९ मंसिर २०८१, आईतवार
,
Latest
राहदानी विभागको कम्प्युटरमा भाइरस पसेपछि सेवा ठप्प दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा एमालेले बुझ्न मानेन बालेनले पठाएको जरिवानाको पत्र आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउँदै सरकार, आन्दोलनको तयारीमा चिकित्सकहरु पाकिस्तानमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा ८२ जनाको मृत्यु ‘स्त्री २’ को सफलतापछि राजकुमार रावले आफ्नो पारिश्रमिक बढाए ! मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध सरकारसँग व्यपारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस् कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योतिनगर पहिराको मुख्य कारणः मूलहरुको सतही बहाव



अ+ अ-

रुपन्देही । पानीको अव्यवस्थित सतही बहाव नै बुटवल पहिराको मुख्य कारण देखिएको छ । यहाँको पहिरालाई रोकथाम गर्ने पहिलो उपाय सतही र भूमिगत पानीको सही व्यवस्थापन भएको विज्ञले निष्कर्ष निकालेका छन् । 

पहिरा नियन्त्रणका लागि श्रवन डाँडा (पहिरा गएको डाँडो) को मध्य भागमा रहेका मूलहरुबाट बगेको पानीलाई पाइपमार्फत एकै ठाउँ जम्मा गरेर पुराना वा नयाँ नालीमा मिसाउनु उपयुक्त हुने राय विज्ञको छ । गत भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिराका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो । 

राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिको सहजीकरण र सहयोगमा समितिका सदस्य तथा भू(विपद् विज्ञहरु डा सुस्मिता ढकाल, डा रञ्जनकुमार दाहाल, डा मनिता दाहाल र ई सञ्जय देवकोटा सम्मिलित टोलीले ज्योतिनगरको माथिल्लो भागमा रहेको श्रवन डाँडा क्षेत्रको पहिराको स्थलगत अध्ययन गरेका थिए । “कुनै पनि भिरालो जमिनमा सतही पानी र भूमिगत पानीको सही व्यवस्थापन नगरे त्यस्तो भिरालो जमिन असन्तुलित हुनपुग्छ, श्रवन डाँडाको पहिरालाई रोकथाम गर्ने पहिलो उपाय पनि सतही पानी र भूमिगत पानीको सही व्यवस्थापन नै हो”, विज्ञ टोलीको प्रतिवेदनमा उल्लेख छ ।

अधिकांश स्थानमा मूलहरुबाट बगेको पानी खोल्सा बनेर व्यवस्थित ढङ्गले बगेको हुन्छ तर यहाँ त्यस्तो छैन । मूलहरुबाट बगेको पानी अव्यवस्थित ढङ्गले जताततैबाट बगेका कारण यहाँ पहिरा गएको हो । यहाँ ६ वटा ठूला मूल छन् । विज्ञका अनुसार वर्षातका बेला आकाशबाट बगेको पानी भिरालो जमिन हुँदै खोल्साखोल्सीहरुमा जम्मा भएर बग्ने गर्छ तर यहाँ त्यस्ता खोल्साखोल्सी पनि छैनन् र भल काट्ने काम पनि भएको छैन । मूलको पानी, आकासे वर्षा र भूमिगत पानीको व्यवस्थापन नहुँदा यहाँ पहिरा गएको हो । 

गत भदौ महिनामा गएको पहिराका कारण चुरे क्षेत्र अहिले छियाछिया छ । यो वर्ष उपमहानगर-३ मा पर्ने ज्योतिनगरको माथिल्लो भागमा मात्रै करिब ७० हेक्टर क्षेत्रमा पहिरो गएको छ । यो भीमकाय पहिराका कारण श्रवन डाँडाको माथिल्लो भू-भाग नै बगेर सिधै बुटवल बजारतर्फ सोझिएको छ । यो क्षेत्रमा गत वर्षदेखि पनि पहिरो गएको थियो । विज्ञको टोलीले यहाँको भौगोलिक बनावटलाई व्याख्या गर्दै आफ्नो अध्ययन प्रतिवेदनमा लेखेको छ, “यो पहिरा चुरे पर्वत शृङ्खलाको तल्लो शिवालिक गु्रपअन्तर्गत पाइने मडस्टोन, स्यान्डस्टोन र मार्ल नामक चट्टानहरुले बनेको छ । यो भित्री चट्टानको माथिल्लो पत्रका रुपमा चिम्ट्याइलो माटो, सिल्ट र केही बालुवा मिसिएको माटो रहेको छ । यस्तो माटोलाई कोलुभिएम भनिन्छ र यो माटोमा वर्षाको पानी सजिलै छिरेर बग्न सक्ने हुन्छ ।” 

