दुबईः अस्ट्रेलियाले टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबई इन्टरनेसनल स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा न्यूजील्यान्डलाई ८ विकेटले हराएर अस्ट्रेलियाले उपाधि चुमेको हो । टी–२० क्रिकेटको विश्वकपमा यो अस्ट्रेलियाको पहिलो उपाधि हो ।
टस जितेर पहिले क्षेत्ररक्षण रोजेको अस्ट्रेलियाले न्यूजील्यान्डका खेलाडीलाई खुलेर खेल्न दिएको थिएन । न्यूजील्यान्डका लागि कप्तान केन विलियम्सनले बनाएको सर्वाधिक ८५ रनको मद्दतले ४ विकेटको क्षतिमा न्यूजील्यान्डले १७२ रन बनाएको थियो । विलियम्सनले ३ छक्का र १० चौका प्रहार गरेका थिए ।
साथै, मार्टिन गप्टीलले २८, ड्यारिल मिचेलले ११, ग्लेन फिलिप्सले १८, जेम्स निशामले १३ रन बनाएका थिए ।
जितका लागि १७३ रनको चुनौती पाएको अस्ट्रेलियाका लागि डेभिड वार्नर र मिसेल मार्सले आक्रामक खेल कौशल प्रस्तुत गर्दै अस्ट्रेलियालाई सहज विजयतर्फ अघि बढाएका थिए ।
डेभिड वार्नरले व्यक्तिगत ३ छक्का, ४ चौकाको मद्दतले ३८ बलमा ५३ रन बनाएका थिए । उनी ट्रेन्ट बोल्टको बलमा आउट भएका थिए । कप्तान आरोन फिन्च फेरि एक पटक असफल रहे । उनले ५ रन मात्र बनाएर आउट भए ।
तर मिचेल मार्सले ४ छक्का, ६ चौका मद्दतले ७७ रन बनाए, र अन्तसम्म आउट भएनन् । ग्लेन म्याक्सवेलले २८ रन बनाएका थिए । उनले विजयी रन बनाएका थिए । एजेन्सी