१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला

नेपाली भाषा जे जसरी लेखे पनि हुन्छ भन्ने गलत मानसिकता छ : कोशकार प्रा.नीलमणि ढुङ्गाना (अन्तरवार्ता)

नेपाली भाषा जे जसरी लेखे पनि हुन्छ भन्ने गलत मानसिकता  छ : कोशकार प्रा.नीलमणि ढुङ्गाना (अन्तरवार्ता)
अ अ+ अ-

काठमाडौँ । साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ । नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो । कोशकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्ने बारेमा कोशमा उल्लेख गर्नुभएको छ । कोशमा धातुका प्रतिनिधि रुप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् भने २ हजार पारिभाषिक शब्द छन् । अहिलेसम्म नेपाली भाषामा यस किसिमको शब्दकोश प्रकाशित भएको छैन । यसमा प्रयोग भएका संस्कृतका शब्दहरु संस्कृत वाङ्मयमा बढी प्रचलित छन् । केही नेपाली वाङ्मयमा पनि प्रयोग गरिएका छन् । तिनलाई देवनागरिक लिपिको परम्पारगत वार्णिक प्रणालीका क्रममा अथ्र्याइएको छ । शब्दहरुको प्रयोगस्थल निर्देश हेर्दा अधिकांश सूक्तिमय काव्यबाट लिइएको छ । यसै सन्दर्भमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले कोशकार प्राध्यापक नीलमणि ढुङ्गानासँग गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।   

व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश हालै सार्वजनिक भएको छ, यो कस्तो शब्दकोश हो ?

यो ‘व्युत्पत्तिमूलक’ शब्दकोश हो । यसले धेरै कुराको सूचना दिएको छ । कुनै विषयमा आफूलाई शङ्का लाग्यो भने यसमा पल्टाएर हेर्दा शब्दको समान्य अर्थदेखि परसम्म गएर त्यसको गहन अर्थसमेत यसले प्रस्ट राखेको छ । उदाहरणका निमित्त एउटा सानो कुरा हेरौँ ।

‘भैरव’ शब्दको अर्थ सामान्यतः ‘डरलाग्दो’ हुन्छ । अथवा, एक देवताविशेष भन्ने हुन्छ । तीबाहेक भैरव शब्दले अरू केके कुरा अथ्र्याउँछ ? नेपालमा केकति भैरव छन् ? तिनीहरूको केकस्तो शक्ति छ ? ती सबै कुरा यसमा उल्लेख छन् । त्यस्तै ‘आश्व’ शब्दको अर्थ ‘पवित्र’, ‘पवित्रता’, ‘पवित्र हुने स्थिति’ भन्ने देखिन्छ तर यस कोशमा त्यति मात्र नभएर हाम्रो जीवनसँग सम्बद्ध आश्वसम्बन्धी सबै व्यवस्थालाई आश्व शब्दभित्र सङ्केत गरेको छ ।

त्यसै गरी आकाशीय पिण्डहरूबारे पनि यसमा सकेसम्म बढी ज्ञान दिने दृष्टिकोणले चिनाउने प्रयास गरिएको छ । उदाहरणका निमित्त ‘अश्विनी’ शब्द हेरौँ । सामान्य शब्दकोशहरूमा हेर्दा यसको अर्थ ‘एक नक्षत्र’ वा ‘एक तारा’ वा ‘२७ मध्ये पहिलो नक्षत्र’ मात्र भेटिन्छ तर व्युत्पत्तिमूलक शब्दकोश त्यतिमा मात्र सिमित छैन । यसमा अश्विनी शब्दको अर्थ के ? अश्विनी नक्षत्रमा कतिवटा तारा हुन्छन् ? यसको मुख्य तारा कुन हो ? यो पृथ्वीबाट कति टाढा छ ? यसलाई कसरी चिन्ने ? यस्ता सबै कुरा उल्लेख छन् । त्यसैले कुनै पनि शब्द पल्टाएर हेर्दा पाठकले त्यसबाट केही न केही नयाँ ज्ञान आर्जन गरेकै हुनुपर्छ भन्ने दृष्टिकोण यसमा राखिएको छ ।

‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ भनिएको छ, खासमा यो ‘व्युत्पत्ति’ भनेको चाहिँ के हो ?