श्रवन डाँडाको माथिल्लो भागमा कोलुभिएमको पत्र कम हुनु र चट्टान ठाडो फुट्ने प्रवृत्तिको भएकाले वर्षातको पानी सजिलै भित्र छिरेर तलबाट मूल फुटेर बग्ने गरेको भेटिएको भू(विपद् विज्ञ सुस्मिता ढकालले बताउनुभयो । उहाँका अनुसार यसपालिको मनसुनले रुपन्देहीमा प्रशस्त पानी परेका हुनाले श्रवन डाँडा क्षेत्रमा भएका पुराना मूलहरुमा प्रशस्त पानी बग्न थालेको र नयाँ मूल फुटेर पनि डाँडाको मध्य भागबाट यत्रतत्र बग्न थालेको भेटिएको छ । यसले गर्दा पहिरो बग्न थालेको र तल्लो भागमा पानी माटोभित्र छिरेको हुनाले भेल पहिरा बग्न थालेको देखिएको ढकालको भनाइ छ । 

माथिबाट खसेको बक्राकार स्खलन पहिराको तल्लो भागतिर ससाना पहिराले क्षणिक रुपले ड्याम बन्ने र विस्फोट हुने हुँदा ज्योतिनगर क्षेत्रमा भेल पहिरा आएको थियो । स्थलगत अध्ययनको सिलसिलामा लक्ष्मीनगरभन्दा माथि रहेको डाँडामा एउटा दुई मिटरभन्दा गहिरो र १२-२० मिटर लामो र पाँच मिटर चौडा पोखरी पनि बनेको देखिन्छ र यस्ता पोखरीहरु फुटेमा तल्लो क्षेत्रमा धेरै क्षति हुनसक्ने सम्भावना पनि छ, सो प्रतिवेदनमा उल्लेख छ । यसरी बगिरहेको पानीको सही व्यवस्थापन नगरेसम्म श्रवन डाँडाको पहिरा अति जोखिममा रहेको उनीहरुको भनाइ छ ।

प्रतिवेदनअनुसार ज्योतिनगरको पहिरो प्रभावित क्षेत्र पहिल्यै पहिचान भएको जोखिम क्षेत्र हो । तर यो विषय सबैलाई थाहा थिएन । २०३४/३५ सालमा तत्कालीन राजा वीरेन्द्रले यस क्षेत्रमा चुरे पहाड संरक्षणका लागि कार्यक्रम ल्याउन निर्देशन भएपछि भूताहा, चिसापानी, माकर तथा चिडियाखोला गाउँ पूरै बस्ती स्थानान्तरण गरिएको थियो । यो स्थानान्तरण गर्दा तामनगर र बर्दघाट क्षेत्रमा स्थानीयवासीलाई जग्गा  उपलब्ध गराइएको थियो । तर सरकारले नयाँ ठाउँमा जग्गा उपलब्ध गराउँदा पुरानो ठाउँको जग्गा सरकारीकरण गरेन र जोखिम क्षेत्रको जग्गा पनि स्थानीयवासीका नाममा नै रहिरह्यो ।

बुटवलको सहरीकरण तथा आकर्षण बढेसँगै यो ठाउँको पहिरालाई स्थानीयवासीले पनि बिर्सिए । जोखिम हुँदाहुँदै पनि यहाँको जग्गा पनि किनबेच भयो । बिस्तारै बस्ती बस्यो । विभिन्न जिल्लाबाट बसाइँसराइ गरी आएकाहरुका घरहरु पहिरामा परेर पुरिए । २०५५ सालको पहिरामा २१ घर पुरिएका थिए भने ५७ घर प्रभावित भएका थिए । यो क्रम अहिले पनि दोहोरियो । यस पटक पनि करिब डेढ दर्जन घर पुरिए । ज्योतिनगरका धेरै घरमा ढुङ्गामाटोसहितको लेदो पस्यो ।

समस्याका कारण पत्ता लागेपछि त्यसको समाधान पनि निकाल्न सकिन्छ । यसका लागि सबैभन्दा पहिले पहिरो नियन्त्रणसम्बन्धी भ्रमहरु हटाउनु जरुरी रहेको अर्का विज्ञ डा रञ्जनकुमार दाहालले बताउनुभयो । उहाँका अनुसार पहिलो भ्रम के हो भने, अत्यधिक पहिराहरु मानव गतिविधिका कारण जाने गर्छन् तर हामी यो स्वीकार्न तयार हुँदैनौ । दोस्रो भ्रम समुदायले पहिरा नियन्त्रणका लागि केही गर्न सक्दैनन् भन्ने हो । अनि, सरकारी निकायले मात्र पहिरो नियन्त्रण गर्न सक्छ र गर्नुपर्छ भन्ने गलत बुझाइ हाम्रो समाजमा छ । तर वास्तवमा पहिरा नियन्त्रणमा समुदायको प्रमुख भूमिका हुन्छ । संरचना निर्माण गर्दा पनि सामान्य जनताको भूमिका महत्वपूणर् हुन्छ । त्यसैले पहिरा नियन्त्रणको सामान्य ज्ञान भएमा सर्वसाधारणले पनि पहिरा रोक्नमा ठूलो मद्दत गर्न सक्छन् ।

