१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात वर्ष बित्दासमेत सम्पन्न भएन नगरकोट सडक



अ+ अ-

काठमाडौँ । निर्माण सुरु भएको सातवर्ष वितिसक्दा पनि काठमाडौँको पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र छ । उकालो सडकमा जतासुकै छरिएको निर्माण सामग्रीले गर्दा एकातिर पर्यटक र स्थानीयवासी सबैलाई आवतजावत गर्न समस्या भइरहेको छ ।  

भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक आर्थिक वर्ष २०७०-७१ मा सुरु भएकामा अझै सम्पन्न हुन नकसकेको हो । सडक धुलाम्मे हुँदा आवतजावत गर्न समस्या भएको कमलविनायक–नगरकोट सडक निर्माण दबाब समितिका संयोजक राजकुमार लामिछानेले बताउनुभयो । उहाँका अनुसार निर्माण कम्पनीले समय–समयमा निर्माण सामग्री छरेजस्तो गरेपनि काम सकाउन खोजेको छैन । 

मन्त्रालय वा विभागको भ्रमणमा निर्माण सामग्री र जनशक्ति बढाइने गरिए पनि अरु समयमा निर्माणको गति सुस्त छ । उहाँले भन्नुभयो, “बेलाबेलामा अलिअलि गरेजस्तो गरेर जनताको आँखामा छारो हाल्ने बाहेक अरु केही भएको छैन ।” भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आइतबार नगरकोट सडकको स्थलगत अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले यो सडक दुई महिनाभित्रमा सम्पन्न गर्न सम्बन्धीत पक्षलाई निर्देशन दिनुभयो । अझै पनि ढिलाइ भएमा अवधि थप नहुने उहाँको भनाइ थियो । 

एकदुई महिनाभित्र निर्माण सम्पन्न गर्नका लागि आवश्यक जनशक्ति, उपकरण र निर्माणसामग्री पर्याप्त हुनुपर्ने भक्तपुर–नगरकोट सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार चिसो सुरु भइसकेकाले मौसम अनुकूल हुँदा र निर्माण कम्पनीले व्यवस्थापन राम्रो गर्दा मात्रै काम गर्न सकिन्छ । उहाँले भन्नुभयो, “अब एक दुई महिनामा सक्न अहिले देखिएको व्यवस्थापनले मात्रै पुग्दैन्, त्यसमा थप्नुपर्छ ।” 

योजनाले केही दिन पहिले मात्रै निर्माण कम्पनीसँग कार्ययोजना माग गरेको थियो । निर्माण कम्पनीले एक महिनामा सम्पन्न गर्ने गरी कार्ययोजना मन्त्रालय, विभाग र योजनालाई दिएको छ । सडक निर्माण लामो समयसम्म नसकिएको र जनगुनासो आइरहेकै कारण आफू एकडेढ महिनादेखि नियमित रूपमा निर्माणस्थलमा आइरहेको प्रमुख श्रेष्ठले बताउनुभयो । निर्माणमा देखिएका समस्याका विषयमा समेत योजनाले निर्माण कम्पनीलाई घच्घचाइरहेको छ । उहाँले भन्नुभयो, “केही उपकरण थपेको पनि छ, कम्पनीले निर्माण सामग्री नियमित आउँछ र काम गर्छु भनेको छ ।” 

नगरकोटका माथिल्लो भागमा जाडो समयमा काम गर्न सकिँदैन । तेलकोट–नगरकोटखण्डमा तल्लो भागभन्दा तापक्रम कम हुने भएकाले आगामी महिनामा काम गर्न नसकिने हुनसक्ने प्रमुख श्रेष्ठले बताउनुभयो । तापक्रम कम हुँदा कालोपत्र गर्दा गुणस्तर कम हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तापक्रम पुग्यो भने मात्रै यो महिनामा काम गर्न सकिन्छ ।” आफूले नियमित रूपमा निर्माणस्थलमा आएर गुणस्तरमा समस्या देखिएमा यहाँ छ भनेर देखाएर काम रोक्न भनेको प्रमुख श्रेष्ठले बताउनुभयो । निर्माण सामग्री यहाँ झारेपछि आफूले हुँदैन भन्दा लगानी खेर जाने भएकाले उत्पादन हुने ठाउँमा पुगेर नै हेर्छु उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ ल्याएर गुणस्तर नभएपछि समय खेर जाने र जनशक्ति पनि त्यसै बस्नुपर्छ ।” 

अहिलेसम्म निर्माणमा ढिलाइ हुनुको सबैभन्दा प्रमुख कारण निर्माण कम्पनीको ढिलासुस्ती नै हो । अहिले सबैतिर निर्माणस्थल खाली भएकाले अरु समस्या नभएको प्रमुख श्रेष्ठको भनाइ छ । योजनाले कतै निर्माणस्थलका कारणले समस्या आएमा तत्काल समाधान गरिने निर्माण कम्पनीलाई भन्दै आएको छ । उहाँले भन्नुभयो, “विगतमा जङ्गलको रुख काट्नेलगायत समस्या थियो अहिले सामाधान भइरहेको छ ।” जिल्ला प्रशासन कार्यालय, भक्तपुर र चाँगुनारायण नगरपालिकाले पनि निर्माणमा आवश्यक सहयोग गरेको छ । निर्माण कम्पनीलाई कार्यालयका कारणले ढिला नहुने भनी विश्वास दिलाइएको उहाँले बताउनुभयो । कम्पनीले काम गर्दा गुणस्तरमा समस्या देखिएमा रोक्न भनिए पनि योजनाबाट इञ्जिनीयर, सव–इञ्जिनीयर नआएर काम नरोकिने उहाँले बताउनुभयो । 

कमलविनायकको भत्केको पाटीबाट नगरकोटसम्म १५ दशमलव सात किमी छ । माथिल्लो भागमा झण्डै चार किमी सडक कालोपत्र गर्न पूरै बाँकी छ । नौ किमीमा एक तहको कालोपत्र सकिएर अर्का तहको कालोपत्र गर्न बाँकी छ । दुई दशमलव ७५ किमी सडकमा दुई तहको कालोपत्र गर्नुपर्नेमा एक तह सकिएर अर्को तह गर्न बाँकी छ । एक तह कालोपत्र भइसकेर पनि पटकपटक समस्या आइरहेकाले त्यहाँ मर्मत भइरहेको छ । सडकको चौडाइ दुई लेन अर्थात सात मिटर हुने गरी कालोपत्र भइरहेको छ । सडकको छेउछेउमा पानी जानका लागि ड्रेन बनाइएको छ । सडकमा पैदलयात्रुमार्ग भने निर्माण भएको छैन । रासस