‘व्युत्पत्ति’ शब्दको अर्थ ‘बहुज्ञाता’ हो, सकेसम्म बढी जान्ने । जस्तो, हाम्रो समाजमा प्रचलित छ- ‘यो केटो व्युत्पन्न छ ।’ यसको अर्थ ‘त्यो केटाले शब्द तोड्न जान्दछ’ भनेको होइन, ‘त्यो केटो कतिसम्म धेरै कुरा जान्दछ’ भन्ने तहमा ‘त्यसले सकेसम्म धेरै कुरा जानेको छ’ भन्ने अर्थबोध हुन्छ । यो शब्दकोशले कुनै पनि विषयमा सकेसम्म बढी सूचना दिने काम गरेको छ ।

व्युत्पत्ति दुई किसिमका हुन्छन्- ‘शब्दगत’ र ‘अर्थगत’ । व्युत्पत्तिमूलक शब्दकोश ‘शब्दगत व्युत्पत्ति’ मा मात्र सीमित छैन, यसले ‘अर्थगत व्युत्पत्ति’ र त्यो शब्दबाट आउने अर्थको बहुज्ञातासमेत दिन खोजेको छ । त्यसैले यसलाई ‘व्युत्पत्तिमूलक’ भनिएको हो ।

अरू शब्दकोश र यो शब्दकोशमा फरक के छ ?

मैले अहिलेसम्म देखेका शब्दकोशहरूमा सामान्य अर्थ दिइएको छ भने यसले व्युत्पत्ति दिएको छ । अरू शब्दकोशमा कुनै पनि शब्दको सामान्य अर्थबोध गरे पुग्छ भने यसमा त्यो शब्दको अर्थको विषयमा जान्न खोजेका सकेसम्म धेरै कुरा पाइन्छ ।

त्यसो भए यो शब्दकोश विषयप्रधान कि शब्दप्रधान ?

यो शब्दकोश शब्दप्रधानभन्दा बढी विषयप्रधानतातिर केन्द्रित छ । अर्थात् शब्दगत अर्थ त छँदै छ, यसलाई विषयप्रधान बनाउने प्रयास भएको छ । त्यसैले कतिपय शब्दहरू यहाँ छुट्न गएका छन् । शब्दप्रधान भए शब्दमा बढी जोड दिइन्थ्यो तर यसमा विषयलाई बढी चिनाउने प्रयास भएको छ ।

यस शब्दकोशमा ३७ हजार शब्दको अर्थगत व्याख्या छ तर कोशको आकार हेर्दा १४२० पृष्ठ छ । यसलाई ‘शब्दकोश’ भन्दा पनि फरक किसिमको परिचय दिँदा के हुन्थ्यो ?

कालिदासले भनेका छन्- ‘शब्द’ र ‘अर्थ’ को सम्बन्ध अत्यन्त निकट हुन्छ । ‘उमामहेश्वर’ सम्बन्ध जस्तै ‘वाक’ र ‘अर्थ’ को सम्बन्ध छ । जहाँ शब्द रहन्छ, त्यहाँ अर्थ रहन्छ । त्यस्तै जहाँ अर्थ रहन्छ, त्यहाँ शब्द रहन्छ । त्यसमा अन्योन्याश्रित सम्बन्ध छ । कुनै पनि अर्थको विस्तार गर्दा शब्द नभई हुँदैन । संस्कृतमा प्रयोग भएका शब्दहरूलाई लिइसकेपछि त्यसको अर्थ कतिसम्म पर पुगेको छ ? भन्ने कुरा देखाउँदा यो विषयप्रधान कोश भएको छ । वास्तवमा शब्दकोशमा रहने शब्द नै हो । त्यसैले शब्दहरू सङ्कलन गरियो र तिनको अर्थ कति गहिरो छ ? कहाँसम्म छ ? भन्ने कुरा यसमा देखाउन खोज्दा आकार ठूलो भएको हो ।