पहिरा नियन्त्रणमा तेस्रो भ्रम भनेको पहिरा रोक्न ठूला संरचना नै चाहिन्छन् भन्ने हो । अधिकांश पहिरा मानव गतिविधिका कारण जाने गर्छन् तर हामी यो स्वीकार्न तयार हुँदैनौँ । दोस्रो भ्रम समुदायले पहिरा नियन्त्रणका लागि केही गर्न सक्दैनन् भन्ने हो । अनि, सरकारी निकायले मात्रै पहिरा नियन्त्रण गर्न सक्छ र गर्नुपर्छ भन्ने गलत बुझाइ हाम्रो समाजमा छ । तर, वास्तवमा पहिरा नियन्त्रणमा समुदायको प्रमुख भूमिका हुन्छ । संरचना निर्माण गर्दा पनि सामान्य जनताको भूमिका महत्वपूणर् हुन्छ । त्यसैले पहिरा नियन्त्रणको सामान्य ज्ञान भएमा सर्वसाधारणले पनि यसलाई रोक्नमा ठूलो मद्दत गर्न सक्छन् ।

अधिकांश पहिरा समयको अवधिमा आफैँ स्थिर भएको पनि देखिन्छ । यसैले, पहिरा समुदायको साधारण क्रियाकलाप पछि रोकिन्छन् वा नियन्त्रित हुन्छन् । चौथो भ्रम भनेको पहिराको नियन्त्रणमा खर्च गर्न बजेटमा प्राथमिकता नहुनु हो । पहिरा लगेको जमिनबाट कुनै आर्थिक लाभ हुँदैन भनेर बजेटको प्राथमिकतामा नपरेको हो । श्रवन डाँडाको पहिराका लागि पनि समुदायले प्रयास गरेको देखिन्छ । त्योबाहेक राष्ट्रपति चुरे(तराई मधेस संरक्षण विकास कार्यक्रमअन्तर्गत केही पर्खाल निर्माणका काम भएका छन् । तर ती निर्माणका काममा भने त्रुटि भेटिएको छ । माथिल्लो भागमा बनाएको ग्याबियन पर्खाल सही तरिकाले बनेको नदेखिएकाले अब अध्ययन गरेर मात्रै पूर्वाधार निर्माण तथा संरचना निर्माणको काम गर्नुपर्ने विज्ञ डा ढकालको भनाइ छ । “यसअगाडि भएका पर्खाल निर्माणका काममा पानीको बहाव मिलाउन छुटेको देखिन्छ । गत साल नै बग्न थालेको पहिरामा सही तरिकाले न्यूनीकरणका प्रयास गरेको भए मात्र पनि यसपालि त्यति खतरनाक अवस्था हुने थिएन”, उहाँले भन्नुभयो ।

पहिराको आकार, गहिराइ र ढुङ्गा माटोको बनावटका आधारमा नियन्त्रण गर्ने प्रक्रिया पनि फरक फरक हुन्छन् । पहिरो गइसकेको छ भने त्यसको इतिहास, विकास, विस्तार र प्रकारका आधारमा नियन्त्रणका उपायहरुमध्ये ठीक प्रविधि छान्नुपर्ने हुन्छ । सामान्यतया वनस्पतिको उपयोग गरी नियन्त्रण गर्न सकिने पहिरा, सामान्य वनस्पतिका साथमा स(साना इन्जिनीयरिङ संरचना निर्माण गरी नियन्त्रण गर्न सकिने पहिरा, महँगो प्रविधि र ठूला संरचना निर्माण गरी नियन्त्रण गरिने पहिरा, सामान्यतया नियन्त्रण गर्न नसकिने पहिरा गरी चार प्रकारमा विभाजन गर्न सकिने विज्ञको भनाइ छ । 

