काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग स्पष्टीकरण मागेके छ ।
खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदै एक मिडियामा अभिव्यक्ति दिएका कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीसँग क्यानले स्पष्टीकरण सोधेको हो ।
क्यानले आगामी बुधबारसम्म लिखित स्पष्टीकरण दिन समय तोकेको छ । गत कात्तिक १७ गते ज्ञानेन्द्रसहित चार खेलाडीले भिडियोमार्फत राष्ट्रिय क्रिकेटरको वर्गीकरणमा असन्तुष्टि व्यक्त गरेका थिए ।
क्यानले खेलाडीलाई छुट्टाछुट्टै सन्देश पठाउँदै नयाँ सम्झौतामा हस्ताक्षर गर्न भनेको र उक्त सम्झौताको विषयमा खेलाडीहरूलाई स्पष्ट नपारेकोमा उनीहरुले असन्तुष्टि जनाएका थिए ।
वर्गीकरणअनुसार ‘ए’ श्रेणीका क्रिकेटरलाई मासिक ५० हजार, ‘बी’ श्रेणीका क्रिकेटरलाई मासिक ४० हजार र ‘सी’ श्रेणीका क्रिकेटरलाई मासिक ३० हजार रुपैयाँ दिइँदै आएको छ ।
यसैगरी महिलातर्फ ‘ए’ श्रेणीमा रहेका क्रिकेटरले मासिक १५ हजार, ‘बी’ श्रेणीका क्रिकेटरले मासिक १२ हजार र ‘सी’ श्रेणीका क्रिकेटरले मासिक १० हजार रुपैयाँ पाउँदै आएका छन् ।
वर्गीकरणमा ढिलाइ भएपछि र अहिले खेलाडीको असन्तुष्टिले गर्दा राष्ट्रिय क्रिकेट टिमका खेलाडी मार्चपछिको मासिक तलब लिनबाट बञ्चित छन् ।