यो कोश प्रयोजनपरक पनि छ । नेपाली भाषामा अध्ययन गर्ने मान्छेले, नेपालीमा एमए गर्ने विद्यार्थीले साहित्यका रस, ध्वनि, अलङ्कार जस्ता पारिभाषिक कुराहरूमा सामान्य अर्थ जानेर पुग्दैन । त्यसैले तिनको सिद्धान्त नै दिइएको छ यहाँ । दर्शनका कुराहरूबारे कसैलाई जान्ने इच्छा भयो भने यसबाट सहज ज्ञान प्राप्त हुन्छ । जस्तै, ‘बौद्धदर्शन’ शब्दभित्र त्यसका सैद्धान्तिक–व्यावहारिक सबै कुराहरू संक्षिप्तमा राखिएको छ । त्यसै गरी वेदबारे हामीलाई थाहै छैन । सामान्य शब्दकोशले वेदको अर्थै गर्दैन । वेद भनेपछि ती केकति छन्, कति मन्त्र छन्, कति अनुवाद छन् ? वेदान्त के हुन् ? ती सबै यसमा दिइएको छ । यजुर्वेद, ऋग्वेदहरूको काम के ? मीमांसा, दर्शनहरूको के मान्यता हो ? त्यसका प्रयोक्ता को कुन् ? लेखक कोको हुन् ? ती सबै दिइएको छ । तर, आधार शब्द नसमाती नहुने भएकाले शब्दको क्रम बन्यो । हरेक शब्दको आफ्नो व्युत्पत्ति छ । साथै अर्थगत व्युत्पत्ति दिँदा त्यो शब्द पढेपछि त्यसले जेजति जान्नुपर्ने हो, त्यो कुरा वस्तुगत रूपमा राखिएको छ । यहाँ भाव, कल्पना छैन, जेजस्तो जान्नुपर्ने हो, त्यो स्रोतअनुसार यथार्थ रूपमा उल्लेख गरिएको छ ।

यहाँ हरेक शब्दका लामा व्याख्या छन्, यसलाई विश्वकोश भन्न मिल्दैन ?

‘विश्वकोश’ भन्दा हुन्छ किनभने विश्वकोश पनि मूलतः शब्दकै माध्यम हो । तर, विश्वकोश भनेर जुन परिभाषा गरिएको छ, त्यो सबै लक्षण यसमा मिल्छ-मिल्दैन, म भन्न सक्दिन । तथापि संस्कृत वाङ्मयको चाहिँ विश्वकोश नै हो यो ।

यो कोश विशेषतः कसका लागि उपयुक्त छ ?

यो सबैका निमित्त हो । जसलाई शब्द सिक्नु छ, शब्दको प्रकृति–प्रत्यय छुट्याउनु छ । उसलाई यो शब्दकोश उपयुक्त लाग्छ । जस्तो, मानव+ता । त्यस्तै, उपसर्ग, प्रत्यय लागेर बनेका सबै तत्सम शब्दहरूको प्रयोग यहाँ भेटिन्छ । यस अतिरिक्त जो संस्कृत व्याकरण पढ्न चाहन्छन्, उनीहरूका निमित्त सबैभन्दा महत्त्वपूर्ण छ । किनभने सूत्रहरूसहित त्यसले गर्ने काम, कुरासमेत राखिएको छ । ‘गल्ती प्रयोग नहोस्’ भन्ने दृष्टिकोण छ संस्कृत व्याकरणबारे जान्न चाहनेहरूका लागि । संस्कृत भाषामा प्रवेश गर्न चाहनेहरूका लागि प्रशस्त सामग्री छन् । संस्कृत नपढ्ने तर संस्कृतबारे जानकारी राख्न चाहनेहरूका लागि पनि महत्त्वपूर्ण छ । जस्तो, वेदबारे संस्कृतबाटै पढ्न गाह्रो छ । रामायण भनेको के ? महाभारत के ? कुन महाभारतका कति पर्व छन्, ती पर्वमा के छ ? त्यसको संक्षिप्त र वस्तुगत सूचना यसमा उतारिएको छ । त्यस्तै, ग्रह, तारा, नक्षत्र वा आकाशीय पिण्डहरूबारे वैज्ञानिक दृष्टिले अध्ययन गर्न कसैले चाह्यो भने यसले बाटो देखाउँछ । जस्तै यहाँ राखिएका चार महिनाका तारामण्डल हेरेर ती समयमा आकाशमा हेर्न थाल्नुभयो भने ती ताराहरू तपाईं आफैँ चिन्न सक्नुहुन्छ । सिधा उभिने, आफू सिधा कुन तारो छ त्यो हेर्ने, त्यहाँ त्यसको नाम दिएको छ । त्यसबाट पूर्व, पश्चिम, दक्षिण, उत्तरतिर हेर्दै जाँदा जुन बेला भनेको छ, त्यो समयमा हेर्नुभयो भने ती सबै ताराहरू चिन्न सक्नुहुन्छ । त्यस कारण यसमा आधुनिक वैज्ञानिक दृष्टिकोण पनि प्रयोग भएको छ ।

ज्योतिषका दृष्टिले पनि धेरै कुराहरू यसमा समावेश छन् । पृथ्वीबाट कुन तारा कति टाढा छ ? उल्का भनेको के ? कति किसिमका हुन्छन् ? उल्का र तारामा के फरक छ ? शिशु ग्रहहरू कति छन् ? के, कस्ता छन् ?  

