्दछ’ भनेको होइन, ‘त्यो केटो कतिसम्म धेरै कुरा जान्दछ’ भन्ने तहमा ‘त्यसले सकेसम्म धेरै कुरा जानेको छ’ भन्ने अर्थबोध हुन्छ । यो शब्दकोशले कुनै पनि विषयमा सकेसम्म बढी सूचना दिने काम गरेको छ ।

व्युत्पत्ति दुई किसिमका हुन्छन्- ‘शब्दगत’ र ‘अर्थगत’ । व्युत्पत्तिमूलक शब्दकोश ‘शब्दगत व्युत्पत्ति’ मा मात्र सीमित छैन, यसले ‘अर्थगत व्युत्पत्ति’ र त्यो शब्दबाट आउने अर्थको बहुज्ञातासमेत दिन खोजेको छ । त्यसैले यसलाई ‘व्युत्पत्तिमूलक’ भनिएको हो ।

अरू शब्दकोश र यो शब्दकोशमा फरक के छ ?

मैले अहिलेसम्म देखेका शब्दकोशहरूमा सामान्य अर्थ दिइएको छ भने यसले व्युत्पत्ति दिएको छ । अरू शब्दकोशमा कुनै पनि शब्दको सामान्य अर्थबोध गरे पुग्छ भने यसमा त्यो शब्दको अर्थको विषयमा जान्न खोजेका सकेसम्म धेरै कुरा पाइन्छ ।

त्यसो भए यो शब्दकोश विषयप्रधान कि शब्दप्रधान ?

यो शब्दकोश शब्दप्रधानभन्दा बढी विषयप्रधानतातिर केन्द्रित छ । अर्थात् शब्दगत अर्थ त छँदै छ, यसलाई विषयप्रधान बनाउने प्रयास भएको छ । त्यसैले कतिपय शब्दहरू यहाँ छुट्न गएका छन् । शब्दप्रधान भए शब्दमा बढी जोड दिइन्थ्यो तर यसमा विषयलाई बढी चिनाउने प्रयास भएको छ ।

यस शब्दकोशमा ३७ हजार शब्दको अर्थगत व्याख्या छ तर कोशको आकार हेर्दा १४२० पृष्ठ छ । यसलाई ‘शब्दकोश’ भन्दा पनि फरक किसिमको परिचय दिँदा के हुन्थ्यो ?

कालिदासले भनेका छन्- ‘शब्द’ र ‘अर्थ’ को सम्बन्ध अत्यन्त निकट हुन्छ । ‘उमामहेश्वर’ सम्बन्ध जस्तै ‘वाक’ र ‘अर्थ’ को सम्बन्ध छ । जहाँ शब्द रहन्छ, त्यहाँ अर्थ रहन्छ । त्यस्तै जहाँ अर्थ रहन्छ, त्यहाँ शब्द रहन्छ । त्यसमा अन्योन्याश्रित सम्बन्ध छ । कुनै पनि अर्थको विस्तार गर्दा शब्द नभई हुँदैन । संस्कृतमा प्रयोग भएका शब्दहरूलाई लिइसकेपछि त्यसको अर्थ कतिसम्म पर पुगेको छ ? भन्ने कुरा देखाउँदा यो विषयप्रधान कोश भएको छ । वास्तवमा शब्दकोशमा रहने शब्द नै हो । त्यसैले शब्दहरू सङ्कलन गरियो र तिनको अर्थ कति गहिरो छ ? कहाँसम्म छ ? भन्ने कुरा यसमा देखाउन खोज्दा आकार ठूलो भएको हो ।

