४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

यस्ताे छ छठ पर्वको सामाजिक र प्राकृतिक महत्व

यस्ताे छ छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
छठ पर्व मनाउनका लागि झिलिमिली बत्तीसहितको झलरले सिङ्गारिएको वीरगञ्जस्थित घडीअर्वा पोखरी । छठ पर्वका लागि निर्माण गरिएको पण्डाल तथा पोखरीको सजावट हेर्न विदेशी पर्यटकको पनि घुइँचो लाग्ने गर्छ । तस्बिरः हिमाल लम्साल/रासस
अ+ अ-

काठमाडौँ : श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रुपमा मनाइने छठ पर्व मङ्लबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासकासाथ मनाइँदैछ ।

सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीहरुको महान चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

सूर्य उपसना गरिने यो पर्वमा परिवारको ज्येष्ठ महिला वा बुहारीको नेतृत्वमा चार दिन सम्म मनाइन्छ । छठ पर्वको आरम्भदेखि अन्त्यसम्म गीतको ध्वनि गुञ्जिरहन्छ । “पिठो पिंध्दा, परिकार बनाउँदा, पूजा सामग्री नदी, पोखरी वा जलासयसम्म लैजाँदा, पूजा चलिरहँदा र सूर्य देउतालाई अघ्र्य चढाउने बेलामा समेत गीत गाईन्छ ।” कात्तिक महिनाको चौथीदेखि व्रतालु भई यो पर्व मनाउन शुरु गरिन्छ र सप्तमीको विहान यो पर्वको समापन गरिन्छ ।

पहिलो दिन अर्थात चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । यो दिनमा व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतीले भोजनमा माछामासु, लसुन, प्याज र कोदो जस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । यो दिनलाई व्रतालुहरुले आँखा पनि भन्ने गरिन्छ ।

महाेत्तरीकाे जलेश्वर नगरपालिका-८ स्थित पाठक पाेखरीमा छठ पूजाको लागि सजाइएकाे सूर्य देवता र छठीमाताकाे मन्दिर । तस्बिर : सञ्जीतकुमार मण्डल / रासस

पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात पापको क्षय) भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुल्हो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादको रुपमा विशेषगरी पाकेको केरा र खिरलाई लिन्छ । त्यसपछि गाईको गोबरले लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खिर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।


छठ पर्व मनाउनका लागि झिलिमिली बत्तीसहितको झलरले सिङ्गारिएको वीरगञ्जस्थित घडीअर्वा पोखरी । छठ पर्वका लागि निर्माण गरिएको पण्डाल तथा पोखरीको सजावट हेर्न विदेशी पर्यटकको पनि घुइँचो लाग्ने गर्छ । तस्बिरः हिमाल लम्साल/रासस

षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । छठ पूजाका सामग्री तयार पर्दा विशेष चनाखो हुन्छन् । पूजाका सामग्रीलाई चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरुले श्रद्धापूर्वक यस्तो गीत गाउने गर्छिन् ः

केरवा ज फरल घउरस वोपर सुगा मडराय, 

मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।

छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुन्न । छठ मातालाई चढाउने केरा सुगाले नखाउन भनेर गीतवाटै सचेत गराउन खोजिएको छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मूला, गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् । यस अवसरमा व्रतालु महिलाले श्रद्धापूर्वक गाउने गर्छिन्–

हातबा मे फूलवा के डलिया, छठ पूजन जाय । 

छठी मैया होइब सहाय, छठ पूजन जाय ।। 

अर्थात् हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गइरहेका छौंँ, छठी माता हामी माथि बिशेष कृपा बनाइराख्नु होला)

यस पर्वमा चढाइने वस्तुहरु पनि प्रकृतिमै आधारित छन् । जस्तै उखु, बोट समेतको बेसार र त्यसबेला उपलब्ध अन्य कृषि—खाद्य सामग्री । यसले पनि प्रकृतिको सम्मान गर्नुपर्ने पाठ नै यस पर्वले सिकाउँछ । निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टङ्ग दण्डवत् गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसाद स्वरुप अर्घ दिनका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा ‘पिठार’ र सिन्दुरलगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।

    सर्लाहीको बरहथवास्थित सोती खोला किनारमा छठघाट निर्माण हुँदै । तस्बिर: सिंगबहादुर थापा/रासस

पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ ।  अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ । प्रातःकालीन अर्घमा दीप मालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति पनि हुन्छ ।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको बिराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि ‘छठ पर्व’ गर्ने परम्पराको शुरुआत भएको तथ्य उल्लेख छ ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् । वैज्ञानिक ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, विरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट केैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।


छठ पूजाका लागि सजाइएको महोत्तरीको बर्दिबास नगरपालिका-१४ स्थित कामेश्वरनाथ महादेव मन्दिर अगाडिको पोखरी छठ घाट । तस्बिर : गोपालप्रसाद बराल/रासस

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रसन्न भई व्रतीलाई कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभावमा भिक्षा मागेरै भए पनि मानिसहरू यो पर्व मनाउने गर्छन् ।


छठ पूजाका लागि सजाइएको महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर–२, अस्पतालस्थित पोखरीको घाट । तस्बिरः सञ्जीतकुमार मण्डल÷रासस

दसैं जस्तै छठ पर्व वर्षमा दुई पटक मनाइन्छ । कात्तिक र चैत महिनाको शुक्ल पक्षमा मनाइने यो पर्व पारिवारिक सुख, सम्वृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्तिका लागि गरिन्छ । तराईवासीहरुको महान चाड छठ पर्व पछिल्लो दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख भएको छ । सूर्य र प्रकृतिले जसरी कसैप्रति भेदभाव गर्दैन । त्यसरी नै छठ पर्वले पनि कसैलाई भेदभाव गर्दैन । सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वप्रतिको आस्थामा कसैमा विभेदको अनुभूति हुँदैन ।

रासस

काठमाडौँको पशुपति क्षेत्रस्थित गुह्येश्वरीबाट गौरीघाटसम्मको बागमती किनारमा छठ घाट निर्माण हुँदै । बागमती किनारलाई सजाएर छठ घाट निर्माण भइरहेको छ । तस्बिरः नवीन पौडेल/रासस