काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले महाधिवेशन नजिकिँदै गर्दा विधान संशोधन गरी पदाधिकारी संख्या बढाउने तयारी गरेको छ । आसन्न १४ औं महाधिवेशनमा पदाधिकारीका प्रत्यासी धेरै भएपछि सभापतिमा दाबी गरिरहेका शीर्ष नेताहरू आन्तरिक व्यवस्थापन गर्न कांग्रेस लागिपरेको छ ।
जसअनुसार प्रत्यासीलाई व्यवस्थापन गर्न पदाधिकारी संख्या थप गरी विधान संशोधन गर्नेबारे शीर्ष तहमा संवाद भएको छ । कांग्रेसमा हाल ८ जना सहमहामन्त्री रहने व्यवस्था छ । समावेशी सिटहरु मात्रै भएकोले खुल्ला प्रतिस्पर्धीका लागि पनि २ सिट सहमहामन्त्रीका लागि उपलब्ध गराउने कांग्रेसको तयारी छ ।
अहिले २ जना उपसभापतिको व्यवस्था रहेको कांग्रेसमा दुवै उपसभापति खुल्ला प्रतिस्पर्धाबाट चुनिनेछन् । जसभित्र महिला उपसभापतिको व्यवस्था गर्नपनि कांग्रेसलाई दबाब बढेको छ ।