यो कोश प्रयोजनपरक पनि छ । नेपाली भाषामा अध्ययन गर्ने मान्छेले, नेपालीमा एमए गर्ने विद्यार्थीले साहित्यका रस, ध्वनि, अलङ्कार जस्ता पारिभाषिक कुराहरूमा सामान्य अर्थ जानेर पुग्दैन । त्यसैले तिनको सिद्धान्त नै दिइएको छ यहाँ । दर्शनका कुराहरूबारे कसैलाई जान्ने इच्छा भयो भने यसबाट सहज ज्ञान प्राप्त हुन्छ । जस्तै, ‘बौद्धदर्शन’ शब्दभित्र त्यसका सैद्धान्तिक–व्यावहारिक सबै कुराहरू संक्षिप्तमा राखिएको छ । त्यसै गरी वेदबारे हामीलाई थाहै छैन । सामान्य शब्दकोशले वेदको अर्थै गर्दैन । वेद भनेपछि ती केकति छन्, कति मन्त्र छन्, कति अनुवाद छन् ? वेदान्त के हुन् ? ती सबै यसमा दिइएको छ । यजुर्वेद, ऋग्वेदहरूको काम के ? मीमांसा, दर्शनहरूको के मान्यता हो ? त्यसका प्रयोक्ता को कुन् ? लेखक कोको हुन् ? ती सबै दिइएको छ । तर, आधार शब्द नसमाती नहुने भएकाले शब्दको क्रम बन्यो । हरेक शब्दको आफ्नो व्युत्पत्ति छ । साथै अर्थगत व्युत्पत्ति दिँदा त्यो शब्द पढेपछि त्यसले जेजति जान्नुपर्ने हो, त्यो कुरा वस्तुगत रूपमा राखिएको छ । यहाँ भाव, कल्पना छैन, जेजस्तो जान्नुपर्ने हो, त्यो स्रोतअनुसार यथार्थ रूपमा उल्लेख गरिएको छ ।

यहाँ हरेक शब्दका लामा व्याख्या छन्, यसलाई विश्वकोश भन्न मिल्दैन ?

‘विश्वकोश’ भन्दा हुन्छ किनभने विश्वकोश पनि मूलतः शब्दकै माध्यम हो । तर, विश्वकोश भनेर जुन परिभाषा गरिएको छ, त्यो सबै लक्षण यसमा मिल्छ-मिल्दैन, म भन्न सक्दिन । तथापि संस्कृत वाङ्मयको चाहिँ विश्वकोश नै हो यो ।

यो कोश विशेषतः कसका लागि उपयुक्त छ ?

यो सबैका निमित्त हो । जसलाई शब्द सिक्नु छ, शब्दको प्रकृति–प्रत्यय छुट्याउनु छ । उसलाई यो शब्दकोश उपयुक्त लाग्छ । जस्तो, मानव+ता । त्यस्तै, उपसर्ग, प्रत्यय लागेर बनेका सबै तत्सम शब्दहरूको प्रयोग यहाँ भेटिन्छ । यस अतिरिक्त जो संस्कृत व्याकरण पढ्न चाहन्छन्, उनीहरूका निमित्त सबैभन्दा महत्त्वपूर्ण छ । किनभने सूत्रहरूसहित त्यसले गर्ने काम, कुरासमेत राखिएको छ । ‘गल्ती प्रयोग नहोस्’ भन्ने दृष्टिकोण छ संस्कृत व्याकरणबारे जान्न चाहनेहरूका लागि । संस्कृत भाषामा प्रवेश गर्न चाहनेहरूका लागि प्रशस्त सामग्री छन् । संस्कृत नपढ्ने तर संस्कृतबारे जानकारी राख्न चाहनेहरूका लागि पनि महत्त्वपूर्ण छ । जस्तो, वेदबारे संस्कृतबाटै पढ्न गाह्रो छ । रामायण भनेको के ? महाभारत के ? कुन महाभारतका कति पर्व छन्, ती पर्वमा के छ ? त्यसको संक्षिप्त र वस्तुगत सूचना यसमा उतारिएको छ । त्यस्तै, ग्रह, तारा, नक्षत्र वा आकाशीय पिण्डहरूबारे वैज्ञानिक दृष्टिले अध्ययन गर्न कसैले चाह्यो भने यसले बाटो देखाउँछ । जस्तै यहाँ राखिएका चार महिनाका तारामण्डल हेरेर ती समयमा आकाशमा हेर्न थाल्नुभयो भने ती ताराहरू तपाईं आफैँ चिन्न सक्नुहुन्छ । सिधा उभिने, आफू सिधा कुन तारो छ त्यो हेर्ने, त्यहाँ त्यसको नाम दिएको छ । त्यसबाट पूर्व, पश्चिम, दक्षिण, उत्तरतिर हेर्दै जाँदा जुन बेला भनेको छ, त्यो समयमा हेर्नुभयो भने ती सबै ताराहरू चिन्न सक्नुहुन्छ । त्यस कारण यसमा आधुनिक वैज्ञानिक दृष्टिकोण पनि प्रयोग भएको छ ।

ज्योतिषका दृष्टिले पनि धेरै कुराहरू यसमा समावेश छन् । पृथ्वीबाट कुन तारा कति टाढा छ ? उल्का भनेको के ? कति किसिमका हुन्छन् ? उल्का र तारामा के फरक छ ? शिशु ग्रहहरू कति छन् ? के, कस्ता छन् ?  

