१४ असार २०८३, आईतवार
,
Latest
सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताराखोलामा मनाइन्छ भुस पोल्ने पर्व



अ+ अ-

गलकोट । बागलुङको ताराखोला गाउँपालिकाको मुख्य पर्वको रुपमा प्रचलित छ भुस पोल्ने पर्व । अर्गेली मगर समुदाय सामूहिक कृषि खेतीमा परिणत भएको दिनको सम्झनामा मनाइने पर्वलाई यहाँका स्थानीयले भुस पोल्ने पर्वको रुपमा मनाउँदै आएका छन् । 

पन्ध्रौँ शताब्दीपछि पाल्पाको अर्गलीबाट विस्थापित भएर आर्गली मगर समुदाय यहाँको ताराखोलाको अर्गलमा आएर बसाई सरेको इतिहास रहेको छ । यहाँ आएपछि सामूहिकरुपमा खेती गर्न सुरु भएको दिनलाई भुस पोल्ने पर्वको रुपमा मनाइँदै आएको छ । कात्तिकको २६ गतेलाई बीउ छर्ने ९छापो हाल्ने० दिनको रुपमा यहाँका मगर समुदायले भव्यरुपमा मनाउँदै आएका छन् । गत वर्ष कोरोनाका कारण परम्परामात्रै धान्य काम भएकोमा यस वर्ष धुमधामसँग भुस पोल्ने पर्व मनाइएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो । तीन दिनसम्म मनाइने भुस पोल्ने पर्व पहिलो दिन भुस पोल्ने, दोस्रो दिन खनजोत गर्ने र तेस्रो दिन बीउ छर्ने काम हुन्छ । 

बीउ छर्ने काम अर्थात् छापो हाल्ने काम प्रत्येक वर्षको कात्तिक २६ गते मनाइने गरेको छ । “ताराखोलामा भुस पोल्ने पर्व, सिस्नो खोस्ने पर्व र असारे मेला भव्यरुपमा मनाइन्छ तर ऐतिहासिक रुपमा हाम्रो मुख्य पर्व भनेको भुस पोल्ने पर्व हो”, गाउँपालिका अध्यक्ष घर्तीले भन्नुभयो, “चार वर्षदेखि गाउँपालिकाले भुस पोल्ने पर्वको रुपमा कात्तिक २६ गते गाउँपालिकाभर सार्वजनिक बिदासमेत दिँदै आएको छ ।” 

पर्वको मूल समारोह शुक्रबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको प्रमुख आतिथ्यतामा छापो हाल्ने कार्य भएको थियो । मन्त्री बरालले ताराखोला पर्वको उद्गमस्थल रहेको बताउनुभयो । कार्यक्रममा मन्त्री बरालको उद्घाटनसँगै अर्गलको सङ्खुगरोमा अविवाहित युवायुवतीले छापो हालेर जौ छरेर पर्व मनाएका थिए । 

अर्गलमा बसोवास गर्ने पुलिसा, ओसासा र नाओसा थरका घर्ती मगरले आफ्नो पहिचान र सभ्यताको रुपमा रहेको भुस पोल्ने पर्व मनाउँदै आएका छन् । अधिकांश मगर समुदाय बसोवास गर्ने अर्गल गाउँको भुस पोल्ने मेलाको छुट्टै विशेषता रहेको छ । पर्वका अवसरमा आफ्ना समुदायका मानिसको मृत्यु र जन्म संस्कारसँग सम्बन्धित गोपीचन गीत गाउने र नाच्ने गर्दछन् । पर्वको मुख्य दिन कात्तिक २६ गते  मगर समुदायभित्र एक वर्षभरि मृत्यु भएका आफ्ना परिवारका सदस्यको बरखी फाल्ने चलन भए पनि यस्तो चलन भने विस्तारै हराउँदै गएको स्थानीय सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । 

“भुस पोल्ने पर्वपछि बल्ल यहाँका स्थानीयले यो वर्षको खेती लगाउने चलन छ, पहिला मृत्यु संस्कार पूरा गर्न नसक्ने अवस्थामा पर्वकै दिन बरखी फाल्ने चलन थियो अहिले मृत्यु संस्कार सोही समयमै गर्ने गरेका छन्”, घर्ती मगरले भन्नुभयो, “भुस पोल्ने पर्व भनेको कृषि युगको शुरु भएको खुशियालीमा मनाइने पर्व हो, जस्का लागि अविवाहित युवायुवतीले बारी खनजोत गरेर बीउ छर्ने चलन रहिआएको छ ।”

सोही दिन पुर्खाले सामूहिक खेती सुरु गरेको सम्झनामा शङ्खुबारीमा छापे खन्ने र पूजाआजा गरी हिउँदे अन्नबालीको खेती सुरु गरिन्छ । दिउँसो ४ बजेको समयमा शङ्खुघरमा पूजाआजा गरी शङ्खुबारीमा छापे खन्ने र गहुँ, जौ छर्ने गरिन्छ । अविवाहित युवायुवतीले बारी नसकुञ्जेलसम्म नरोकी खन्ने गर्दछन् भने विवाहितले बीउ छर्ने गर्दछन् । पन्ध्रौँ शताब्दीदेखि सुरु भएको मानिने यस पर्वलाई अर्गलको प्रमुख उत्सवरुपमा मनाइँदै आइएको छ । 

शङ्खुबारीको बीचमा रहेको ढुङ्गालाई माटोले पुजेर बीउ झर्ने प्रचलन रहेको र यसलाई अहिलेको पुस्ताले समेत जोगाइराखेको स्थानीय सङ्गम घर्ती मगरले जानकारी दिनुभयो ।