पश्चिम युरोपमा कोरोनाभाइरस संक्रमण फेरि बढ्न थालेको छ । यही कारण अस्ट्रियामा पूर्ण लकडाउन घोषणा गरिएको छ ।
युरोपकै अर्को मुलुक जर्मनीमा पनि लकडाउन लगाउने बारेमा विचार विमर्श शुरु भएको छ । केही महिना अघिमात्र लकडाउन हटाएका यी मुलुकको अर्थतन्त्रमा लकडाउनले व्यापक असर पार्ने भन्दै विरोध पनि हुन थालेको छ ।
चौथो चरणको संक्रमण फैलिएसँगै युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा राष्ट्रिय आपतकालीन स्थितिमा प्रवेश गरिसकेको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताउनु भएको छ । स्वास्थ्य मन्त्री स्पानले खोपले मात्र संक्रमितको संख्या घटाउन नसक्ने चेतावनी दिनु भएको छ ।
अस्ट्रियाले लकडाउनका अलावा आगामी फेब्रुअरी १ भित्र सबै नागरिकलाई खोप दिइसक्ने बताएको छ । तर संसदको तेस्रो ठूलो अति दक्षिणपन्थी दल फ्रिडम पार्टीले व्यक्तिगत स्वतन्त्रताको कुरा उठाउँदै खोप अनिवार्य नगर्न सरकारलाई भनेको छ ।
पार्टी नेता हर्बर्ट किकेलले फेसबुकमा लेख्नु भएको छः आज अस्ट्रियामा तानाशाही छ ।
यस दलले शनिबार सरकारको लकडाउनको विरोधमा विरोध प्रदर्शन गर्ने बताएको छ तर किकेल आफैं भने कोभिड संक्रमित भएकाले यस कार्यक्रममा सहभागी नहुने जनाउनु भएको छ ।
अस्ट्रियामा खोपका लागि योग्य दुई तिहाईले खोप लगाइसकेका छन् । तर पश्चिम युरोपमा यो सबैभन्दा न्यून दर हो । युरोपेली मुलुकमध्ये अस्ट्रियामा सबैभन्दा बढी संक्रमण देखिएको छ । पछिल्लो एक सातामा प्रति एक लाख व्यक्तिमा ९९१ जना संक्रमित भएका छन् ।