सबै कुरा यसमा उल्लेख छन् । यसले विज्ञान पढ्ने तल्लो तहका विद्यार्थीलाई पनि सहयोग पुर्‍याउँछ । ग्रहणबारे, सूर्य, चन्द्र आदिबारे सूचना छन् । चन्द्र धरातलबाट पृथ्वी कस्तो देखिन्छ, पृथ्वीमा लाग्ने ग्रहण कस्तो हुन्छ ? त्यसको चित्रणसहित रोचक विषय छन् यसमा । त्यस्तै, विज्ञानले विभिन्न आधुनिक ढङ्गले चर्चा गरेका कुराहरू पनि संस्कृतकै हुन् । अर्थ गर्दा ती चिजहरूलाई पनि लिएको छु ।

यस्ता शब्दकोश यसअगि आएका छन् कि छैनन् ?

छैनन्, मैले देखेको छैन । नेपाली भाषामा त आएकै छैन । हिन्दीमा कतै, केही छ कि भनेर खोजेँ । त्यो किसिमको देखिनँ । संस्कृतमा दुई वटा व्युत्पत्तिमूलक शब्दकोश प्रकाशित छन्- शब्दकल्पद्रुम र वाचस्पत्यम । सामान्य पाठकका लागि तिनबाट काम हुँदैन । त्यसमा पनि नेपालीपरक शब्दहरू नेपाली भाषामा आएर प्रयोग भइसकेका र नेपालीले व्यवहारमा ल्याइसकेका कुराहरू त्यहाँ पर्दैनन् । त्यस कारण यो शब्दकोश केवल संस्कृत शब्दको मात्रै भन्ने होइन । यसमा नेपाली भाषामा आइसकेका संस्कृतका शब्दहरूका आधारमा तिनीहरूको अर्थापन भएको छ, जुन संस्कृतका व्युत्पत्तिमूलक कोशहरूमा पाइँदैनन् । त्यसैले यो नेपालीका निमित्त नेपालीपरक कोश हो । मैले यसलाई नितान्त नौलो ठानेको छु ।

संस्कृत शब्द व्युत्पत्ति भएर बनेका शब्दहरूको व्याख्या, तिनको प्रयोग, धार्मिक–वैज्ञानिक महत्त्व, कुन ठाउँमा, कहिले, कसरी प्रयोग भयो आदि सम्पूर्ण दृष्टिकोण राखेको रहेछ ? तर, यहाँ ‘रुरु क्षेत्र’ समावेश छैन, ‘प्रशासनिक’ जस्ता शब्दहरू भेटिँदैनन् नि ?

यो शब्दकोश भएकाले यसमा प्रामाणिक कुरा लेख्नुपर्छ । कल्पनाका आधारमा शब्दकोश बन्दैन । त्यस कारण मैले जति स्रोत भेटेँ, त्यहीअनुसार लेखेँ । प्रत्येकको स्रोत दिएको छु । बराहपुराणका आधारमा बराह क्षेत्रको लेखेँ, मुक्तिनाथको लेखेँ । प्रशस्त चर्चा भए पनि ?? क्षेत्रबारे भनिएको सामग्री मैले त्यो बेला पाउन सकिनँ । तथापि नेपालमा जेजति धार्मिक स्थल छन्, तिनीहरूको चलनचल्तीको आधारमा मैले सूची बनाएँ । देवीको चर्चा आयो भने मेचीदेखि महाकालीसम्म कहाँ, के, कति देवी छन्, सबै लेखेँ । त्यस्तै विष्णुको विवरण दिएको छु, शिवको दिएको छु । मैले अध्ययन गर्दा के देखेँ भने वास्तवमा यो शिवशक्तिप्रधान देश हो । विष्णुको ज्यादै कम छ । तराई क्षेत्रमा अलिअलि छ । पहाडी क्षेत्रमा देवी र शिवजीका मन्दिरहरू धेरै छन् ।