यस क्षेत्रमा सतही तथा भूमिगत पानीको व्यवस्थापन नै पहिलो प्राथमिकता हुनुपर्ने देखिन्छ । यसका अलावा यस क्षेत्रको विस्तृत जोखिम नक्साङ्कन गर्ने, पहिरा र सामाजिक प्रभावको असर हेरेर नियन्त्रणको योजना बनाउने, हाल के कति पानी परेका कारण पहिरो गएको हो भन्ने पत्ता लगाउन हाइड्रोलोजिकल र हाइड्रोजियोलोजिकल अध्ययन गर्नुपर्ने, श्रवन डाँडा धेरै पानी पर्ने क्षेत्र भएकाले यहाँ वर्षा मापन केन्द्र राख्नुपर्ने, पहिराको भू-भौतिक सर्वे गरेर पहिराको अवस्था पत्ता लगाउनुपर्ने, अध्ययनका आधारमा सामान्य, मध्यम र ठूला इन्जिनियरिङ संरचना निर्माण गरी पहिरा नियन्त्रण गर्न सकिने अवस्थाको आङ्कलन गरेर आवश्यक महँगो प्रविधि र ठूला संरचना प्रयोग गरेर दिगो पहिरा नियन्त्रण कार्यक्रम सुरु गर्नुपर्ने विज्ञको सुझाव छ ।

यस क्षेत्रमा बन्न लागेका विभिन्न पूर्वाधार पार्क, बुद्धको मूर्तिजस्ता ठूला संरचना निर्माण गर्नुअघि विस्तृत अध्ययन आवश्यक देखिएको छ भने बुटवल उपमहानगरपालिकाले ल्याएको चक्रपथ योजनाको प्राविधिक अध्ययन आवश्यक छ । लक्ष्मीनगरभन्दा माथि रहेको डाँडामा भएको पोखरीको पानी उचित विधिबाट व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यसको समयमा व्यवस्थापन भएन भने अर्को वर्ष थप क्षति हुनसक्ने अनुमान गरिएको छ ।

उपमहानगरपालिकाले जोखिम संवेदनशील भूउपयोग योजना निर्माण गरी कार्यान्वयन गर्न र पहिरो नियन्त्रणका उपायहरु कार्यान्वयन नगरुञ्जेलसम्म प्रभावित र जोखिम क्षेत्रमा थप आवास निर्माणका लागि स्वीकृति दिने काम तत्काल बन्द गर्नुपर्ने विज्ञको सुझाव छ । सरकारले एक पटक स्थानान्तरण गरिसकेको बस्ती पुनःबस्नु, जग्गा सट्टा दिएपछि साबिकका जग्गामा सरकारीकरण गरिनु तथा उक्त क्षेत्रमा बसोबासमा बन्देज लगाउनु उपयुक्त हुने थियो । यसो नगर्दा ज्योतिनगरमा २०५५ को पहिरा प्रभावितहरु तामनगरमा स्थानान्तरण गरिए पनि पुनः यहीँ आएर बस्ती बसाले । आगामी दिनमा यस्ता गल्तीहरु नदोहोरिनेतर्फ सजगता अपनाउनुपर्ने देखिन्छ । 

प्रारम्भिक अध्ययनपछि विज्ञहरुले दिएको सुझाबका आधारमा पहिरा नियन्त्रणका लागि राष्ट्रपति चुरे(तराई मधेस संरक्षण कार्यालय तथा स्थानीय तह र प्रदेश सरकारले योजना बनाउने छन् । पहिरा व्यवस्थापनका लागि मूलको पानी व्यवस्थापनको काम प्रदेश सरकारले गर्ने, थोरै लगानीमा हुनसक्ने काम बुटवल उपमहानगरपालिकाले गर्ने र ठूला संरचना निर्माणका लागि सरकारसँग थप बजेट माग गरेर काम अघि बढाइने राष्ट्रपति चुरे-तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका प्रमुख अजय कार्कीले जानकारी दिनुभयो । “पहिरा व्यवस्थापनका लागि एउटै निकायबाट सम्भव छैन, प्रदेशका मुख्यमन्त्रीसहित मातहतका कार्यालयसँग बैठक बसेर कसले के गर्ने भन्ने योजना बनाएका छौँ, सोही आधारमा काम हुन्छ”, उहाँले भन्नुभयो ।

पहिरा नियन्त्रण तथा व्यवस्थापनका लागि यो वर्ष रु दुई करोड बराबरको बजेट छुट्याइएकाले साना पूर्वाधार निर्माणका काम गरिने राष्ट्रपति चुरे-तराई मधेस संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ । “चुरे क्षेत्रको पहिरा भएकाले यससँग सम्बन्धित योजना बनाउँदा बिना अध्ययन सम्भव नभएकाले विज्ञको अध्ययन प्रतिवेदन पर्खिएका हौैँ, अब योजना बनाएर काम सरु गर्छौं,” बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भन्नुभयो । ज्योतिनगरको पहिरा व्यवस्थापनका लागि स्थानीय तहको स्रोतले मात्रै नभ्याउने भएकाले प्रदेश र सङ्घीय सरकारको समेत ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । रासस