सबै कुरा यसमा उल्लेख छन् । यसले विज्ञान पढ्ने तल्लो तहका विद्यार्थीलाई पनि सहयोग पुर्‍याउँछ । ग्रहणबारे, सूर्य, चन्द्र आदिबारे सूचना छन् । चन्द्र धरातलबाट पृथ्वी कस्तो देखिन्छ, पृथ्वीमा लाग्ने ग्रहण कस्तो हुन्छ ? त्यसको चित्रणसहित रोचक विषय छन् यसमा । त्यस्तै, विज्ञानले विभिन्न आधुनिक ढङ्गले चर्चा गरेका कुराहरू पनि संस्कृतकै हुन् । अर्थ गर्दा ती चिजहरूलाई पनि लिएको छु ।

यस्ता शब्दकोश यसअगि आएका छन् कि छैनन् ?

छैनन्, मैले देखेको छैन । नेपाली भाषामा त आएकै छैन । हिन्दीमा कतै, केही छ कि भनेर खोजेँ । त्यो किसिमको देखिनँ । संस्कृतमा दुई वटा व्युत्पत्तिमूलक शब्दकोश प्रकाशित छन्- शब्दकल्पद्रुम र वाचस्पत्यम । सामान्य पाठकका लागि तिनबाट काम हुँदैन । त्यसमा पनि नेपालीपरक शब्दहरू नेपाली भाषामा आएर प्रयोग भइसकेका र नेपालीले व्यवहारमा ल्याइसकेका कुराहरू त्यहाँ पर्दैनन् । त्यस कारण यो शब्दकोश केवल संस्कृत शब्दको मात्रै भन्ने होइन । यसमा नेपाली भाषामा आइसकेका संस्कृतका शब्दहरूका आधारमा तिनीहरूको अर्थापन भएको छ, जुन संस्कृतका व्युत्पत्तिमूलक कोशहरूमा पाइँदैनन् । त्यसैले यो नेपालीका निमित्त नेपालीपरक कोश हो । मैले यसलाई नितान्त नौलो ठानेको छु ।

संस्कृत शब्द व्युत्पत्ति भएर बनेका शब्दहरूको व्याख्या, तिनको प्रयोग, धार्मिक–वैज्ञानिक महत्त्व, कुन ठाउँमा, कहिले, कसरी प्रयोग भयो आदि सम्पूर्ण दृष्टिकोण राखेको रहेछ ? तर, यहाँ ‘रुरु क्षेत्र’ समावेश छैन, ‘प्रशासनिक’ जस्ता शब्दहरू भेटिँदैनन् नि ?

यो शब्दकोश भएकाले यसमा प्रामाणिक कुरा लेख्नुपर्छ । कल्पनाका आधारमा शब्दकोश बन्दैन । त्यस कारण मैले जति स्रोत भेटेँ, त्यहीअनुसार लेखेँ । प्रत्येकको स्रोत दिएको छु । बराहपुराणका आधारमा बराह क्षेत्रको लेखेँ, मुक्तिनाथको लेखेँ । प्रशस्त चर्चा भए पनि ?? क्षेत्रबारे भनिएको सामग्री मैले त्यो बेला पाउन सकिनँ । तथापि नेपालमा जेजति धार्मिक स्थल छन्, तिनीहरूको चलनचल्तीको आधारमा मैले सूची बनाएँ । देवीको चर्चा आयो भने मेचीदेखि महाकालीसम्म कहाँ, के, कति देवी छन्, सबै लेखेँ । त्यस्तै विष्णुको विवरण दिएको छु, शिवको दिएको छु । मैले अध्ययन गर्दा के देखेँ भने वास्तवमा यो शिवशक्तिप्रधान देश हो । विष्णुको ज्यादै कम छ । तराई क्षेत्रमा अलिअलि छ । पहाडी क्षेत्रमा देवी र शिवजीका मन्दिरहरू धेरै छन् ।