त्यस्तै बुद्धबारे दिएको छु । जैनहरूको पनि दिएको छु । सो क्रममा मैले खास प्रमाण नभेटेका र अर्को संस्करणको निमित्त थाँती राखेका केही शब्दहरू छन् । तिनैमध्ये रुरु क्षेत्र पनि परेको छ । मैले एक जना विद्वान्सँग सामग्री मागेको छु । रुरु मृग हो कि शङ्खमद ? अर्थगत रूपमा हेर्दा रुरु भनेको मृग हो तर यसको प्रयोग कहाँ छ, कसले बयान गरेको छ ? ‘त्यो सामग्री पाएपछि लेखिहाल्छु’ भनेको छु ।

आगन्तुक शब्दका कारण हामीबीच कतिपय बोलीचालीका शब्दहरू हराउँदै गएका छन्, त्यस्ता शब्दहरू पनि समावेश छन् ?

कतिपय त्यस्ता शब्दहरू पनि छन् यसमा । किनभने संस्कृतमा पनि हराइरहेका शब्दहरू पछि आएका छन् । जस्तो, ‘केन्द्र’ शब्द वैदिक साहित्यमा छैन तर ज्योतिषशास्त्रमा व्यापक छ । ‘केन्द्र’ वैदिक शब्द हो वा पछि थपिएको ? हेर्दा यो पछि आएको देखिन्छ तर त्यहाँबाट आयो भन्न सक्ने अवस्था छैन । यसबाट धेरै शब्द बनेका छन् । धेरै विद्वान्हरूसँग छलफल भयो- केन्द्र कि धातु हुनुपर्छ शब्द बनाउन, कि त्यसको कुनै न कुनै व्युत्पत्ति आउनुपर्छ । उहाँहरूले पनि भन्न सक्नु भएन । यसको कारण के पर्‍यो भने संस्कृतमा धेरै धातु थिए तर बिचमा ती लोप भए । केन्द्र पनि विभिन्न कारणले लुप्त भयो । त्यसैले त्यो हरायो, पछि त्यसलाई ल्याइयो ।

त्यसै गरी नेपाली भाषामा पनि कतिपय यस्ता शब्द छन्, जो आगन्तुक शब्द आएपछि क्रमशः विस्थापित भए । तिनलाई क्रमशः यस्तै शब्दकोशको माध्यमबाट लिएर आउनुपर्छ । ती हाम्रै शब्द हुन् किनभने बाबुबाजेको सम्पति आफ्नै मानिन्छ । संस्कृत भनेको नेपाली भाषाको आफ्नै सम्पत्ति हो । त्यसैले संस्कृतबाट आएका ती सबै शब्द आफ्नै हुन् । कतिपय शब्दहरू प्रयोग गर्‍यौँ, कतिपय गरेका छैनौँ । फरक त्यही मात्र हो ।

कोशमा ३५ हजार मूल शब्द र विभिन्न सन्दर्भमा तिनको प्रयोग भएको बताइन्छ । दुई हजारभन्दा बढी तर पारिभाषिक शब्द नै छन् । एकै जनाले तयार गर्दा धेरै समय लाग्यो, अध्ययन त निकै गर्नुपर्‍यो होला नि ?

यो १० वर्षको परिश्रम हो । राम्रो काममा धेरै विघ्नहरू पर्छन् तर ती विघ्नवाधासँग डराउनु हुँदैन । काममा लागिरहनुपर्छ । लागेको लाग्यै गरेपछि जतिसुकै अप्ठ्यारा आए पनि पार लगाउन सकिन्छ ।

अर्को कुरा, केही मान्छे असहयोगी हुँदा रहेछन्, द्वेषी पनि हुँदा रहेछन् । यसले काम गर्न लाग्यो, त्यो काम गर्न दिनु हुँदैन भन्ने पनि हुँदा रहेछन् । त्यो सबै मैले खपेँ । तर, ‘कहिले कहिले मित्रको समागम’ भनेको छु मैले । आकाशमा बादल लागिरहे पनि मित्रको समागमले गर्दा बादलहरू फाटे । अनि यो काम सम्पन्न भयो । वास्तवमा ‘मित्र’ शब्दका दुई अर्थ हुन्छन्-‘सूर्य’ र ‘सहयोगी वा साथी’ । सूर्य लागेपछि जसरी आकाशका बादल फाट्छन्, त्यसै गरी साथीहरूले सहयोग गर्नुभयो, मैले यो काम सम्पन्न गर्न सकेँ । नत्र मलाई धेरै बाधाहरू थिए ।

