लेस्टरः इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लेस्टर सिटीलाई चेल्सीले ३-० गोल अन्तरले पराजित गरेको छ ।
लेस्टरको गृह मैदान किङ पावर स्टेडियममा भएको खेलमा शुरु देखि नै चेल्सीले लेस्टरमाथि दबाब बनाएको थियो ।
यो सिजन निकै फर्ममा रहेको चेल्सीका लागि एन्टोनियो रुडीगर र एन्गोलो कान्टेले पहिलो हाफमा सुन्दर दुई गोल गरेर टिमलाई २–० को अग्रता बनाएका थिए । रुडीगरले १४औं मिनेटमा हेड मार्फत गरेका थिए भने कान्टेले २८औं मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बल सुन्दर रुपमा गोलमा परिणत भएको थियो ।
तेस्रो गोल ७१ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गरेका थिए । चेल्सीले प्रहार गरेका अरु दुई गोल अफसाइड घोषणा गरिएका थिए ।
लेस्टरका तर्फबाट केही राम्रा प्रहार भए पनि चेल्सीका गोलकिपरले सुन्दर बचाउ गरेका थिए ।
यो जितसँगै यस सिजनको लिगमा चेल्सी पहिलो स्थानमा कायमै छ । पछिल्लो अंक तालिकामा चेल्सीले १२ खेलबाट २९ अंक बनाएको छ भने एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ११ खेलबाट २३ अंक छ ।
आजै राति म्यान्चेस्टर युनाइटेड र वाटफोर्डबीच खेल हुँदैछ ।