त्यस्तै बुद्धबारे दिएको छु । जैनहरूको पनि दिएको छु । सो क्रममा मैले खास प्रमाण नभेटेका र अर्को संस्करणको निमित्त थाँती राखेका केही शब्दहरू छन् । तिनैमध्ये रुरु क्षेत्र पनि परेको छ । मैले एक जना विद्वान्सँग सामग्री मागेको छु । रुरु मृग हो कि शङ्खमद ? अर्थगत रूपमा हेर्दा रुरु भनेको मृग हो तर यसको प्रयोग कहाँ छ, कसले बयान गरेको छ ? ‘त्यो सामग्री पाएपछि लेखिहाल्छु’ भनेको छु ।

आगन्तुक शब्दका कारण हामीबीच कतिपय बोलीचालीका शब्दहरू हराउँदै गएका छन्, त्यस्ता शब्दहरू पनि समावेश छन् ?

कतिपय त्यस्ता शब्दहरू पनि छन् यसमा । किनभने संस्कृतमा पनि हराइरहेका शब्दहरू पछि आएका छन् । जस्तो, ‘केन्द्र’ शब्द वैदिक साहित्यमा छैन तर ज्योतिषशास्त्रमा व्यापक छ । ‘केन्द्र’ वैदिक शब्द हो वा पछि थपिएको ? हेर्दा यो पछि आएको देखिन्छ तर त्यहाँबाट आयो भन्न सक्ने अवस्था छैन । यसबाट धेरै शब्द बनेका छन् । धेरै विद्वान्हरूसँग छलफल भयो- केन्द्र कि धातु हुनुपर्छ शब्द बनाउन, कि त्यसको कुनै न कुनै व्युत्पत्ति आउनुपर्छ । उहाँहरूले पनि भन्न सक्नु भएन । यसको कारण के पर्‍यो भने संस्कृतमा धेरै धातु थिए तर बिचमा ती लोप भए । केन्द्र पनि विभिन्न कारणले लुप्त भयो । त्यसैले त्यो हरायो, पछि त्यसलाई ल्याइयो ।

त्यसै गरी नेपाली भाषामा पनि कतिपय यस्ता शब्द छन्, जो आगन्तुक शब्द आएपछि क्रमशः विस्थापित भए । तिनलाई क्रमशः यस्तै शब्दकोशको माध्यमबाट लिएर आउनुपर्छ । ती हाम्रै शब्द हुन् किनभने बाबुबाजेको सम्पति आफ्नै मानिन्छ । संस्कृत भनेको नेपाली भाषाको आफ्नै सम्पत्ति हो । त्यसैले संस्कृतबाट आएका ती सबै शब्द आफ्नै हुन् । कतिपय शब्दहरू प्रयोग गर्‍यौँ, कतिपय गरेका छैनौँ । फरक त्यही मात्र हो ।

कोशमा ३५ हजार मूल शब्द र विभिन्न सन्दर्भमा तिनको प्रयोग भएको बताइन्छ । दुई हजारभन्दा बढी तर पारिभाषिक शब्द नै छन् । एकै जनाले तयार गर्दा धेरै समय लाग्यो, अध्ययन त निकै गर्नुपर्‍यो होला नि ?

यो १० वर्षको परिश्रम हो । राम्रो काममा धेरै विघ्नहरू पर्छन् तर ती विघ्नवाधासँग डराउनु हुँदैन । काममा लागिरहनुपर्छ । लागेको लाग्यै गरेपछि जतिसुकै अप्ठ्यारा आए पनि पार लगाउन सकिन्छ ।

अर्को कुरा, केही मान्छे असहयोगी हुँदा रहेछन्, द्वेषी पनि हुँदा रहेछन् । यसले काम गर्न लाग्यो, त्यो काम गर्न दिनु हुँदैन भन्ने पनि हुँदा रहेछन् । त्यो सबै मैले खपेँ । तर, ‘कहिले कहिले मित्रको समागम’ भनेको छु मैले । आकाशमा बादल लागिरहे पनि मित्रको समागमले गर्दा बादलहरू फाटे । अनि यो काम सम्पन्न भयो । वास्तवमा ‘मित्र’ शब्दका दुई अर्थ हुन्छन्-‘सूर्य’ र ‘सहयोगी वा साथी’ । सूर्य लागेपछि जसरी आकाशका बादल फाट्छन्, त्यसै गरी साथीहरूले सहयोग गर्नुभयो, मैले यो काम सम्पन्न गर्न सकेँ । नत्र मलाई धेरै बाधाहरू थिए ।