महेन्द्र संस्कृत विश्वविद्यालयमा एक वर्षसम्म परियोजना प्रस्ताव रोकियो तर त्यहाँ काम भएन । त्यसपछि मैले स्व. टीकाराम पन्थीलाई ‘नदिने भए दिन्नँ भन्नुहोस्, म अर्को बाटो लिन्छु’ भनेँ । कम्युटर गराएको ठाउँमा पनि बदमासी भयो, अन्तै लगेर गराएँ । करेक्सन गर्ने बेला भयो तर काम हुँदै भएन । आफैँले कम्प्युटर सिकेर करेक्सन गर्दै गएँ । बनाउने क्रममा दुःख धेरै परेका थिए तर यो किताब आएपछि ती सबै दुःख मैले बिर्सिएँ ।

यो पुस्तक तयार गर्छु भन्ने बीजारोपण कसरी भयो ?

मैले विद्यार्थीहरूलाई पढाउँदै गएँ । सामग्री खोजेँ तर छैन । यताउति गरेर पढाउनुपर्‍यो । अर्को कुरा, धेरै अगि प्रज्ञा–प्रतिष्ठानमा एक जना अमेरिकी आएका रहेछन्- आफूलाई ६ महिनाभित्र संस्कृत पढाइदिने एउटा मान्छे माग गर्दै । उनले सो अवधिमा संस्कृतको पूरा जानकारी लिने इच्छा गरेछन् । तत्कालीन सदस्य–सचिव डा. तुलसी भट्टराईले मलाई लगाइदिनुभयो । तर, उसलाई केही थाहा थिएन, कुनै जानकारी नै थिएन, खाली जान्ने इच्छा मात्र थियो । फेरि भनेको कुरा बुझ्थ्यो तर उसलाई बुझाउने सामग्री भएन । मुखले भनेको भरमा जान्ने कुरा पनि भएन । त्यो विषयमा जानकारी राख्न पाए फुर्ती लाउन पाउँथ्यो उता गएर तर एकत्रित सामग्री हामीसँग भएन ।

‘संस्कृत वाङ्मय वैज्ञानिक छ’ भन्छन्, विज्ञानसम्मत कुराहरू पनि हामीले दिनुपर्छ । आयुर्वेद, ज्योतिष, धर्मशास्त्र, दर्शनका कुरा जान्नुपर्छ । अध्येतालाई परिचयात्मक ढङ्गले बुझ्न सक्ने बनाउनुपर्छ भनेर संस्कृत वाङ्मय चिनाउने खालका सामग्री कसरी दिन सकिन्छ ? भन्ने एउटा मानसिकता बन्यो । संस्कृतका वाचस्पत्यम, शब्दकल्पद्रुम आदिले अलि अलि काम गरेका छन् । त्यसबाट पनि म केही प्रभावित भएँ । त्यसैले अरूले नगरेको क्षेत्रमा हात हालौँ भनेर नेपालीमा कोश तयार गरेँ ।

सामान्यतः शब्दकोश सामूहिक रूपमा तयार हुन्छन् तर एक्लै बनाउने निचोडमा कसरी पुग्नुभयो ?

हो, यस्ता गहन कामहरू सामूहिक वा संस्थागत रूपमा गरिन्छ । संस्थाले व्यक्तिहरू सङ्कलन र समन्वय गरेर, प्रशस्त पैसा खर्च गरेर काम गराउँदा त्यसो हुने हो । तर, त्यस्ता काम एक्लै पनि गर्न सकिन्छ । किनभने आफूलाई चित्त बुझेको कुरा, अविवादित कुरा लेख्ने हो । समाजलाई के चाहिएको छ, त्यो दिने हो । यही मानसिकता बोकेर यो काम गर्न थालेपछि समय लागे पनि मलाई कहिल्यै अल्छी लागेन । अध्ययन गर्दै गएँ, काम गर्दै गएँ । नयाँ शब्दहरू भेट्तै गएँ, अथ्र्यांउँदै गएँ । ५०–६० हजारका त किताबै किनेर ल्याएँ बनारसबाट । ती सामग्री उपयोग गर्दै जाँदा मलाई त्यसैमा रमाइलो भयो । धेरै जना भए छलफल, झगडा के हुन्थ्यो ? उसले गरोस् भन्ने किसिमको भावना आउँथ्यो । साँच्चै भन्ने हो भने हामी नेपालीमा मिलेर गर्ने शैली नै छैन । मिलेर गर्न स्तर पनि एकै किसिमको हुनुपर्छ । तपाईं के गर्नुहुन्छ ? गर्नुहोस् भनेर पन्छिने प्रवृत्ति छ हामीसँग । त्यस कारण मलाई एक्लै सजिलो लाग्यो । मैले एकट पटक एक जना साथीसँग मिलेर विश्वविद्यालयका किताब लेखेको थिएँ । त्यति बेला मलाई दिक्क लाग्यो । साथीहरूसँग सहयोग मागेँ, सहयोग गर्नुभयो तर मेरो गतिसँग तालमेल भएन । त्यसैले म एक्लै गर्ने निचोडमा पुगेँ ।

