१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधिको ओभरडोजबाट अमेरिकामा एकै वर्ष एक लाखको ज्यान गयो



अ+ अ-

वासिङटनः संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरस महामारीकै अवधिमा एक लाख भन्दा बढी व्यक्तिको बढी औषधि सेवन (ओभरडोज) का कारण ज्यान गएको छ । अधिकारीहरुका अनुसार, फेन्टानाइल नामको औषधि र नक्कली अनलाइन चक्की (पिल्स) खाएर मानिसको मृत्यु भएको हो ।

विज्ञहरुको भनाईमा अमेरिकामा प्रतिबन्धित फेन्टानाइल समूहका औषधिको सेवन बढेको छ भने मेक्सिकोबाट निकै घातक नक्कली औषधि अमेरिकामा भित्रिएको छ । यी औषधि अनलाइनबाट बिक्री बढेको र त्यसले मानिसको जीवनलाई नै जोखिममा पारिरहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जारी गर्नु भएको एक वक्तव्यमा कोभिड–१९ महामारीमा संघर्ष गरिरहेकै अवस्थामा ओभरडोज विरुद्धको संघर्ष पनि उत्तिकै चुनौतीपूर्ण रहेको बताउनु भएको छ ।

संयुक्तराज्य अमेरिकामा अप्रिल २०२० देखि अप्रिल २०२१ को एक वर्षको अवधिमा एक लाख ३०६ जनाको बढी औषधि सेवन (ओभरडोज) का कारण मृत्यु भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २८.५ प्रतिशतले बढी हो अर्थात् हरेक पाँच मिनेटमा एक व्यक्तिको ओभरडोजका कारण ज्यान जाने गरेको छ ।

समग्रमा, मृत्यु भएका कूल संख्या एक लाख ३०६ जना मध्ये लागूऔषध (ओपिओड्स)को सेवनबाट ७५ हजार ६७३ जनाको मृत्यु भएको छ र यसमध्ये पनि अधिकांशको सिन्थेटिक ओपिओड्सबाट भएको छ । यस समूहमा त्यही फेन्टानाइल पर्दछ । प्रायः यी लागूपदार्थ शरीरमा दुखाई कम गर्न प्रयोग गरिन्छ ।

अमेरिकी स्वास्थ्य मन्त्री जाभियर बेसिराले यो संकट निकै संवेदनशील क्षणमा पुगिसकेकाले सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिनु भएको छ ।

कोभिड–१९ को समयमा बढी समय काम गर्नुपर्ने तथा घरमै बिनाकाम समय कटाउने दुबै किसिमका व्यक्तिले दुखाई कम गर्न र मन भुलाउन यस्ता लागूपदार्थको सेवन गर्ने गरेको पनि मन्त्री जाभियरको भनाई छ । परिवारका सदस्यहरु गुमाएका छोरा छोरीले सार्वजनिक रुपमै यस्ता घातक औषधि सेवन गरेको बताएका पनि मन्त्री जाभियरले बताउनुभयो ।

अमेरिकामा कोभिड–१९ बाट पाँच लाख व्यक्तिको ज्यान गएको छ ।

अमेरिकी औषधि नियामक निकायले वास्तविक औषधि झैं लाग्ने तर लागूपदार्थ मिसाइएका औषधिहरु अनलाइनबाट बिक्री भइरहेको भन्दै त्यसतर्फ सचेत रहन नागरिकहरुलाई आग्रह गरेको छ ।

यसै वर्ष मात्र एक करोड ४० लाख चक्की नक्कली औषधि बरामद गरिएको छ । यी औषधि चीनबाट आपूर्ति गरिएका रसायनको मद्दतबाट मेक्सिकोमा उत्पादन गरिएका छन् ।
यी नक्कली चक्कीहरु सामाजिक सञ्जाल र ई–कमर्स साइटमा छ्यापछ्याप्ती उपलब्ध रहेका छन् ।

सन् २०१९ मा अमेरिकामा मुटुसम्बन्धी रोगबाट सबैभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । प्राप्त विवरण अनुसार, मुटु रोगबाट ६ लाख ६० हजार, क्यान्सरबाट ६ लाख तथा चोटपटकबाट १ लाख ७५ हजारको मृत्यु भएको थियो । एपी