महेन्द्र संस्कृत विश्वविद्यालयमा एक वर्षसम्म परियोजना प्रस्ताव रोकियो तर त्यहाँ काम भएन । त्यसपछि मैले स्व. टीकाराम पन्थीलाई ‘नदिने भए दिन्नँ भन्नुहोस्, म अर्को बाटो लिन्छु’ भनेँ । कम्युटर गराएको ठाउँमा पनि बदमासी भयो, अन्तै लगेर गराएँ । करेक्सन गर्ने बेला भयो तर काम हुँदै भएन । आफैँले कम्प्युटर सिकेर करेक्सन गर्दै गएँ । बनाउने क्रममा दुःख धेरै परेका थिए तर यो किताब आएपछि ती सबै दुःख मैले बिर्सिएँ ।

यो पुस्तक तयार गर्छु भन्ने बीजारोपण कसरी भयो ?

मैले विद्यार्थीहरूलाई पढाउँदै गएँ । सामग्री खोजेँ तर छैन । यताउति गरेर पढाउनुपर्‍यो । अर्को कुरा, धेरै अगि प्रज्ञा–प्रतिष्ठानमा एक जना अमेरिकी आएका रहेछन्- आफूलाई ६ महिनाभित्र संस्कृत पढाइदिने एउटा मान्छे माग गर्दै । उनले सो अवधिमा संस्कृतको पूरा जानकारी लिने इच्छा गरेछन् । तत्कालीन सदस्य–सचिव डा. तुलसी भट्टराईले मलाई लगाइदिनुभयो । तर, उसलाई केही थाहा थिएन, कुनै जानकारी नै थिएन, खाली जान्ने इच्छा मात्र थियो । फेरि भनेको कुरा बुझ्थ्यो तर उसलाई बुझाउने सामग्री भएन । मुखले भनेको भरमा जान्ने कुरा पनि भएन । त्यो विषयमा जानकारी राख्न पाए फुर्ती लाउन पाउँथ्यो उता गएर तर एकत्रित सामग्री हामीसँग भएन ।

‘संस्कृत वाङ्मय वैज्ञानिक छ’ भन्छन्, विज्ञानसम्मत कुराहरू पनि हामीले दिनुपर्छ । आयुर्वेद, ज्योतिष, धर्मशास्त्र, दर्शनका कुरा जान्नुपर्छ । अध्येतालाई परिचयात्मक ढङ्गले बुझ्न सक्ने बनाउनुपर्छ भनेर संस्कृत वाङ्मय चिनाउने खालका सामग्री कसरी दिन सकिन्छ ? भन्ने एउटा मानसिकता बन्यो । संस्कृतका वाचस्पत्यम, शब्दकल्पद्रुम आदिले अलि अलि काम गरेका छन् । त्यसबाट पनि म केही प्रभावित भएँ । त्यसैले अरूले नगरेको क्षेत्रमा हात हालौँ भनेर नेपालीमा कोश तयार गरेँ ।

सामान्यतः शब्दकोश सामूहिक रूपमा तयार हुन्छन् तर एक्लै बनाउने निचोडमा कसरी पुग्नुभयो ?

हो, यस्ता गहन कामहरू सामूहिक वा संस्थागत रूपमा गरिन्छ । संस्थाले व्यक्तिहरू सङ्कलन र समन्वय गरेर, प्रशस्त पैसा खर्च गरेर काम गराउँदा त्यसो हुने हो । तर, त्यस्ता काम एक्लै पनि गर्न सकिन्छ । किनभने आफूलाई चित्त बुझेको कुरा, अविवादित कुरा लेख्ने हो । समाजलाई के चाहिएको छ, त्यो दिने हो । यही मानसिकता बोकेर यो काम गर्न थालेपछि समय लागे पनि मलाई कहिल्यै अल्छी लागेन । अध्ययन गर्दै गएँ, काम गर्दै गएँ । नयाँ शब्दहरू भेट्तै गएँ, अथ्र्यांउँदै गएँ । ५०–६० हजारका त किताबै किनेर ल्याएँ बनारसबाट । ती सामग्री उपयोग गर्दै जाँदा मलाई त्यसैमा रमाइलो भयो । धेरै जना भए छलफल, झगडा के हुन्थ्यो ? उसले गरोस् भन्ने किसिमको भावना आउँथ्यो । साँच्चै भन्ने हो भने हामी नेपालीमा मिलेर गर्ने शैली नै छैन । मिलेर गर्न स्तर पनि एकै किसिमको हुनुपर्छ । तपाईं के गर्नुहुन्छ ? गर्नुहोस् भनेर पन्छिने प्रवृत्ति छ हामीसँग । त्यस कारण मलाई एक्लै सजिलो लाग्यो । मैले एकट पटक एक जना साथीसँग मिलेर विश्वविद्यालयका किताब लेखेको थिएँ । त्यति बेला मलाई दिक्क लाग्यो । साथीहरूसँग सहयोग मागेँ, सहयोग गर्नुभयो तर मेरो गतिसँग तालमेल भएन । त्यसैले म एक्लै गर्ने निचोडमा पुगेँ ।