तत्सम शब्दको समस्या नेपालीमा बढी नै देखिन्छ । पछिल्लो समय अङ्ग्रेजी माध्यमका कारण नेपाली भाषाको स्तर कमजोर भइरहेको बताउँछन् विद्वान्हरू । विज्ञहरू नेपाली भाषाको संरक्षण र विकासमा लागिपरेका छन् तर स्थिति अझ खस्कँदो छ । अङ्ग्रेजी माध्यमको पढाइसँगै खस्किँदै गएको नेपाली भाषालाई उकास्न के सुझाव छन् यहाँसँग ?

नेपाली भाषाको विकासका लागि अलिकति त अहिलेको हाम्रो पाठ्यक्रममै परिवर्तन गर्नुपर्छ । अर्को कुरा, वर्णविन्यासबारे विद्वान्हरूबिच बेकारको झगडा छ, त्यसलाई स्थिर गर्नुपर्छ । किनभने वर्णविन्याससम्बन्धी कुरा १०-१५ वर्षमा परिवर्तन भइरहन्छन् । यसमा झगडा गरिरहनु हुँदैन । अहिले जसले जे लेखे पनि हुने अवस्था छ नेपाली भाषामा- ह्रस्व लेखे पनि हुन्छ, दीर्घ लेखे पनि केही छैन । शब्दहरू आफू खुसी प्रयोग गरे भइरहेको छ । यसले ‘नेपाली भाषा जेजसरी लेखे पनि हुन्छ’ भन्ने गलत मानसिकता आइरहेको छ मान्छेहरूमा । एक किसिमले अनियन्त्रित अवस्थामा छ नेपाली समाज । यसबाट खास गरेर तत्सम शब्दको पहिचान र प्रयोगमा विद्यार्थीलाई समस्या छ । किनभने केटाकेटीले कुन तत्सम, कुन तद्भव, कुन आगन्तुक भनेर कसरी चिन्ने ? त्यसका कुनै आधारभूत किताबहरू लेखेको देखिँदैन । त्यसैले तत्सम, तद्भव र आगन्तुक नभनेर नेपाली भाषाको व्याकरण लेख्नुपर्छ । ती सबै नेपाली भाषाका शब्द हुन् । संस्कृतबाट आएका पनि तत्सम नेपाली शब्द हुन्, तद्भव नेपाली भयो, आगन्तुक पनि नेपालीमै ल्याइएको हो । नेपाली भाषामा यस्ता नियमहरू बनाउनुपर्छ, जसले सबैलाई समेटोस् र विद्यार्थीलाई सिक्न÷सिकाउन सजिलो होस् । ‘तत्सम जस्तो लेखेको छ त्यस्तै लेख्ने, नेपालीमा यस्तो लेख्ने, आगन्तुकलाई यसरी प्रयोग गर्ने’ के भनेको यो ? मैले बुझेको छैन त्यसको अर्थ ।

नेपाली भाषाको सहज सिकाइका लागि के गर्दै हुनुहुन्छ तपाईं आफैँचाहिँ ?

परिणाम नआई बोल्नु त हुँदैन तर यी सबै समस्या सम्बोधन गर्न एउटा व्याकरणको काम थालेको छु । समस्या धेरै छन्, सबैलाई टुङ्गो लाउनु आवश्यक छ । त्यसैले परिणामको आशा गरौँ, अहिल्यै घोषणा गर्नु उपयुक्त ठानिनँ मैले ।