तत्सम शब्दको समस्या नेपालीमा बढी नै देखिन्छ । पछिल्लो समय अङ्ग्रेजी माध्यमका कारण नेपाली भाषाको स्तर कमजोर भइरहेको बताउँछन् विद्वान्हरू । विज्ञहरू नेपाली भाषाको संरक्षण र विकासमा लागिपरेका छन् तर स्थिति अझ खस्कँदो छ । अङ्ग्रेजी माध्यमको पढाइसँगै खस्किँदै गएको नेपाली भाषालाई उकास्न के सुझाव छन् यहाँसँग ?

नेपाली भाषाको विकासका लागि अलिकति त अहिलेको हाम्रो पाठ्यक्रममै परिवर्तन गर्नुपर्छ । अर्को कुरा, वर्णविन्यासबारे विद्वान्हरूबिच बेकारको झगडा छ, त्यसलाई स्थिर गर्नुपर्छ । किनभने वर्णविन्याससम्बन्धी कुरा १०-१५ वर्षमा परिवर्तन भइरहन्छन् । यसमा झगडा गरिरहनु हुँदैन । अहिले जसले जे लेखे पनि हुने अवस्था छ नेपाली भाषामा- ह्रस्व लेखे पनि हुन्छ, दीर्घ लेखे पनि केही छैन । शब्दहरू आफू खुसी प्रयोग गरे भइरहेको छ । यसले ‘नेपाली भाषा जेजसरी लेखे पनि हुन्छ’ भन्ने गलत मानसिकता आइरहेको छ मान्छेहरूमा । एक किसिमले अनियन्त्रित अवस्थामा छ नेपाली समाज । यसबाट खास गरेर तत्सम शब्दको पहिचान र प्रयोगमा विद्यार्थीलाई समस्या छ । किनभने केटाकेटीले कुन तत्सम, कुन तद्भव, कुन आगन्तुक भनेर कसरी चिन्ने ? त्यसका कुनै आधारभूत किताबहरू लेखेको देखिँदैन । त्यसैले तत्सम, तद्भव र आगन्तुक नभनेर नेपाली भाषाको व्याकरण लेख्नुपर्छ । ती सबै नेपाली भाषाका शब्द हुन् । संस्कृतबाट आएका पनि तत्सम नेपाली शब्द हुन्, तद्भव नेपाली भयो, आगन्तुक पनि नेपालीमै ल्याइएको हो । नेपाली भाषामा यस्ता नियमहरू बनाउनुपर्छ, जसले सबैलाई समेटोस् र विद्यार्थीलाई सिक्न÷सिकाउन सजिलो होस् । ‘तत्सम जस्तो लेखेको छ त्यस्तै लेख्ने, नेपालीमा यस्तो लेख्ने, आगन्तुकलाई यसरी प्रयोग गर्ने’ के भनेको यो ? मैले बुझेको छैन त्यसको अर्थ ।

नेपाली भाषाको सहज सिकाइका लागि के गर्दै हुनुहुन्छ तपाईं आफैँचाहिँ ?

परिणाम नआई बोल्नु त हुँदैन तर यी सबै समस्या सम्बोधन गर्न एउटा व्याकरणको काम थालेको छु । समस्या धेरै छन्, सबैलाई टुङ्गो लाउनु आवश्यक छ । त्यसैले परिणामको आशा गरौँ, अहिल्यै घोषणा गर्नु उपयुक्त ठानिनँ मैले ।